एमाले ज्ञानेन्द्रलाई सिंहासनमा फर्काउन सक्रिय छ: गोपाल किराँती

काठमाडौं १६ बैशाख, सत्तारुढ दल नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता गोपाल किराँतीले संविधानलाई असफल बनाएर राजा फकाउने षडयन्त्रमा प्रमुख प्रतिपक्षी दल एमाले लागेको आरोप लगाएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजा गरेको साक्षात्कारमा बोल्दै नेता किराँतीले एमालेले मुलुकको निकासको लागि ल्याईएको संशोधन विद्येयकको विरोध गरेर नाटक मञ्चन गरिरहेको आरोप लगाए । उनले भने,‘वास्तवमा एमालेले निर्वाचन नै चाहेको छैन भन्ने कुराको पुष्टि भएको छ, निर्वाचन निर्वाचन भनेर बाहिर कराउने, तर भित्री रुपमा निर्वाचन एमालेले नचाहेको हो कि भन्ने प्रश्न उब्जिएको छ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा उनले एमाले नेतृत्वको रवैया नै बेठीक रहेको टिप्पणी गरे । उनले भने,‘एमालेले गणतन्त्रलाई नै समाप्त पार्न खोज्दैछ ।’ उनले एमाले अध्यक्ष ओलीले विगतमा पनि संघीयता र गणतन्त्रलाई आफूहरुले बाध्यताले स्विकार गरेको बताईसकेको उल्लेख  गर्दै भने,‘अहिले एमाले नेतृत्वले गणतन्त्रलाई समाप्त पार्न खोजेको त होईन ?’

उनले अहिलेकी राष्ट्रपति विद्यादेवी भण्डारी एमाले पार्टीकै भएकोले उनले आफ्नी छोरीको विवाहमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई बोलाएको तर दलका नेताहरुलाई बेवास्ता गरेको आरोप लगाउँदै भने,‘यस्तो क्रियाकलाप र तारतम्य हेर्दा, ज्ञानेन्द्र शाहलाई सिंहासनमा राख्ने खेल एमालेले गर्दैछ।’

उनले अघि भने,‘सके सिधै सिंहासनमा ज्ञानेन्द्र शाहलाई राख्ने, नसके चुनाव भाँड्ने, चुनाव भाँड्नपनि सकिएन भने चुनावमा राष्ट्रपति ज्ञानेन्द्रलाई बनाउने, र फेरि राजतन्त्र पूर्नस्थापित् गर्ने यो क्रियाकलापमा एमाले लागेको छ।’ उनले त्यही उद्देश्यको लागि एमालेले अहिले खोचे थाप्ने काम गरिरहेको समेत आरोप लगाए । किराँतीले एमालेको यो क्रियाकलाप प्रतिक्रान्तिकारी क्रियाकलाप भएको भन्दै भत्र्सर्ना समेत गरे ।

निर्वाचन काठमाडौंमा आएको गणतन्त्रलाई गाउँसम्म पुर्याउने माध्यम भएकोले अहिले सरकारले घोषणा गरेको बैशाख ३१ र जेठ ३१ को दुई चरणको स्थानीय तहको निर्वाचनलाई सफल बनाउनुपर्ने बताउँदै यसलाई पूर्ण रुपमा सफल बनाउनको लागि वर्तमान सरकार केन्द्रित रहेको किराँतीको दाबी थियो । उनले भने,‘घोषित मितिमै निर्वाचन हुनुपर्छ।’

त्यस्तै उनले यो निर्वाचन संविधान कार्यान्वयन गर्नको लागि भएकोले संविधानमा स्वियर्काता बढाउनको लागि पनि सरकारले परिमार्जनसहितको संशोधन प्रस्ताव ल्याएको बताए । उनले एमालेले संशोधनको बिरोध गर्नु वास्तविकतामा संविधान कार्यान्वयन नचाहेको स्पष्ट हुने आरोप लगाए ।

प्रमुख दल नेपाली काँग्रेसका नेता फर्मुल्लाह मन्सुरले चुनावको वातावरण बनाउनको लागी संशोधन ल्याउनु परेको बताउँदै संशोधन प्रस्तावको विरोध गरेर एमाले निर्वाचनबाट भाग्न खोजिरहेका आरोप लगाए । उनले भने,‘जबसम्म संविधान संशोधन हुँदैन, तबसम्म कुनैपनि निर्वाचन हुन सक्दैन्, त्यसैले निर्वाचनको वातावरण बनाउनको लागि पनि संशोधन अनिवार्य छ।’

उनले सरकारले परिमार्जनसहितको संशोधन विद्येयक अघि बढाएपछि आम जनतामा निर्वाचन हुनेबारे सकारात्मक विश्वास पैदा भएको उल्लेख गर्दै भने,‘विश्वासको वातावरण बनिरहेको छ, तर एमालेले यसलाई राष्ट्रघाती भनेर गलत प्रचार गरिरहेको छ, यसले वातावरण बनाउँदैन्।’

नेता मन्सुरले संशोधन प्रस्तावको विरोध गर्नु भनेको एमाले निर्वाचन विरोधी हो भनेर जनताले बुझिसकेको समेत आरोप लगाए । उनले भने,‘प्रस्तावित संशोधन प्रस्तावको पक्षमा जनमत बनिरहेको छ, राप्रपा पनि यसको पक्षमा छ।’ उनले एमालेले विरोधको शैली अपनाएर मुलुकलाई बन्धक बनाउन खोजीरहेको बताउँदै ईतिहाँसले एमालेलाई श्राप्ने समेत बताए ।
उनले भने,‘एमालेले जे नाटक अहिले मञ्चन गरिरहेको छ, यो जनताको अधिकार बञ्चित गर्ने कुरा हो, ईतिहाँसले एमालेलाई श्राप्ने छ, एमाले अब पहाडको मात्रै पार्टी हुनेछ, मधेशमा पाईला टेक्ने ठाउँ हुँदैन् ।’ उनले संशोधन प्रस्ताव भोलि(आईतबार) निर्णयार्थ प्रस्तुत हुने भएकोले एमालेले पनि सहयोग गर्नुपर्ने बताए ।
एमालेको अडानले राजनीतिक निकास लिन नसक्ने र निर्वाचनको वातावरण भाँड्ने काम गरिरहेको भन्दै उनले चिन्ता व्यक्त गरे । यद्धपी उनले संविधान संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदासम्म एमालेले पनि साथ दिने विश्वास व्यक्त गरे ।

उनले सरकारले घोषणा गरेको निर्वाचन निर्धारित मितिमै सम्पन्न हुने समेत स्पष्ट पारे । उनले भने,‘निर्वाचन दुई चरणमा घोषणा भैसकेको छ, अब फेरि एक चरणमा गर्नुपर्छ भन्नु गलत हो, कोही पनि निर्वाचनबाट भाग्नुहुँदैन् ।’ उनले संशोधन प्रस्ताव सदनबाट पारित हुने ठोकुवा समेत गरे ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता एवम् पूर्वमन्त्री रघुबिर महासेठले विदेशीले तयार बनाएर संबिधान कार्यान्वयन हुन नदिने षड्यन्त्रका साथ अहिलेको संशोधन प्रस्ताव आएको आरोप लगाएका छन् । उनले अहिलेको संविधान लागु होस् भन्ने जनताको चाहना रहेको बताए ।

उनले बलियो प्रतिपक्षी दल हुँदाहुँदैपनि एमालेसँग कुनै छलफल तथा सहमति नगरीकन प्रस्ताव आउनु नै दुर्भाग्य भएको टिप्पणी गरे । उनले भने,‘बलियो प्रतिपक्षी दल हुँदाहुँदै पनि हामीसँग कुनै छलफल गरिएन्, किनकी उहाँहरुलाई थाहा छ, एमालेले यो कुरा मान्दैन भनेर, देश र जनताको हितमा भएको भए पो उहाँहरुले हामीसँग सल्लाह गर्नुहुन्थ्यो ?’

नेता महासेठले मोर्चाका नेताहरुले दुताबास गएर बैठक गर्ने गरेको समेत आरोप लगाए । उनले भने,‘उहाँहरुको बैठक दुतावासमा हुन्छ, त्यो पनि राती होईन, दिउँसै १२ बजे, उहाँहरुको पार्टी हेडक्वार्टर छैन र ?’एमालेलाई बदनाम गराउन अहिले खेल भैरहेको समेत उनको आरोप थियो । उनले सत्तारुढ दल राप्रपाको चरित्र पनि जनताले परिक्षण गरिसकेको बताउँदै राप्रपा अहिले काँग्रेस, माओवादी र मधेशवादी दलको कित्तामा उभिएको आरोप लगाए ।

त्यस्तै उनले ११ जिल्लामा मात्रै स्थानीय तहको संख्या बढाउन लागिएकोप्रति टिप्पणी गर्दै भने,‘यो त मधेशी मधेशीबीच लडाउन ल्याउन लागेको हो, हार्ने ठाउँमा संख्या बढाउन खोजिएको छ, उनले नेपालको स्वाधिनता र राष्ट्रियतामा आक्रमण गर्न पाईदैन् ।’ उनले आफ्नो पार्टीले जस्तोसुकै मुल्य चुकाउनु परेपनि पछि नहट्ने भन्दै देश र जनताको हित विपरित आएको प्रस्तावको विरोध गर्ने र अन्तिमसम्म पनि लड्ने स्पष्ट पारे । उनले आफूहरु चुनावको पक्षमा रहेकोले वर्तमान सरकारले घोषित मितिमा चुनाब गराउन नसके राजीनामा दिनुपर्ने बताए । उनले भने,‘चुनाव गराउन नसके प्रधानमन्त्रीले राजिनामा दिनुपर्छ, तर चुनावको विकल्प छैन् ।’

उनले संसदमा रहेको संशोधन प्रस्ताव कुनैपनि हालतमा पारित हुनै नसक्ने बताउँदै सरकारले संशोधन पारित गराउनको लागी चलखेल गर्न नहुने धारणा राखे । उनले भने,‘अहिले व्यापक चलखेल भैरहेको छ, यस्तो चलखेल नहोस्, तर संसदबाट पारित हुन्छ भने हामीले नतिजा त मान्नैपर्ने हुन्छ, तर हामी आफ्नो अडानबाट दायाँबायाँ हुँदैनौं ।’

संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक डा. शिवजी यादवले संशोधन प्रस्तावमा सर्बसम्बत बनाउन सरकार लागिरहेको बताएका छन् । उनले सरकारले प्रतिपक्षी दल नेकपा एमालेलाइ समेत समेट्न लागिरहेकोले केही ढिला भएपनि प्रक्रियामा गए संशोधन पास हुने बताए। उनले भने,‘संशोधन प्रस्ताव पारित हुन्छ, सरकारले हरप्रयास सहमतिको लागि जोड दिईरहेको छ, प्रक्रियामा गए पनि पास हुन्छ ।’ उनले भोलि कुनैपनि हालतमा संशोधन प्रस्ताव पारित गर्नुपर्ने बताए । सहमति नभए एक दुई दिनभित्र भएपनि प्रस्ताव पारित हुने यादवको विश्वास थियो ।

नवगठित राष्ट्रिय जनता पार्टी नेपालका नेता मनिष सुमनले संविधान संशोधन पास नभए सम्म चुनावमा भाग नलिने बताएका छन्। सुमनले बैशाख ३१ र जेठ ३१ गते दुवै मितिमा चुनाव हुन नसक्ने बताएका छन् ।

उनले भने,‘अहिले धेरै गञ्जागोल छ, हामी त संशोधन प्रस्ताव पारित नभएसम्म कुनैपनि निर्वाचनमा भाग लिँदैनौं ।’ उनले निर्वाचन आयोगले कमिसनको खेलमा हतारहतार गरेर मतपत्र छापेको समेत आरोप लगाए । उनले भने,‘उम्मेद्धारी भएकै छैन, तर मतपत्र हतार गरेर छाप्ने काम भयो, यो सबै कमिशनखोर हो ।’

उनले मौसमी र प्राविधिक कुराहरुको तयारीको लागि पनि चुनाव कार्तिकसम्मको लागी सार्नुपर्ने बताए । उनले माघ ७ गतेसम्म तीन तहकै निर्वाचन सम्पन्न गर्नुपर्ने भएकोले अहिले पनि केही हतार नभएको प्रतिक्रिया दिए । उनले तीन तहकै निर्वाचन कार्तिकमा गर्न सकिने बताए ।

सुमनले संविधान जारी गर्दा हतारिँदाको परिणाम अहिले भोगिरहेका दलहरुले निर्वाचन गर्नपनि हतार गर्न नहुनेबारे सचेत गराए । उनले बैशाख ३१ मा चुनाव हुनै नसक्ने ठोकुवा गरे ।

सत्तारुढ दल राप्रपाकी प्रवक्ता रोशन कार्कीले आफ्नो पार्टीले संशोधन प्रस्तावको पक्षमा मतदान गर्ने स्पष्ट पारिन् । उनले भनिन्,‘चुनावको सुनिश्चितताको लागि हाम्रो पार्टीका अध्यक्ष कमल थापाजी सरकारमा जानुभएको हो, चुनावको लागि सबै दलहरुलाई समेट्नुपर्छ, त्यसैले अहिलेको संशोधनले संविधानको सर्वस्विकार्यता बढाउने भएकोले हामी संशोधन प्रस्तावको पक्षमा मत हाल्छौं ।’

कार्कीले निर्वाचन देशभरिकै जनतालाई चाहिएको बताउँदै केही नेताहरुले विरोध गर्दैमा निर्वाचनको मिति तलमाथि गर्न नहुने धारणा राखिन् । उनले मधेशमा पनि जनताले निर्वाचन चाहेको बताउँदै थपिन्,‘आज हेर्नुहोस्, त तराई मधेशमा कत्रो संख्यामा म्यादी प्रहरीहरु भर्ना भएका छन्, यो निर्वाचनको क्रेज हो, त्यसैले निर्वाचन हुनुपर्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *