आदिवासी जनजाति महासंघले ५ बुँदे माग राखेर चरणबद्ध आन्दोलन सुरु गर्‍यो

फागुन १९ काठमाडौ,नेपाल आदिवासी जनजाति महासंघले ५ बुँदे माग राखेर चरणबद्ध आन्दोलन सुरु गरेको छ । महासंघले बुधबार विहान बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई महासंघका अध्यक्ष जगत बराम नेतृत्वको टोलीले भेटेर ध्यानाकर्षण पत्र बुझाउँदै आन्दोलन सुरु गरेको हो । जसमा दुई दर्जनभन्दा बढी विभिन्न जातीय संघ संस्थाका प्रतिनिधिहरु सहभागी थिए । आन्दोलन अनुरुप महासंघले विहीबारनै राजधानीमा मोटरसाइकल र्‍यालीकासाथ नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको पार्टी कार्यालय पुगेर माग पत्र बुझाउदैछ ।

महासंघले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान खारेजी प्रक्रिया रोक्नुपर्ने, आदिवासी जनजाति मन्त्रालय स्थापना गर्नुपर्ने, आदिवासी जनजातिहरुको पहिचान र अधिकार सुनिश्चित हुने गरी संविधान संशोधन गर्नुपर्ने, आदिवासी जनजातिहरुको ऐतिहासिक थातथलोका आधारमा स्वायत्त र संरक्षित क्षेत्रहरु निर्धारण गर्नुपर्ने, आदिवासी जनजातिको सघन बस्ती नटुक्रिने गरी गाउँपालिका र नगरपालिकाको सीमांकन तथा सांस्कृतिक, भाषिक पहिचानका आधारमा नामांकन गरिनुपर्ने लगायत माग राखेको छ ।

महासंघले सो प्रतिवेदनको आधारमा गरिने स्थानीय तहको निर्वाचन स्वीकार गर्न नसकिने प्रष्ट पारेको छ ।‘अपुरो, अवैज्ञानिक, विभेदकारी र गलत तरिकाले बनाइएको स्थानीय तहको प्रतिवेदनकै आधारमा घोषणा गरिएको स्थानीय निर्वाचन नेपाल आदिवासी जनजाति महासंघलाई कदापि स्वीकार्य हुन सक्दैन,’ प्रधानमन्त्री दाहाललाई बुझाइएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
महासंघले विगतमा भएका जनजाति आन्दोलन र सरकारसँग गरिएका सहमति र सम्झौताहरु कार्यान्वयन हुन नसकेको भन्दै तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ । शान्तिपूर्ण आन्दोलनबाट आप्mना माग सम्बोधन नभए सशक्त आन्दोलन गर्ने महासंघको चेतावनी छ । ‘अब पनि हाम्रा माग सम्बोधन नगरिए सशक्त आन्दोलनमा जाने र जसबाट उत्पन्न हुन सक्ने जुनसुकै घटनाको जिम्मेवार नेपाल सरकार हुने कुराको ध्यानाकर्षण गराउछौ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।

यसैबीच महासंघको ध्यानाकर्षण पत्र ग्रहण गर्दै प्रधानमन्त्री दाहालले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको खारेजी प्रक्रिया तत्काल रोकिदिने प्रतिवद्धता जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *