विद्युतीय सवारी प्रवद्र्धनमा सहुलियत दिन सरकार तयार

२० भदौ काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युतीय सवारी साधन (इभी) को प्रवर्द्धन र विस्तारका लागि सहुलियत दिन र अनुकूल वातावरण बनाउन सरकार तयार रहेको बताउनुभएको छ ।

नेपाल विद्युत प्राधिकरणले बुधबार निर्माण गरेको ५१ चार्जिङ स्टेशनको संयुक्त उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन् । मन्त्री बस्नेतले सरकारले आज ५१ वटा विद्युतीय चार्जिङ स्टेशनको उद्घाटन गरेको र आगामी दिनमा देशभर विस्तार गर्ने योजना रहेको बताए । उनले देशभरका ५१ वटा विद्युतीय चार्जिङ स्टेशनको उद्घाटन विद्युतीय यात्रा मात्र नभएर विद्युतीय सवारी साधनको माध्यमबाट हरित र दिगो विकासमा महत्वपूर्ण योगदान पुग्ने बताए ।

मन्त्री बस्नेतले विद्युतीय सवारी साधनले जलवायु परिवर्तनका कारण उत्पन्न हुने समस्यालाई कम गर्ने मात्र नभई नेपालको आर्थिक विकास र समग्र यातायातको विकासमा समेत टेवा पुग्ने बताए । मन्त्री बस्नेतले सरकारले विद्युतीय सवारी साधनलाई कानुनी व्यवस्थामा मात्रै सीमित नगरेको बताउँदै विद्युतीय सवारी साधनलाई व्यवहारिक जीवनमा अभियानका रुपमा अगाडि बढाउने बताए । मन्त्री बस्नेतका अनुसार नेपालको हरित दिगो विकासको यात्रामा चार्जिङ स्टेशनको निर्माण महत्वपूर्ण सावित हुने छ । उनले अन्य विद्युतीय सामग्री पनि नेपालमा उत्पादन गर्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *