भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपाल प्रहरीको हतियार खोसेर गोबिन्द गौतमको हत्या गरेको आशंका

चैत्र १ काठमाडौ,भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली प्रहारबाट कञ्चनपुरमा एक नेपालीको ज्यान गएकै दिन नेपाल प्रहरीको लोडेड पेस्तोल हराएको घटनालाई प्रहरीले लुकाएको छ ।

गत विहीबार कञ्चनपुरको पुनर्वासस्थित नेपाली भूमिमै आएर भारतीय एसएसबीले नेपाली नागरिक गोविन्द गौतमलाई गोली प्रहार गर्दा भएको हुलदङ्गामा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) माधव भट्टसँग रहेको पेस्तोल हराएको थियो ।

प्रहरी स्रोतका अनुसार भट्टसँग रहेको टाइप ७७ नामक चाइनीज पेस्तोल दोहोरो झडपका क्रममा हराएको थियो । पेस्तोलमा ७ राउण्ड गोली (एक म्याग्जीन) लोडेड थियो । जिल्ला प्रहरी कार्यालय डडेल्धुरा दरबन्दी भई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा कार्यरत भट्टसँग रहेको पेस्तोल भारतीय नागरिक र एसएसबीको टोलीले खोसेको चर्चा भए पनि नेपाल प्रहरीले यसबारे कुनै पनि आधिकारी धारणा सार्वजनिक गरेको छैन ।

पेस्तोल हराएको एक साता वितिसक्दा पनि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले यसबारे प्रहरी प्रधान कार्यालय, क्षेत्रिय प्रहरी कार्यालय र अञ्चल प्रहरी कार्यालयलाई समेत जानकारी गराएको छैन । ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती कञ्चनपुरका प्रहरी नीरिक्षक दलुराम टमाटाले पेस्तोल खोसीएको स्वीकार गरे । ‘दोहरो झडप भइरहेको थियो, भारतीयहरुले त्यही बेला पेस्तोल खोसेर लगेको कुरा छ, ’ टमाटाले भने । तर, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरिक्षक (एसपी) प्रकाश चन्दले भने यो प्रकरणबारे बताउन चाहेनन् । उनले भने, ‘अहिले यो विषयमा मलाई धेरै थाहा छैन, डिएसपीलाई सोध्नुस, तपाईसँग भेटेर कुरा गरौंला ।’

नेपाल प्रहरीको विशेष स्रोतका अनुसार भारतीय प्रहरीले नेपाल प्रहरीको पोस्तोल खोसेर नेपालीमाथि नै प्रहार गरेको बुझिन्छ । घटना भएको दिन बिहीबार भारतीय एसएसबीले सात राउण्ड फायर गरेको थियो । जसमध्येको एक गोली नेपाली नागरिक गौतमलाई लाग्यो र उनको मृत्यु भयो । एसएसबीले हवाई फायर गर्नु अगाडि नै नेपाल प्रहरीको पेस्तोल खोसिएको थियो । र, उक्त फायरिङमा नेपाल प्रहरीको खोसिएको पेस्तोल नै प्रयोग भएको हुन सक्ने आशंका पनि गरिएको छ ।

नेपाल प्रहरीले प्रयोग गर्ने टाइप ७७ चाइनिज पेस्तोलमा ७.६२ एमएम साइजको गोली प्रयोग हुन्छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले प्रयोग गर्ने इन्सासमा ५.५६ एमएम साइजको गोली प्रयोग हुन्छ । पुनर्वासमा गोली चलेको तेस्रो दिन गत शनिबार भारतीय विदेश मन्त्रालयले विज्ञप्ती जारी गरी नेपाल सरकारबाट मृतक गौतमको पोस्टमार्टम रिपोर्ट माग्नुले पनि उक्त गोली काण्डमा नेपाल प्रहरीको खोसिएको पेस्तोल प्रयोग भएको हुन सक्ने आंशका गर्न सकिन्छ ।

सुरक्षा संगठनमा हतियार हराउनुलाई गम्भीर कुरा मानिन्छ । तर कञ्चनपुर प्रहरीले यो घटनालाई किन लुकायो ? यो झन आशंका र आश्चर्यको विषय बनेको समाचार राप्ति टुडेमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *