हाईड्रोपावरका प्रबन्ध निर्देशकलाई ज्यान मार्ने धम्कि आएपछि प्रहरी परिचालन

चिसाङ्ग शेर्पा-असोज-८ खोटाङ, mewa khola khotangकेन्द्रीय प्रशारणलाईनमा जोडिन लागेको खोटाङको मेवा खोला हाईड्रोपावर कम्पनी प्रालिका प्रबन्ध निर्देशक अर्जुन राईलाई नचिनिएका व्यक्तीबाट ज्यान मार्ने धम्की आएपछि आयोजनास्थलको सुरक्षार्थ प्रहरी परिचालन गरिएको छ ।

टेस्टिङ र कमिसनिङका काम गरेर बत्ती बाल्न लागिएको बेला हाईड्रोपावरको प्रबन्ध निर्देशक राईलाई सोमबार बिहान ज्यान मार्ने र आयोजना ध्वस्त पार्ने धम्की आएपछि बिहिबारदेखि आयोजनास्थलमा सईको कमाण्डमा ५ जना प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक नबिनकिशोर प्रधानले बताए ।

दिनभर आयोजनास्थल आसपासका गाउँमा गस्ती गर्ने र बेलुका मेवा खोला हाईड्रोपावरको आयोजना स्थलको सुरक्षा गर्ने गरी प्रहरी परिचालन गरिएको हो । दिक्तेल नगरपालिका–१० लफ्याङस्थित मेवा खोला किनारमा रहेको आयोजना स्थलको सुरक्षा व्यवस्थाकालागि प्रहरी निरिक्षक सरोज राई समेत आयोजना स्थल पुगेका छन् ।

‘प्रबन्ध निर्देशकको निबेदनका आधारमा सईको कमाण्डमा प्रहरी टोली परिचालन गरिएको छ,’ प्रधानले भने, ‘दिनभर वरपरका गाउँमा गस्ती गर्ने टोलीलाई बेलुका आयोजनाको सुरक्षा गर्ने जिम्मेवारी दिइएको छ ।’

निर्भिक वाताबरणमा हाईड्रोपावरको काम गर्ने र तोकिएकै मितिमा योजना पूरा गर्ने वाताबरण बनाउनकालागि सुरक्षा टोली परिचालन गरिएको हो । प्रहरीको टोली हप्ता दिनसम्म आयोजना स्थलमा खटिने जनाइएको छ ।
योजना सुरु गर्दादेखिकै फरक–फरक नम्बरबाट पटक–पटक सामान्य धम्की आउने गरेकामा पछिल्लो पटक भने मोबाईलबाट योजना ध्वस्त गरिदिने र जुनसुकै बेला ज्यान मार्ने धम्की आएको प्रबन्ध निर्देशक राईले बताए ।

गत भदौ–३० गते सदरमुकाम दिक्तेलमा सार्वजनिक कार्यक्रम गरेर १ मेगावाट क्षमताको हाईड्रोपावर निर्माणका सबै काम पूरा भएकाले दुई हप्ताभित्र टेस्टिङ र कमिसनिङका काम गरेर बत्ती बालिने जानकारी दिएपछि राई आयोजना स्थलमै बसेर काममा खट्दै आएका छन् ।

पुर्वसांसद समेत रहेका राई हाईड्रोपावरको कामका सिलसिलामा दिक्तेलबाट बुईपा जानेक्रममा गत असार–१८ गते शनिबार राती हुर्लुङमा बास बसेकै ठाउँमा निर्घात कुटिएका थिए । ज्यान मार्ने र आयोजना तोडफोड गरेर समाप्त पारिदिने धम्की आएपछि राई बसिरहेको आयोजना स्थलमा सोमबार राती पनि सुरक्षाकालागि प्रहरीको टोली खटाइएको थियो । यसअघि पनि उनलाई ‘किन योजना चलाएको भन्दै पैसा माग्ने’ गरिएको बताइएको छ ।

योजना सुरु गरिएको २०७१ साल मंसिरदेखि हालसम्मको अवधिमा २ थान हिल ट्यांक, ४ थान ड्रम, डिजेल, २ सय मिटर कालो तार, पाईप लगायतका सामान चोरी भएकोमा सोमबार राती आयोजनाको जेनेरेटर समेत तोडफोड भएको छ ।

राईमाथि धम्की दिने र हाईड्रोपावरको सामान चोरी गर्नेको हालसम्म पहिचान हुन नसकेको प्रजिअ चन्द्रबहादुर कार्कीले बताए । धम्की आयोजनालाई असफल बनाउने खेलको रुपमा समेत बुझ्न थालिएको छ ।

जिल्लालाई लोडसेडिङ मुक्त बनाउने लक्ष्यकासाथ साप्सु–कालिका हाईड्रोपावर कम्पनी प्रालि काठमाण्डौंको प्रबद्र्धनमा पीपीपी मोडलमा जिल्लामै पहिलोपल्ट २०७१ साल मंसिरदेखि हाईड्रोपावरको काम सुरु गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *