काठमाडौं २६ जेठ- प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको दोश्रो निर्वाचन अगाडि संविधान संशोधन गर्न नसकिने सिधा जवाफ दिएका छन्। मधेशमा आधारीत राजनीतिक दलका नेताले संसदमा संविधान संशोधनमा सहमतिअनुसार काम नभएको भन्दै आलोचना गरेपछि देउवाले निर्वाचनअघि संशोधन हुन नसक्ने बताएका हुन्। दोश्रो चरणको चुनाव सकिनासाथै प्रतिपक्षी दलसँग कुरा गरेर संशोधन गर्ने प्रधानमन्त्री देउवाले बताएका छन् । प्रधानमन्त्री देउवाले संविधानमा विपक्षीको व्यवस्था भएपनि कतिपय विषयमा दलहरु एकठाउँमा आउनुपर्ने बताए।
‘सबैको सरकार भए पनि नभए पनि सरकार र सम्पूर्ण नेपालीलाई व्यापक सहमति आवश्यक छ। हाम्रो देशमा हिमाल छ पहाड छ मधेश छ। भौगोलिक विविधता छ। त्यस्तै हाम्रो देशमा धेरै जनजाति छन्। सबैको देश हो। कतिपय कारणले पछाडि परेको अवस्था पनि छ। यी सबै कुरा गर्नका लागि संविधान बनाएका छौँ। हामी सबै पार्टीको संविधान मिलेर संविधान कार्यान्वयन गर्न जरुरी छ। मधेशी भावना अनुसार संविधान संशोधन आवश्यक छ।’
प्रधानमन्त्री देउवाले मधेश केन्द्रित दलहरुसँग संविधान संशोधन पास गराएरै छाड्ने प्रतिबद्धता समेत व्यक्त गरे। ‘स्थानीय तहको पहिलो निर्वाचन अगाडि संशोधन गर्न सकिने अवस्था देखेको छैन। पछाडि गरौं। मधेश केन्द्रित दलहरुलाइ आग्रह गर्न चाहान्छु हामीले चाहँदा चाहँदै पनि गर्न सक्ने अवस्था बनेनभन्दै चुनावमा सहभागी बनेर सफल बनाउन आग्रह गरेका छन् ।