प्रधानमन्त्री सँग एनडिआईका प्रमूख,सोसलिष्ट पार्टी अफ बंगलादेशका जनरल सेक्रेटरी र स्वीस राजदूतको छुट्टाछुट्टै भेट

bangladeshमंसीर २७ काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग एनडिआईका प्रमूख केनेथ वालाक र स्वीस राजदूत योर्ग फ्रिडेनले छुट्टाछुट्टै सोमबार बिहान प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेट गरेका छन् ।भेटमा एनडिआईका प्रमूख केनेथले नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्र संघ र यसका साझेदारी संस्थाहरुको सकारात्मक योगदान रहेको बताएका थिए । केनेथले नेपालको शान्ति प्रक्रिया मौलिक र विश्वकै लागि अनुकरणीय रहेको भन्दै त्यसको नेतृत्व गरेकोमा प्रधानमन्त्री प्रचण्डलाई विशेष धन्यवाद दिए ।

सो अवसरमा प्रधानमन्त्रीले नेपालको शान्ति प्रक्रिया मौलिक र अनुकरणीय रुपमा समापनको दिशामा गएको भन्दै शान्ति प्रक्रियामा सहयोगी भूमिका खेलेकोमा संयुक्त राष्ट्र संघ लगायतका मित्रहरुलाई धन्यवाद दिनुभयो ।प्रधानमन्त्रीले नेपाल आर्थिक समृद्धि र सुशासनको दिशामा अगाडि बढेको जानकारी गराउँदै त्यसका लागि विश्व समुदायको सकारात्मक योगदान रहने विश्वास व्यक्त गर्नुभयो ।

यसैबीच सोमबार नै स्वीस राजदूत योर्ग फ्रिडेनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गरेका छन् । भेटका क्रममा स्वीस राजदूत फ्रिडेनले नेपाललाई संविधान कार्यान्वयन र आर्थिक समृद्धिको दिशामा सफलता मिल्ने विश्वास व्यक्त गर्दै त्यसका लागि स्वीस सरकार सधैं सहयोगी रहने बताउनु भयो ।

भेटमा प्रधानमन्त्रीले स्वीसले नेपालको विकासका मुद्धाहरुमा गरेको सहयोगका लागि धन्यवाद दिँदै नेपाल संविधान कार्यान्वयन, शान्ति प्रक्रिया र आर्थिक समृद्धिको मार्गमा अघि बढिरहेको जानकारी गराउनु भएको थियो ।

त्यसैगरी, सोसलिष्ट पार्टी अफ बंगलादेशका जनरल सेक्रेटरी खालेकुजमनको नेतृत्वमा रहेको टिमले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेको छ । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री र खालेकुजमनबीच दुई देशको सम्बन्ध एवं नेकपा (माओवादी केन्द्र) र सोसलिष्ट पार्टी अफ बंगलादेशबीचको अन्तरपार्टी सम्बन्धका बारेमा छलफल भएको थियो । भेटका अवसरमा प्रधानमन्त्रीले नेपाल परिवर्तनका मुद्धाहरुलाई संस्थागत गर्ने चरणमा रहेको र सरकारले परिवर्तन संस्थागत गर्दै समृद्धि हासिल गर्ने कुरालाई प्राथमिकतामा राखेको जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले राष्ट्रिय एकता बलियो पार्दै संविधान कार्यान्वयन, शान्ति प्रक्रियाको पूर्णता, पूनर्निर्माण र नवनिर्माण एवं समृद्धिलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै राष्ट्रिय हित र साझा सवालमा नेपाल र बंगलादेशबीच सम्बन्ध अझै घनिष्ट बन्ने विश्वास व्यक्त गर्नुभयो ।
भेटमा जनरल सेक्रेटरी खालेकुजमनले बंगलादेशको सोसलिष्ट पार्टीले नेपाल र नेकपा (माओवादी केन्द्र) सँग मैत्रीपूर्ण सम्बन्ध स्थापित गर्न चाहेको जानकारी दिँदै प्रधानमन्त्रीलाई बंगलादेश भ्रमणका लागि निमन्त्रणा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *