प्रधानमन्त्रीले खोटाङका कार्यालय प्रमुखहरुलाई कस्ता निर्देशन दिए

कार्तिक २४ खोटाङ, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खोटाङ जिल्लास्थित सरकारी कार्यालयका प्रमूखहरुलाई मंगलबार एक कार्यक्रम बीच सामूहिक निर्देशन दिएका छन् ।

मंगलबार अनुगमन तथा निरीक्षण भ्रमणका क्रममा खोटाङको सदरमुकाम दिक्तेल बजारमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले जनताको सेवालाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएको हो । कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘राष्ट्रिय गौरवका आयोजनाको आफै अनुगमन र निरीक्षण गर्ने क्रममा यहाँ आएको छु । विकासका कामलाई प्राथमिकता दिएर समृद्धि हासिल गर्ने योजनामा सरकार प्रतिवद्ध छ । त्यसका लागि कर्मचारी साथीहरु जनसेवामा केन्द्रित हुनुहोला ।’
प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको वातावरण बन्दै गएकोमा जोड भने, ‘संविधानको स्वीकार्यता बढाएर देशलाई निर्वाचनमा लैजाने मेरो जोड छ । हिजोदेखि संविधान संशोधनको मस्यौदाको गृहकार्य सुरु भएको छ, हामी सहमतिमै संविधान संशोधन गरेर निर्वाचनमा जान्छौं ।’

खोटाङ जिल्लामा २० वर्षपछि प्रधानमन्त्रीको आगमनले आफूलाई नमीठो अनुभव भएको प्रधानमन्त्रिले भने, ‘खोटाङ जिल्लामा २० वर्षपछि प्रधानमन्त्री आएको सुन्दा नमीठो लाग्यो । तर, शैक्षिक, सांस्कृतिक र सामाजिक चेतनाका दृष्टिले खोटाङ अग्रस्थानमा छ । खोटाङको विकासबारे यहाँहरुले राख्नुभएका विषयहरुमा सरकार गम्भीरतापूर्वक लाग्नेछ । यसमा कुनै चिन्ता नलिनु होला ।’

कार्यक्रममा खोटाङ जिल्लाका प्रमूख जिल्ला अधिकारी चन्द्र कार्कीले दुई दशकपछि खोटाङ जिल्लामा प्रधानमन्त्रीको आगमन भएको र यसले खोटाङ जिल्लाबासीलाई नै उत्साहित गरेको बताए । कार्यक्रममा सांसद पाँचकर्ण राई, प्रधानमन्त्री कार्यालयका सचिव टंकमणि शर्मा, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतले बोलेका थिए ।

अनुगमन निरीक्षणका क्रममा स्थानीय विकास अधिकारी निश्चलराज पाण्डेले खोटाङ जिल्लाको वस्तुस्थितिबारे प्रधानमन्त्रीलाई अवगत गराएका थिए भने खोटाङका राजनीतिक दल र उद्योगी व्यवसायीहरुले स्वागत गरेका थिए । उक्त क्रममा प्रधानमन्त्रीले खोटाङ जिल्लास्थित नेकपा (माओवादी केन्द्र) का अगुवा कार्यकर्तालाई सम्बोधन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *