काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयले फागुन २२ गतेदेखि मलेसियाको निजी एयरलाइन्स एयर एसियाको उडान बन्द गराउने भएको छ। एयर एसियाले विमानस्थल सेवा शुल्क बापतको बक्यौता नतिरेपछि उडान बन्द गर्न लागिएको बताईएको छ ।
एयर एसियाले पुस २४ गते फेब्रुअरी २८ भित्र सबै बक्यौता चुक्ता गर्ने लिखित प्रतिबद्धता गरेको थियो। तर, प्रतिबद्धताअनुसार एयरलाइन्सले बक्यौता नतिरेपछि विमानस्थल सेवा शुल्क नियमावली २०६७ को नियम ३० अनुसार उडान बन्द गराउँदै बक्यौता दाखिल गर्न लागेको स्रोतले बताएको छ ।एयर एसियाले विमानस्थल सेवा शुल्क बापत २० करोड रुपैयाँ विमानस्थल कार्यालयलाई बुझाउनुपर्नेछ।
एयर एसियाले पुस २४ गते पनि १० करोड रुपैयाँ दाखिल गर्ने र बाँकी रकम मासिक तीन करोड रुपैयाँको दरले किस्तामा तिर्दै जाने बताएको थियो। तर सोही दिन दुई करोड रुपैयाँ बुझाउँदै एयर एसियाले फेब्रुअरी २८ मा बाँकी बक्यौता रकम दाखिला गर्ने गरी लिखित सम्झौता गरेको थियो ।
कार्यालयका अनुसार नेपाल वायुसेवा निगम, मलेसियाको निजी वायु सेवा मालिन्दो एयर, यूएईको एयर अरेबिया, दक्षिण कोरियाको सरकारी वायु सेवा कोरियन एयर, भारतको निजी वायु सेवा इन्डिगो एयरलाइन्स, थाइल्यान्डको सरकारी कम्पनी थाई एयरवेज र हङकङको क्याथे ड्रागन एयर, सिंगापुरको सिल्क एयर, भुटानको निजी वायु सेवा भुटान एयरलाइन्स, भारतको सरकारी वायु सेवा कम्पनी एयर इन्डिया (इन्डियन एयरलाइन्स), कतारको सरकारी वायु सेवा कतार एयरवेज, मलेसियाको सरकारी वायु सेवा मलेसिया एयरलाइन्स, चीनको चाइना इस्टर्न एयरलाइन्स र बंगलादेशको सरकारी वायु सेवा विमान बंगलादेश लगायत अधिकांश विदेशी एयरलाइन्सको पनि लामो समयदेखि केही रकम बक्यौता छ। यी कम्पनीलाई अब क्रमशः पत्राचार गरिने बताईएको छ ।
यसैगरी सञ्चालनमा नरहेका एयरलाइन्सको बक्यौता पनि साढे ११ करोडभन्दा बढी छ। सञ्चालनमा नरहेका दुई दर्जनभन्दा बढी एयरलाइन्स कम्पनीले सरकारलाई बुझाउनुपर्ने ११ करोड ३९ लाख ६५ रुपैयाँ छ। सञ्चालमा नरहेका एयरलाइन्सले विमानस्थल प्रयोग गरे बापत तिर्नुपर्ने शुल्क बक्यौता रहेको कार्यालयले जनाएको छ।
यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयलगायत सरकारी कार्यालयको पनि ५५ करोड १२ लाख २१ हजार रुपैयाँ बक्यौता छ। सरकारी निकायमा सबैभन्दा बढी विमानस्थल भन्सार कार्यालयको ५३ करोड ९६ लाख रुपैयाँ बक्यौता रहेको अन्नपुर्णमा समाचार छ ।