काठमाडौ २७ भदौ- संयुक्त राष्ट्र संघले उत्तर कोरिया माथि नाकाबन्दी लगाएपछि उत्तर कोरियामाथि धेरै असर पर्ने देखिएको छ । यो नाकाबन्दी पछि उत्तर कोरियालाई सामान आयातका लागि निकै गाह्रो पर्ने देखिएको छ । जस्तो कि तेल, उर्जा, कोइला र टेक्सटाइलका सामानहरुको आयात तथा निर्यातमा उसलाई गाह्रो पार्नेगरी यो नाकाबन्दी लगाइएको हो ।
त्यस्तै आणविक परीक्षणका लागि आवश्यक सामाग्री, आणविक उत्पादन र यससँग सम्बन्धित कच्चा पदार्थहरुको उत्पादन र प्रयोगमा पनि यस नाकाबन्दीले असर पार्ने देखिएको छ ।
यो नाकाबन्दीले उत्तर कोरियालाई उसका नागरिक वैदेशिक रोजगारीका लागि जाने काममा पनि रोक लगाएको छ । यस नयाँ नाकाबन्दीपछि अब उसका कामदारले बिदेशमा गएर रोजगारी पाउने छैनन् ।
यसबाट उत्तर कोरियाका ठूलो सङ्ख्याका नागरिक प्रभावित हुनेछन् । यो नाकाबन्दी लगाएपछि कुनै पनि देशले उत्तर कोरियाली नागरिकलाई बैधानिक रुपमा काममा लगाउन पाइने छैन ।
राष्ट्रसंघीय एक अधिकारीका अनुसार उत्तर कोरियाबाट हाल विश्वका विभिन्न देशमा करिब ९३ हजार नागरिक कार्यरत छन् । यसले अब उनीहरुलाई ‘वर्क परमिट’ मा रोक्नेछ ।