राजदूत थापाले बुझाए ओहोदाको पत्र

१६ भदौ, काठमाडौँ : संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी नियोगका लागि नेपाली राजदूत लोकबहादुर थापाले शुक्रबार संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससमक्ष आफ्नो ओहोदाको पत्र बुझाएका छन् ।

संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित विशेष कार्यक्रममा राजदूत थापाले ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुका साथै राष्ट्रसंघका महासचिव गुटेरेससँग शिष्टाचार भेट गरेको संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जनाएको छ । सो अवसरमा महासचिव गुटेरेसले संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी प्रतिनिधिका रूपमा राजदूत थापालाई बधाई तथा स्वागत गर्दै नेपाल–संयुक्त राष्ट्रको सम्बन्धलाई थप प्रगाढ बनाउन आवश्यक सहयोग गर्ने आश्वासन दिएका थिए ।

वर्षौंदेखि संयुक्त राष्ट्रसंघमा नेपालको भूमिकाको प्रशंसा गर्दै उनले राष्ट्रसंघका लक्ष्यहरू हासिल गर्न नेपालको समर्थन र ऐक्यबद्धताप्रति आभार व्यक्त गरे। त्यसैगरी राजदूत थापाले नेपालको विकास र शान्ति प्रक्रियामा संयुक्त राष्ट्रसंघको सहयोगका लागि राष्ट्रसंघका महासचिवलाई धन्यवाद दिँदै राष्ट्रसंघप्रति नेपालको पूर्ण सहयोग र प्रतिबद्धता दोहोर्‍याए । शान्ति, जलवायु परिवर्तन र दिगो विकास लगायतका विभिन्न क्षेत्रमा नेपालले प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले नेपाल राष्ट्रसंघसँगको सम्बन्धलाई थप मजबुत बनाउन इच्छुक रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *