वीर अस्पतालको नयाँ भवन बन्ने

काठमाडौं- देशकै जेठो अस्पताल वीर अस्पतालको नयाँ भवन बन्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ भवन बन्न लागेको वीर अस्पतालको शिलान्यास गरेका छन्। वीर अस्पताललाई आधुनिक र सुविधा सम्पन्न बनाउने योजना अनुसार नयाँ भवन निर्माणको काम अगाडि बढेको हो।

प्रधानमन्त्री ओलीले शिलान्यास गरेको भवन तीन वर्षभित्र निर्माण भइसक्नेछ। उक्त भवनमा ६ सय ५० शय्या हुनेछ । अस्पतालको आकस्मिक कक्षअगाडि रहेको क्वार्टर र नर्सिङ भवन भत्काएर खाली बनाइएको स्थानमा भवन बन्नेछ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले भवन निर्माणका लागि बोलपत्र स्विकृत गरिसकेको छ। भवन जेडआइइसी–शर्मा–रसुवा जेभी’ नामक कम्पनीले निर्माण गर्नेछ।

भवन निर्माणका लागि २ अर्ब ३४ लाख ७२ हजार ९ सय पन्चानब्बे रुपैयाँ खर्च हुनेछ। यो रकम मूल्य अभिबृद्धि कर बाहेकको हो।

बहुवर्षीय योजना अनुसार उक्त भवन निर्माणको काम अगाडि बढाइएको हो। भवन तीन वर्षभित्रमा बनिसक्ने योजना छ। दुई तला भूमिगत पार्किङ र जमिनमाथि ७ तला रहने उक्त भवनलाई वीर अस्पतालको सर्जिकल भवन नाम दिइएको छ।

उक्त कम्प्लेक्समा १५ वटा मेजर शल्यकक्ष, २० वटा सर्जिकल आइसियु, ३० वटा पोष्टअप वार्ड रहनेछन्। यसका साथै आधुनिक उपकरणहरु पेटस्क्यान, एमआरआई, सिटीस्क्यान लगायतका सेवा समेत हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *