१९ असोज, काठमाडौँ : चीनको हाङ्जाओमा जारी १९औँ एसियाली खेलकुदमा नेपाल अन्ततः पदक जित्न सफल भएको छ ।
महिला कबड्डीमा नेपालले कास्य पदक जितेको छ । सेमिफाइनलमा महिला कबड्डीमा नेपाल भारतसँग पराजित भएपछि कास्य पदकमा सीमित रह्यो । भारतले नेपाललाई ६१–१७ अंकले पराजित गरेको थियो । नेपाल समूह ‘बी’ अन्तर्गत फस्ट रनरअपका रूपमा सेमिफाइनलमा प्रवेश गरेको थियो । त्यस्तै भारत समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । कबड्डीमा सेमिफाइनल खेल्ने चारै टोली पदकको हकदार छन् ।
एसियाली खेलकुदअन्तर्गत महिला कबड्डीमा नेपाल पहिलो पटक सहभागी भएको हो । समूह ‘बी’ मा इरान र बंगलादेश छन् । समूह ‘बी’ को विजेता बनेर इरान सेमिफाइनलमा प्रवेश गरेको छ । अब समूह ‘ए’ को उपविजेता चाइनिज ताइपेसँग खेल्दैछ । नेपाली टोलीमा मेनुका कुमारी राजवंशी (कप्तान), मन्मति विष्ट, जयन्ती बडू, सुनिता थापा, रविना चौधरी, अनुजा कुलुङ राई, गंगा राई, नितु गुरुङ, ईशा राई, अर्पना चौधरी, सिर्जना थारु र कलावती पन्त रहेका छन् । टोलीका प्रशिक्षक विष्णुदत्त भट्ट हुन् ।