नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूलाई थप तीन दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबै १६ जना थप ३ दिन हिरासतमा रहने भएका छन् । जिल्ला अदालत काठमाडौँले १६ जनालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
जेठ ४ गते प्रहरीले भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल र नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई पक्राउ गरेको थियो । पक्राउलगत्तै उनीहरूलाई दुई दिन हिरासतमा राख्ने अनुमति लिएर प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई समेत पक्राउ परेका छन् । यस्तै कांग्रेसका पूर्व सभासद् आङ्टावा शेर्पा समेत पक्राउ परेका छन् ।
यो प्रकरणमा सबैभन्दा पहिला २०७९ चैत १२ मा केशव दुलाल, पाँचथरका टङ्क गुरुङ र ललितपुर घर भएका सानु भण्डारी पक्राउ परेका थिए । यस्तै चैत १५ मा मोरङ घर भएका सागर राई पक्राउ परेका थिए । यस्तै पूर्व गृहमन्त्री खाँणका निजी सचिव नरेन्द्र केसी, सन्देश शर्मा, सन्दीप रायमाझी, रामशरण केसी र गोविन्द चौधरी पनि पक्राउ परेका छन् ।