उच्चस्तरीय आयोग गठनबारे प्रधानमन्त्री दाहाल र ओलीबीच भेटवार्ता सकारात्मक

१४ असोज, काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन गर्ने विषयमा आज वार्ता भएको छ ।

बैठक रचनात्मक भएको बताइएको छ । प्रधानमन्त्रीले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने भएकाले अधिवेशन प्रारम्भ हुनुअघि आयोग गठनको घोषणा हुने सम्भावना रहेको छ । स्मरण रहोस्, आन्तरिक राजस्व विभागले असार १९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश भित्र तस्करी भएको करिब ६१ किलो सुन बरामद गरेको थियो ।

एमाले सचेतक महेश बर्तौलाका अनुसार बालुवाटार बैठक सकारात्मक भएको र आयोगको एजेण्डा र क्षेत्राधिकारका विषयमा सहमतिको नजिक पुगेको बताए । यसअघि सत्तारुढ र प्रतिपक्षी दल आयोग गठन गर्न सहमत भए पनि त्यसको कार्यसूची र कार्यक्षेत्रमा सहमति हुन बाँकी थियो । एमालेले छानबिन समिति नबने प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने चेतावनी दिएपछि सरकारले छलफललाई तीव्रता दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *