इन्डोनेसियाका वृद्ध सपरमान सोदीमेजोले आफ्नो १४६ औं जन्मदिन मनाए

पौष १९ काठमाडौं, इन्डोनेसियाका बयोवृद्ध सपरमान सोदीमेजोले शनिबार आफ्नो १४६ औं जन्मदिन मनाए । उनलाई इतिहासकै सबैभन्दा वृद्ध मानिस दावी गरिएको छ ।

सोदीमेजोसँग इन्डोनेसियन परिचयपत्र छ जसमा उनको जन्ममिति उल्लेख गरिएको छ, ३१ डिसेम्बर १८७० ।oldest man उनले आफ्ना जिवित आफन्तहरुका माझ इन्डोनेसियाको सेन्ट्रल जाभास्थित सेरागयन डिस्ट्रीक्टमा जन्मदिन मनाएका हुन् । जन्मदिनको पार्टीमा सोदीमेजोका नाति सुयोन्तो र उनकी पत्नी सुवर्नी तथा उनीहरुका सन्तान एरिका कुर्नियावती र एनिसा कुर्नियावती लगायत आफन्तहरु उपस्थित थिए । उनका १० जना दाजुभाई दिदीबहिनीहरु सबैको मृत्यू भइसकेको छ भने चार जना श्रीमतीहरुले पनि संसार छोडिसकेका छन् । उनका छोराछोरीहरु कोही पनि ज्यूँदा छैनन् । अहिले उनलाई नाति तथा पनातिका परिवारले पालिरहेका छन् ।

अपत्यारिलो उमेरका बाबजुद यी वृद्ध व्यक्ति अझै पनि आफैं हिँडडुल गर्न सक्छन् । ‘उहाँ जे पनि खानुहुन्छ र अहिलेसम्म बिरामी भएर सुत्नुभएको पनि छैन,’ परिवारका एक सदस्य भन्छन् ।

उनको परिचयपत्रलाई आधार मान्ने हो भने विश्वमा अहिलेसम्मकै सबैभन्दा वृद्ध दावी गरिएकी फ्रेन्च महिला जेयन्ने काल्मेन्ट, जसको १२२ वर्षको उमेरमा निधन भएको थियो, भन्दा उनी निकै अगाडि बढिसकेका छन् । नाति सुर्यन्तोका अनुसार १२२ वर्षको उमेर पार गरेपछि सोदीमेजो आफ्नो मृत्यूको लागि तयारी गरेर बसेका छन्, तर मृत्यूले उनलाई अहिलेसम्म चियाएको छैन । सुर्यन्तोले भने, ‘उहाँले २४ वर्षअगाडि नै आफ्नो लागि ग्रेभस्टोन (चिहानको स्तम्भ) बनाएर राख्नुभएको छ । हामीले उहाँको लागि चिहानस्थल पनि तयार पारिसकेका छौं जुन उहाँका छोराछोरीको नजिकै हुनेछ ।

इन्डोनेसियाली अभिलेख कार्यालयका कर्मचारीले परिचयपत्रका आधारमा उनको उमेर १४६ वर्ष भएको बताएका छन् तर यसको स्वतन्त्र पुष्टी हुन बाँकी छ । उनी इतिहासकै सबैभन्दा वृद्ध मानिस भएको प्रमाणित गर्न उनका कागजातहरुको स्वतन्त्र परिक्षण गर्नुपर्ने हुन्छ । त्यसो त उनीभन्दा अगाडि नाइजेरियाका जेम्स ओलोफिन्टुइ १७१ वर्षको र इथियोपियाका धाकाबो एब्बा १६३ वर्षको भएको दावी गरिएको छ । तर उनीहरु दुवैको उमेर प्रमाणित गर्ने कागजात उपलब्ध छैनन् ।

नाति सुर्यन्तोका अनुसार आजकालका दिनहरुमा सोदीमोजो रेडियो सुनेर दिन बिताउँछन् । आँखा कमजोर भएकाले उनी टिभी हेर्न सक्दैनन् । पछिल्लो ६ महिनादेखि उनलाई अरुले खाना खुवाइदिने र नुहाइदिने गर्नुपर्छ । डेलीमेलबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *