काठमाडौं, २२ फागुन – पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासीको नेपाल भ्रमणबारे भारतमा ठूलो चिन्ता देखिएको छ । पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमणको विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया नआएपनि, नेपालका नयाँ प्रधानमत्री ओलीलाई बधाइ दिन पाकिस्तानी प्रधानमन्त्री अब्बास काठमाडौं आएपछि विभिन्न कोणबाट विश्लेषण गर्न थालेको छ ।
भारतीय अखबार ‘दैनिक जागरण’ को मंगलबार प्रकाशित अंकमा पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमणबारे समाचारका साथसाथै यो भ्रमणबाट भारतका सामू उपस्थित चुनौतीलाई विश्लेषणात्मक रुपमा पेश गरिएको छ ।
उक्त अखबारमा लेखिएको छ,नेपालमा नयाँ सरकार गठनपछि भारतीयभन्दा पहिला पाकिस्तानी प्रधानमन्त्रीको भ्रमण हुनु पहिलोपटक भएको समाचारमा उल्लेख गर्दै त्यहाँ लेखिएको छ ‘नेपालका प्रधानमन्त्री केपी ओलीका बारेमा भारतको आशंका सत्य साबित हुँदै गएको छ । पहिला चीनको समाचारपत्रमा दिएको साक्षात्कारमा भारतको कुटनीतिक हितविरुद्ध कुरा गरेर र पछि पाकिस्तानका प्रधानमन्त्रीलाई औपचारिक भ्रमणमा बोलाएर ओलीले भारतीय कुटनीति समक्ष ठूलो चुनौती पेश गरेका छन् ।’
प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा पनि भारतविरोधी व्यवहार गरेको भन्दै उक्त समाचारमा लेखिएको छ, ‘दोस्रो पटक प्रधानमन्त्री भएपछि ओलीलाई मनाउन भारतले धेरै प्रयास गरे पनि उनको व्यवहारमा खास परिवर्तन देखिएको छैन ।’