चिसाङ शेर्पा / खोटाङ ४ मंसिर – जिल्लाको प्रमुख नाका जयरामघाटस्थित दुधकोशी नदीमा निर्माण सम्पन्न मोटरेबल पुल आगामी मंसिर ७ गते विहीवारवाट अनौपचारिक रुपमा खुल्ला गरिने भएको छ ।
गत कार्तिक १५ गतेवाट एप्रोच स्याल्यापको डाउन स्टेपमा ग्याभिङ वाल, डण्डी र फर्माको काम हप्तादिन अघि सकिएसंगै एप्रोज रोड बनाउन शुरु गरिएको २३ दिनपछि पुल सञ्चालनमा ल्याईने भएको ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनका निर्माणस्थलमा खटिनुभएका इन्जिनियर सीताराम कार्कीले बताएका छन् ।
कार्कीका अनुसार “मंसिर ६ गते पुलको लोड टेष्ट गरिने छ । टेष्ट गरिएको भोलिपल्ट जिल्ला प्रशासन कार्यालय दिक्तेल, सडक विभाग र निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनको रोहवरमा पुलमा गाडी गुडाइ सुचारु गरिने छ ।”
आगामी मंसिर १० प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन भएका र निर्वाचन आचारसंहिता अनुसार कुनै पनि नेताले औपचारिकरुपमा पुल उद्घाटन गर्न पाउने व्यवस्था छैन । तसर्थ, पुलको सम्पुर्ण काम सकिएको र चुनाव लक्षित गरेर पुल अनौपचारिक रुपमा खोल्न लागिएको हो ।
करिब १ सय ५० मिटर लामो मोटरेबल पक्की पुल नेपालकै नमूना भएको आयोजनाले जनाएकोे छ । करिब १० करोडको लागतमा पूरा हुने भनिएको जयरामघाटको पक्की पुल सुचारु भएपछि खोटाङको विकासले काँचुली फेर्ने अनुमान गरिएको छ । जयरामघाटमा पक्की पुल नहुँदा झोलुङ्गे पुलमार्फत आवतजावत तथा दैनिक उपभोग्यवस्तु तार्नुपर्ने बाध्यता थियो । जसले गर्दा मृल्यबृद्धि बढने गरेको छ ।
खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने जयरामघाटस्थित दूधकोशीमा पक्की पुल निर्माण गर्ने जिम्मा विक्रम पाण्डेको कालिका कन्स्ट्रक्सन र दिवाकर गोल्छाको हुलास इञ्जिनियरिङले लिएको थियो । २०६८ साल असारसम्ममा पुल निर्माणको सबै काम पूरा गर्ने शर्तमा दुवै कम्पनीले साझेदारीमा काम गर्नेगरी २०६६ साल भदौमा नेपाल सरकार, सडक विभागसमक्ष ठेकेदार कम्पनीले सम्झौता गरेका थिए ।
२०६४ सालदेखि यातायात सञ्चालन भएको जिल्लामा जयरामघाटमा पक्की पुल नहुँदा हिउँदको समयमा वैकल्पिक व्यवस्थाका लागि अस्थायी बेलिब्रिज जडान गरेर आवतजावत गर्ने गरिएको छ । जयरामघाटमा अस्थायी बेलिब्रिज जडान गर्दा वार्षिक ६० लाखभन्दा बढी राज्यकोषको रकम खर्च हुने गरेको छ ।