ब्यानर विवादलाई केटाकेटीपनको संज्ञा दिए प्रधानमन्त्री केपी शर्मा ओलीले

वैशाख १३ काठमाडौं । लेनिन जयन्तीको अवसरमा एमाले र माओवादीले गरेको संयुक्त कार्यक्रम ब्यानर विवादको पाँच दिनपछि एमालेको एउटा कार्यक्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ब्यानर विवादबारे कडा टिप्पणी गरेका छन् । उनले ब्यानर विवादलाई केटाकेटीपनको संज्ञा दिएका छन् ।

‘अब अस्ती नौ गते पार्टी स्थापना दिवसमा पनि देख्यौं हामीले । केही केटाकेटीहरुलाई पुष्पलालको फोटो नहटाइकन भएन’ मनमोहन अधिकारीको स्मृति दिवसमा आयोजित कार्यक्रममा ओलीले भने ‘किनभने त्यो हाम्रो मान्छे होइन हाम्रो मान्छे नभएको हुनाले यो अर्को पार्टीको देखियो भनेर पीर ।’

यस्ता विषयमा झञ्झट मान्न नहुने भन्दै ओलीले सम्झाई बुझाई गर्नुपर्ने बताए । ‘मनमोहन अधिकारीलाई आफ्नो मान्छे नदेख्ने पनि हुन्छन् भने के लाग्छ । अलि पछि बुझ्छन् । हामीले अलि बुझाउन सक्या रहेनछौं । बुझ्छन्, बुझ्नको अर्को बाटै छैन ।’

नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदन भण्डारीलाई बिर्सेमा कम्युनिष्ट आन्दोलन नै समाप्त हुने ओलीले बताए । ‘पुष्पलाल, मनमोहन, मदन भण्डारी फ्याँक्छौं भने कम्युनिस्ट आन्दोलन बाँकी रहँदैन । त्यो यथार्थ हामीले थाहा पाउनुपर्छ’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *