दिक्तेल र हलेसिको बिचमा पर्छ एउटा सुन्दर मनमोहक गाउँ नुनथला । रावाखोलाको फाँटहरुमा धानकाबालाहरु झुल्दा दूधकोशी हुँदै सगरमाथालाई छोएर झर्ने चिसोहावाले चुनौती दिन्छ नुनथलालाई । मलाथुम्काहोस, या रुपाकोट, उसैको लाडप्यारमा मस्त निदाइ दिन्छ नुनथला । स्वच्छ र चिसो हावा चलिरहने नुनथलाको इतिहास पनि कम्ती रोचक छैन । पृथ्वीनारायण शाहले, नेपाल एकीकरणको बेला खार्पाली हरिनन्द उपाध्यले पृथ्वीनारायण शाहका फौजलाई सघाएर पुर्बका बाइसे राज्यहरु मध्यका माझ किराँत हराएका थिए । त्यो समयमा, खार्पाली पोखरेलहरुको गाइवस्तु आवत जावत गर्दा नुनथलामा नुन खाने गरेकोले त्यो ठाउँलाई नुनथला भनिएको भन्ने इतिहास छ ।
त्यहिको माटोमा जन्मिएर खेली हुर्की बढेका हुन गायक तथा संगीतकार शिव संगम । साह्रै सरल र इमान्दार र भद्र गायक तथा संगीतकार शिव संगम संग मेरो २०५६ सालको दिक्तेल साँस्कृतिक महोत्सवमा पहिलो भेट भएको थियो । त्यो कार्यक्रममा उहाँले एउटा हलेसिको ए सिम्मा नानी, दिक्तेल बजार संगै घुमौला । कसै गरि आउनु है आउनु, नुनथलामा पर्खी बसौला ।
त्यस पछि लामो समय सम्म हाम्रो प्रत्यक्ष सम्पर्कमा रहन सकेनौ । तर आज समयको लामो अन्तराल पछाडी गायक तथा संगीतकार शिव संगमले रेडियो नेपाल बाट संचालित रेडियो जागरण गीत संगीत प्रतियोगितामा उत्कृस्ट भएका छन शिव संगम । भावनलाई बुझेर शब्द संग खेल्न सक्ने संगीतकार शिव संगमले अहिले सम्म अजम्वरी माया, टाइगर हिलैमा, नजाउ बिदेश, ज्योती जून, बिन्ती र बिनायो गरी ७ वटा एल्बम बजारमा ल्याई सकेका छन् । उनै गायक तथा संगीतकार शिव संगम संग सूचना खबरको लागि ईन्द्र जिजीबिषाले गरेको कुराकानी ।
रेडियो नेपालको राष्ट्र व्यापी जागरण गीत प्रतियोगितामा संगीत तर्फ उत्कृस्ट हुनु भएछ, कस्तो लागि रहेको छ ?
नेपाली कला साहित्य र संगीतलाई यो स्थान सम्म ल्याउन रेडियो नेपालको ठूलो भूमिका रहेको छ । नेपाली संगीत जगतमा स्थापित भनिएका कलाकारहरु रेडियो नेपालको माध्यम बाट नै अमर र परिचीत बनेका हुन । नेपाली गीत संगीतको विकास, प्रबर्द्धन र जगेर्ना गर्न नेपाल सरकार द्वारा स्थापित एक मात्र संस्था रेडियो नेपाल हो । त्यसैले पनि रेडियो नेपाल कलाकारहरुको पबित्र मन्दिर हो । त्यही ठाउँ बाट आफूले रोजेको क्षेत्रमा सफलता हात पर्नु भनेको मेरो लागि निश्चयै खुशिको कुरा हो । साथै म माथी अझै धेरै जिम्मेवारी पनि थपिएको हो भन्ने कुरा मैले बुझेको छु ।
तपाइकै संगीत र शब्द रहेको गीतले प्रथम र सान्त्वना स्थान प्राप्त गरेछ । यो चाहिँ कस्तो हो ?
हजुर, मैले यो प्रतियोगितामा दुई गीत सामेल गरेको थिएँ । जुन गीतमा मेरो शब्द र संगीत रहेको थियो । त्यो दुबै गीत पुरस्कृत भए। एक गीत स्वर तर्फ प्रथम र दोस्रो गीतले पनि स्वर तर्फ नै सान्त्वना स्थान प्राप्त गर्यो । यस परिणामले मलाई निक्कै उत्साही बनाएको छ । किनकि राम्रा सिर्जना र प्रतिभाको मुल्यांकन र कदर हुन सक्ने अवस्था रहेछ ।
कुन विषय वस्तु र भावना प्रतिविम्बित संगीत सृजना गर्नु भएको थियो ?
तपाईले यस प्रश्नमा समग्रमा, शब्द र संगीतकै बारेमा बुझ्न खोज्नु भए जस्तो लाग्यो । समयको गतिशीलता संगै मानवीय चेतना,चाहाना र सांसारिक परिवर्तननिय सिद्धान्तको आधारले नै होला कुनै पनि कुरालाई फरक फरक दृस्ठिकोण बाट बुझ्ने र परिभाषित गर्ने प्रक्रिया चली रहन्छ । हो, यसैको परिणाम हुनसक्छ, रेडियो नेपालको जागरण गीत । वास्तवमा यो आधुनिक गीत संगीत अन्तर्गत नै पर्दछ । तर रचनाको हिसाबमा चाहिँ हल्का प्रेम, बिरह, पीडा र बिछोडका शब्दहरु नभई वीरता, चेतना, सन्देश, राष्ट्रियता ,इतिहास,गौरवता आदि भाव प्रकट हुन्छन् । जसलाई नै जागरण गीत , स्वदेश गान, राष्ट्रिय गीत आदि भनेर भन्ने गरिन्छ । मैले यहि भावानमा शब्द रचना गरेको थिएँ ।
मैले, शब्दमा लय भर्ने क्रममा चाहिँ तीन वटा कुरालाई मिश्रण गर्ने प्रयास गरेको छु । जसमा खाँटी नेपाली संगीत, नेपालमा आधुनिक भनिएर स्थापित भएको संगीत र पुर्वीया संगीत भनिएर स्थापित भएका भात खण्डे शास्त्रीय संगीतका केही रंगहरु झल्काउने प्रयास गरेको थिएँ ।
निक्कै लामो अन्तर संघर्ष पछाडी सफलता पाउनु भयो या तपाईंको सृजनाको मुल्यांकन भयो । तपाईं के भन्नू हुन्छ ?
म अलिक घुमाउरो प्रश्न या बात अलि ठम्याउन सक्दिन ।मेरो यहि स्वभावले गर्दा म सधै पछाडि पर्छु जस्तो लाग्छ । तर म यस्तैमा रमाउने मान्छे हुँ । म त्यति प्रतिस्पर्धामा पनि जान्न र गए पनि माग्न जान्दिन । अर्थात के हुदैछ ? मेसो पटक्कै पाउँदिन । म संयोगबस कमै प्रतिस्पर्धामा भाग लिएको छु । र प्राय मेरो सृजनाको कदर भएको मेरो अनुभव छ ।रेडियो नेपालको उत्कृष्ट संगीत पुरस्कार कुनै अन्तर संघर्षले नभई, मेरो नेपाली संगीतमा योगदान, निरन्तरता र सृजना र संगीतको गहनता नै हो । फेरि यो प्रतिस्पर्धा हुने जानकारी ढिलो भएकोले गर्दा त्यति तयारी नभई छोटो समयमा शब्द संगीत तयार पारि समाबेश भएको हो ।
सांगीतिक दुनियाँमा कसरी आउनु भयो ? तपाइको अन्तर संघर्षको कथा के छ ?
म यस क्षेत्रमा आउनलाई र आइ सके पछिका अन्तर संघर्षका, हण्डरका कथाहरु धेरै छन् । र अझै पनि संघर्षका सयौ पाटाहरु अगाडि उभिएका छन् । जसलाई सामाना गर्दै अगाडि बढ्ने प्रयास गरि रहेको छु । म माझ किराँत खोटाङ नुनथला ५ खर्क टोलमा जन्मिएको हुँ । मेरो चेतना पलाए देखि र त्यहा रहुन्जेल सम्म मलाई संगीतमा लाग्न तीन कुराले प्रभाव पारे । त्यहाको भौगोलिक बनावट, त्यहाको प्राकृतिक वातावरण र त्यतिबेलाको मेरो जीवन भोगाइ , मेरो बाउ बाजेले मान्ने धर्म संस्कार अर्थात मेरो बाजेले सालन्ने, गर्ने मारुनी नाच, उभौली उधौली पुजा आदिले नै म संगीतमा लाग्न प्रेरित गर्ने माध्यमहरु हुन् ।
म एस एल सी पास गरे पछि गायक बन्ने ठूलो सपना पूरा गर्ने, काठमाडौ जाने धोको , बाबा र दाइले अस्विकार गरे पछि आमालाई मात्र सुटुक्क भनेर मनाए पछि । आमाले सुर्के थैली बाट एघार सय रुपैया दिए पछि भालेको डाकोमै गाउँ छाडेर, काठमाडौ लागेको थिएँ तर कारणवस धरानमै केही बर्ष बसे । पछि २०५४ सालमा काठमाडौ आएर रेडियो नेपालमा स्वर परिक्षा पास गरे पछाडि गीत गाउन थाले । यो बिरानो शहरमा कम्ती दुख भोगिएन हौ । ती सारा भोगाइहरु यहाँ भन्न सकिन्न । अझै संघर्ष जारी छ । सायद यहि होला जीवन ।
संगीतमा आएर के पाउनु भयो र के गुमाउनु भयो ?
हरेक मान्छेको जीवनमा पाउनु र गुमाउनुले ठूलो भूमिका खेलेको हुन्छ । म पनि त्यस्तै एक जीवन हुँ ।जो यी दुई कुरा बाट टाढा रहुँ । सोचेर देखे जस्तो हुने जीवन विरलै होला । सायद नेपालमा कलाकारीतामा लागेर आर्थिक पक्ष बाट चाहि कमसल नै रहिदो रहेछ । आर्थिक पक्षबाट अलिक अव्यवस्थित भएर बाँच्ने बेला गुमाए जस्तो चाहिँ कता कता हुदो रहेछ।
वास्तवमा भन्ने हो भने, संगीत कहाँ बाट सुरु भएर कहाँ अन्त्य हुन्छ ?
जब जीवनको जन्म हुन्छ । र कालखण्ड संगैचेतनाकोविकास हुन्छ । त्यही जीवनको चेतनाको विकास संगै संगीतको पनि सुरुवात हुन्छ ।वर्तमान समयमा संगीत जीवनको अभिन्न अंग बनेको छ । संगीत जीवन जस्तै बनी सकेको छ । जोएउटा सिंगो जीवन भन्दा अनन्त बाँच्न सक्छ । जुन संगीत उच्चतम सृजनशिल चेतना बाट जन्मिएको होस । र एक पुस्ता हुँदै अर्को पुस्तालाई छुन सकोस ।
अबको नयाँ योजनाहरु के के छ त ?
एक जना संगीतकर्मीको सपना र योजना संगीत कर्म भन्दा पर कदापि हुन सक्दैन । निरन्तर संगीतमै काम गरिरहेको छु । थुप्रै लोकगीत, आधुनिक गीत, भाषाका गीतका एल्बमहरुमा काम गरिरहेको छु । यी गीतहरु क्रमशः बजारमा ल्याउने कोशिशमा छु ।