“सुत्लो”
बेस्सरी घनले
ठोकेको करुवा
अनि करुवाले समातेको
हलोमा फालि
अब सुरक्षागार्ड भयो
हलोको टुँडोमा,
केराको थुम्मो भित्र नालबाट
चेपिएर निस्केको बुङ्गो
मकैको काखिमा हुर्केको
मकैको सुत्लो,
हर्दम बलिदानको लागि
तत्पर छन राष्ट्र बचाउने झोकमा।
हम्मरले हत्या गरि ढुङ्गालाई
गिट्टी बनाएर ट्रकमा थुपारेको
ढुङ्गाका कणहरु
कति आतुर छन्
महल बनाउने सोकमा,
अब सहजै भुल्छन ढुङगालाई
गिट्टी बनाएको पिडा जस्ले
दरबार बनाएका छन् ।
निश्चित झोक र शोक दुबैले
आ-आफ्नो परिवेशमा
राज्यसत्ता जमाउने छन् ।
एकदिन खरानी बनेर बागमतीमा
बग्ने छन् ती बहादुरी पुरुषहरु
तर अजर अ्मर भएर बस्ने छन्
घरमा प्रयोग गरेका गिट्टीहरु।
लेखक डि.बि. कार्की बुल्बुल