उपत्यका भित्रका दुई मेयरका यी हुन् फरक शैली

काठमाडौं, २४ साउन – केही दिनमै काठमाडौं उपत्यकाभित्रका दुई महानगरका मेयरहरूको जीवनशैलीमा दुई फरक दृश्य देखिनेछन् । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य झण्डै डेढ करोड रुपैयाँको महंगो गाडीमा हुइँकिनेछन् । छिमेकी महानगरपालिका ललितपुरका मेयर चिरिबाबु महर्जन चाहिँ २० वर्ष पुरानो टोयोटाको थोत्रो गाडीमा कुद्नेछन् ।

देशभरका पाँच महानगरमध्ये काठमाडौंमा मात्रै नयाँ गाडी किनिएको हो । भरतपुर, पोखरा र विराटनगरका मेयर तथा उपमेयरले पुरानै गाडी चढिरहेका छन् । हालसम्म उनीहरूले नयाँ गाडी किन्ने निर्णय गराएका छैनन् ।

काठमाडौंका मेयरलाई टोयोटाको फर्च्युनर

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य अबको एक महिनाभित्रमा डेढ करोडको गाडी चढ्दैछन् । उनका लागि किनिएको गाडी काठमाडौंमा आइपुगेको छ । उनले टोयोटाको फर्च्युनर गाडी चढ्न लागेका हुन् ।
काठमाडौं उपत्यकाभित्रकै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन चाहिँ २० वर्ष पुरानो थोत्रो गाडीमा कुदिरहेका छन् । उता शाक्य चाहिँ अहिले चढिरहेको ८५ लाखको गाडी फेरेर डेढ करोडको गाडी चढ्दैछन् ।

काठमाडौं महानगरपालिका स्रोतका अनुसार शाक्यसँगै उपमेयरले पनि असी लाखभन्दा बढी पर्ने गाडी चढ्न ठिक्क परेकी छन् । उनका लागि भनेर खरिद गरिएको गाडी पनि काठमाडौं आउने प्रक्रियामा छ ।

‘मेयर साप र उपमेयर म्यामले चढिरहेका गाडी नयाँ नै हुन्,’ काठमाडौं महानगर स्रोतले लोकान्तरसँग भन्यो, ‘तर उहाँहरूका लागि नै भनेर भर्खरै नयाँ गाडी किनिएको छ ।’

मेयरका लागि किनिएको गाडीलाई महानगरले १ करोड २० लाख रुपैयाँ बढी खर्चिएको छ ।

उक्त गाडी राजस्व छुटमा ल्याइएको हो । राजस्व तिरेर किन्दा यो गाडीलाई डेढ करोडभन्दा पनि बढी पैसा पर्ने महानगर स्रोतको दाबी छ । काठमाडौंकी उपमेयर हरिप्रभा खड्गीका लागि पनि ८० लाख रुपैयाँ भन्दा बढी पैसा पर्ने गाडी किनिएको छ ।

खड्गी अहिले एक वर्षपहिले किनिएको झण्डै ४० लाख रुपैयाँ मूल्यको गाडी चढिरहेकी छन् । महानगरका मेयर/ उपमेयरका लागि नयाँ गाडी किनिएको भएपनि गाडी किन्ने निर्णय चाहिँ उनीहरू निर्वाचित नहुँदै भएको महानगरका अधिकारीहरूको दाबी छ । निर्वाचन नहुँदै महानगरले मेयर र उपमेयरका लागि गाडी किन्ने निर्णय प्रक्रिया अघि बढाएको अधिकारीहरूले बताए ।

‘तर काठमाडौंका निर्वाचित मेयर र उपमेयर मितव्ययी र भड्किलो स्वभावको हुनुहुँदैनथ्यो भने गाडी किन्ने प्रक्रिया रोक्न लगाएर पुरानैमा चढ्ने निर्णय गर्न सक्नुहुन्थ्यो,’ स्रोत भन्छ, ‘उहाँहरू त नयाँ गाडी किन्ने प्रक्रियालाई छिटो टुंग्याएर विलासी गाडीमा चढ्न हतार गरेजस्तो पो देखिनुभयो ।’

काठमाडौंका मेयरले अहिले केदारबहादुर अधिकारी (हाल नेपाल सरकारका सचिव) कार्यकारी अधिकृत भएको बेलामा किनिएको विलासी गाडी नै चढिरहेका छन् । उपमेयरले चाहिँ एक वर्षअघि मात्रै किनिएको गाडी चढिरहेकी छन् ।

थोत्रो गाडीमा रमाउँदै चिरिबाबु

राजनीतिक आस्थाको आधारमा विश्लेषण गर्ने हो भने ललितपुरका मेयर महंगो गाडीमा कुद्नुपर्ने हो । तर पूँजीवादी ‘स्कूलिङ’ बाट आएका ललितपुरका मेयर महर्जन २० वर्ष पुरानो थोत्रो गाडीमै रमाएका छन् ।

महर्जनले २० वर्ष पुरानो ३०/३५ लाख रुपैयाँ मूल्यको गाडी चढिरहेको ललितपुर महानगरपालिकाले जनाएको छ । ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले ललितपुरका मेयर टोयोटाको पुरानो गाडीमा चढिरहेको लोकान्तरलाई जानकारी दिए ।

‘अहिले त यो गाडी उत्पादन समेत हुँदैन,’ प्रवक्ता महर्जनले थपे, ‘अहिलेसम्म ललितपुरमा नयाँ गाडी किन्ने निर्णय भएको छैन ।’ ललितपुरकी उपमेयर पनि पुरानै गाडी चढिरहेकी छन् । ललितपुरकी उपमेयर सस्तोखाले स्कर्पियो चढिरहेको उनले बताए ।

ललितपुरका मेयर चिरिबाबु महर्जनले अहिले काम चलिरहेकोले नयाँ गाडी किन्ने सोच नबनाएको प्रतिक्रिया दिए । ‘काम चलिरहेको छ, नयाँ गाडी चाहिँदैन,’ उनले भने, ‘म मान्छे पनि पुरानो हुँ, गाडी पनि पुरानैले चलेको छ ।’ अहिले पुरानै गाडीलाई मर्मत गरेर आफूले चढिरहेको उनले बताए ।

‘अस्ति यो गाडीले बीच बाटोमै धोका पनि दियो,’ चिरिबाबुले थपे, ‘यो गाडी बिग्रिएको बेलामा महानगरकै अर्को गाडीमा हिँड्ने गरेको छु ।’ उनले आफू अहिले अन्य विषयमा केन्द्रित रहेकाले गाडीका विषयमा नसोचेको समेत बताए ।

अरू तीन महानगरमा पनि पुरानै गाडी

काठमाडौं र ललितपुरबाहेक देशमा थप तीन महानगर छन् । उपत्यकाबाहेकका महानगर पोखरा, भरतपुर र विराटनगरमा मेयर र उपमेयरका लागि पुरानै गाडी गुडिरहेका छन् ।

भरतपुरको मेयरमा निर्वाचित भएकी रेणु दाहालले प्राडो चढ्दैछिन् । उनलाई महानगरले केही वर्षपहिले किनेको महंगो गाडी उपलब्ध गराएको छ ।

विराटनगरका मेयर भीम पराजुलीले पनि केही वर्षपहिले किनिएको पुरानो गाडी पाएका छन् । उनलाई महानगरले एक करोडभन्दा बढी मूल्य पर्ने गाडी उपलब्ध गराएको छ ।

पोखराका मेयर मानबहादुर जिसीले पनि पुरानै गाडी चढिरहेका छन् । उनले पनि केही वर्षपहिले किनिएको ल्यान्डक्रुजर गाडी चढिरहेका छन् । हामीले यो समाचार लोकान्तर डटकम मा विशाल भट्टराईले लेखेका समाचार साभार गरेका हौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *