काठमाडौ १८ भदौ- उत्तर कोरियाले जनाए अनुसार, उसले लामो दुरीको क्षेप्यास्त्रमा जडान गर्न मिल्ने परमाणु अस्त्रको सफल परीक्षण गरेको छ। भूगर्भविदहरुले भूकम्प मापन गरेको केही घण्टापश्चात उसले आफ्नो छैठौं परमाणु अस्त्र परीक्षण ‘पूर्णरुपमा सफल’ भएको बताएको छ।
प्योङ्गयाङ्गले भनेको छ उसले यसपाली अणु बम भन्दा कैयौं गुणा शक्तिशाली हाइड्रोजन बम परीक्षण गरेको छ।
हाइड्रोजन बम बनाएको उत्तर कोरियाको दावी
विश्लेषकहरुले उसको भनाइलाई सतर्कतापूर्वक लिनुपर्ने भनेका छन्। तर पछिल्ला समयमा उत्तर कोरियाको परमाणु क्षमता बढ्दै गएको प्रस्टैसंग देखिन्छ।
क्षेप्यास्त्रमा जडान
यसभन्दा अगाडि उत्तर कोरियाले सन् २०१६ को सेप्टेम्बरमा परमाणु परीक्षण गरेको थियो। संयुक्त राष्ट्रसंघको आर्थिक प्रतिबन्ध तथा अन्तर्राष्ट्रिय दबाब हुँदाहुँदै पनि उसले परमाणु अस्त्र तथा अमेरिकी मूल भूमिसम्म प्रहार गर्न सक्ने क्षेप्यास्त्रको परीक्षण गर्दै आएको छ।
दक्षिण कोरियाली अधिकारीहरुका अनुसार पछिल्लो परीक्षण उत्तर कोरियाको पुंग्ये रि परमाणु परीक्षण स्थल रहेको किल्जु काउन्टीमा गरिएको छ।
सो परीक्षणका कारण उत्पन्न भएको कृत्रिम भूकम्पको शक्ति उसले यसअघि पाँचौं परीक्षण ताका गरेको बेलाको भन्दा ९.८ गुणा बढी रहेको बताइएको छ।
प्योङ्गयाङ्गले लामो दुरीको क्षेप्यास्त्रमा जडान गर्न सकिने सानो आकारको हाइड्रोजन बम बनाएको बताएको केही घण्टापश्चात सो परीक्षण भएको समाचार बिबिसीले लेखेको छ।