डा.गोविन्द केसीको आमरण अनशन वेवास्ता गर्दै नयाँ मेडिकल कलेजलाई सम्बन्धन प्रदान

काठमाडौ ४ भदौ- काठमाडौँको प्रस्तावित नेशनल मेडिकल कलेजलाई त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिषद्ले सम्बन्धन दिएको चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम_ लाई जानकारी नगराएको डिन डाक्टर जगदिशप्रसाद अग्रवालले बताएका छन्।

डा. गोविन्द केसी अनसनमै रहेको बेला त्रिविले नेशनल कलेजलाई सम्बन्धन दिएको हो। चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) विद्यापरिषद् २०७० को निर्णयविपरीत र चिकित्सा शिक्षा ऐन नआएसम्म सम्बन्धन नदिने मन्त्रिपरिषद्को निर्णय विपरीत नेशनल कलेजले सम्बन्धन पाएको हो। २०७० सालमै क्षमता नभएको भन्दै आइओमले नेशनल कलेजलाई सम्बन्धन दिन रोक लगाएको थियो।

‘नेशनल कलेजले सम्बन्धन पाउनुअघि र पाएपछि मलाई जानकारी गराएको छैन। हामी नेशनल कलेजको सम्बन्धनको पक्षमा पनि छैनौँ,’ डाक्टर अग्रवालले भने, ‘अब के हुन्छ र के हुन लागेको मलाई जानकारी छैन।’

केसीका वार्ता टोलीका सदस्य अभिजित सिंहका अनुसार नेशनल कलेजको सम्बन्धन प्रक्रिया विवादित रहेको थियो। आइओएम नेशनल कलेजको सम्बन्धनको विपक्षमा थियो। त्रिवि उपकुलपति तीर्थ खनिया नियुक्त भएपछि नेशनल कलेजलाई सम्बन्धन दिनको लागि आइओएमलाई पटक पटक दबाब दिँदै आएका थिए।

‘नेशनल कलेजले मेडिकल कलेज सन्चालन गर्न भौतिक पूर्वाधारहरु पुगेका छैनन्। अहिले पनि नेशनल कलेजको अपार्टमेन्ट ताला लगाएर राखिएको छ,’ सिंहले भने, ‘अब यो विषयमा के गर्ने भन्नेबारे हाम्रो छलफल हुन बाँकी छ। केही मिडियामा डा केसी अनसन बस्ने कुरा आएको छ। हामी उहाँलाई रोक्न सक्दैनौँ। तर, डा केसीको मागलाई साथ सहयोग गर्ने सबैसँग छलफल गरेपछि मात्रै कसरी अघि बढ्ने थाहा हुन्छ।’ डा सिंहका अनुसार डा केसीले तत्कालै अनसन बस्ने सम्भावना छैन।

नेशनल मेडिकल कलेजले सम्बन्धन पाएको धेरै दिनपछि थाहा पाउनु आश्चर्य रहेको बताउँछन् डा. जीवन क्षेत्री। ‘उक्त सम्बन्धन हामीलाई मान्य छैन। यो समाचारले हामीलाई अचम्म बनाएको छ,’ क्षेत्री भन्छन्, ‘यो सरासर गलत हो। यो सम्बन्धनले सबैलाई अचम्म बनाएको छ।

यस्तो छ नेशनल कलेजको विवाद
२०७० सालमा डाक्टर प्रकाश सायमी त्रिविको डिन हुँदा थप मेडिकल कलेजलाई सम्बन्धन दिने क्षमता नभएको भन्दै बन्द गरिएका थिए। २०७० सालमै त्रिविका उपकुलपति हीराबहादुर महर्जनसहितका पदाधिकारीहरुले आफै सूचना निकालेर सम्बन्धन लिन आह्वान गरी चार वटा मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रिया अघि बढाएका थिए। तर, आइओएमले त्रिविको उक्त प्रतिवेदन नियमविपरीत भन्दै बैठकमा लगेन।

२०७० कात्तिक २७ मा आइओएमकै प्राध्यापक डाक्टर कविरनाथ योगीले सञ्चालनमै नआएको उक्त शिक्षण अस्पतालमा बिरामी भरिभराउ रहेको प्रतिवेदन प्रस्तुत गरेका थिए।

नेशनल कलेजका सञ्चालक जैनुद्दिन अन्सारीले कलेजले सम्बन्धन पाउनुपर्ने माग राख्दै सर्वोच्चमा रिट दायर गरेका थिए। ‘कलेजको सम्बन्धन विषयमा यथासमयमै निर्णय नगरी राख्नु वैध अपेक्षाविपरीत हुने हुनाले सम्बन्धन दिने विषयमा कानुनबमोजिम निर्णय गर्नू’ भन्दै सर्वोच्चले २०७१ भदौ ३१ गते परमादेश जारी गरेको थियो।

त्यसपछि कलेज सञ्चालक र आइओएमबीच पटक-पटक यस विषयमा विवाद भएको थियो। नेशनल कलेजले सर्वोच्चको आदेश भन्दै सम्बन्धन लिन पटक-पटक लबिङ गर्दै आएको समाचार पहिलो पोस्टले लेखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *