आईसीसी महिला टी–२० विश्वकप एसिया छनोट : नेपाल थाइल्याण्डसँग पराजित

२२ भदौ, काठमाडौँ : आईसीसी महिला ट्वान्टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आज भएको पहिलो सेमिफाइनल खेलमा थाइल्याण्डले नेपाललाई पराजित गरेको छ ।

मलेसियामा शुक्रबार भएको खेलमा थाइल्याण्डले नेपाललाई ४६ रनले पराजित गरेको हो । थाइल्याण्डले जितका लागि १०६ रनको लक्ष्य दिएको नेपालले १९ दशमलव ३ ओभरमा अलआउट हुँदा ५९ रन मात्रै बनाउन सकेको थियो । नेपालका लागि कविता कुँवरले ११ रन बनाइन् भने अप्सरी बेगम र कविता जोशीले १०–१० रन जोडिन् । अन्य नेपाली ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

थाइल्याण्डका लागि निचा कामचोम्फु र थिपाचा पुथावाङले समान ३–३ विकेट लिए भने नट्टाया बुचाथमले २ तथा फन्निता माया र सुनिदा चतुरोन्गत्तनाले एक–एक विकेट लिए । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थाइल्याण्डले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर १०५ रन बनाएको थियो ।

थाइल्याण्डका लागि नान्नापट कोन्चारोएनकाईले ६३ बलमा चार चौकासहित सर्वाधिक ५९ रन बनाए भने नत्थाकन चन्थमले ३१ र चानिदा सुथिरुआङले अपराजित ११ रन बनाए । नेपालका लागि कविता कुँवर र पुजा महतोले एक–एक विकेट लिए । योसँगै थाइल्याण्ड प्रतियोगिताको फाइनलमा पुगेको छ र नेपालको विश्वकप ग्लोबल छनोटमा पुग्ने सपना चकनाचुर भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *