गौतम बुद्ध विमानस्थल निर्माणले गति लियो, एक बर्षभित्र निर्माण सम्पन्न गरिने

लुम्बिनी – पटक पटकको अवरोध हुदै आएको भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्यले अहिले गति लिएको छ । गत वर्ष भएको मधेश आन्दोलन, नाकाबन्दी, आयोजना र ठेकेदार कम्पनीबीचको विवादका कारण बेला बेला उत्पन्न भएका अवरोधले निर्माण कार्य बिथोलिँदै आएकोमा आयोजनाले नेपाली ठेकेदारलाई विदाइ गरिसकेको छ।

अब चिनिया कम्पनी आफैंले पर्याप्त जनशक्ति थपेर कामलाई तीव्रता दिएपछि विमानस्थल निर्माण समयमै सम्पन्न हुनेमा आशा पलाएको हो । तीन वर्ष अर्थात २०७४ पुस मसान्तभित्र निर्माण कार्य सम्पन्न भइसक्नु पर्ने गरी आयोजना र ठेकेदार कम्पनीबीच सम्झौता भएपनि विभिन्न अवरोधका कारण अहिलेसम्म समग्रमा ३५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।

अहिलेसम्म प्रशासनिक भवन, इलेक्ट्रिक सवस्टेशन, सुरक्षा भवनको ‘फिनिसिङ’ बाहेकको निर्माण कार्य सकिएको छ भने अन्तराष्ट्रिय टर्मिनल भवनको पहिलो तल्लाको काम लगभग सकिनै लागेको छ । अहिले ३ किलोमिटर लम्बाइ रहेको धावन मार्गको निर्माण कार्यअन्तर्गत सव बेस लेयर हाल्ने काम शुरु भएको छ । धावन मार्गको ३५ प्रतिशतभन्दा बढी काम सकिएको छ भने माटो फिलिङसहित दुई फुट बाक्लो प्रि–सव बेसको काम सम्पन्न भएको छ।

अब वेस र पीचको काम मात्रै बाँकी रहेको छ । त्यसैगरी, अग्नि नियन्त्रण कक्षको पहिलो तल्लाको काम पनि भइरहेको छ । आठ तल्ला अग्लो कन्ट्रोल टावरको काम पनि तीव्र गतिका साथ भइरहेको र वैशाखभित्र यी सबै भौतिक संरचनाको काम ५० प्रतिशतभन्दा बढी सकिने बताईएको छ ।

विमानस्थल निर्माण कार्यअन्र्तगत अहिले निर्माण भइरहेको धावन मार्ग १ दशमलव २५ मिटर उचाइ, ३ हजार मिटर लम्बाइ तथा ७० मिटर चौडाइको हुनेछ । चौडाइतर्फ दुबै किनारमा १५–१५ मिटर छाडिने छ । तीन हजार मिटर लामो धावन मार्गको दुवैतिर ३००-३०० मिटर विमान सुरक्षाका लागि रन वे एण्ड सेफ्टी एरिया (रेसा) निर्माणको पनि काम भइरहेको छ जुन काठमाडौँमा अहिले आएर मात्रै बनाइदै छ।

पूर्वाधार आयोजना अन्तर्गत एशियाली विकास बैंकको अनुदान तथा कर्जामा गौतमबुद्ध विमानस्थलको स्तरोन्नति गर्न नेपाल सरकारले चिनिया कम्पनी नर्थवेस्ट सिभिल एभिएशन विमानस्थल निर्माण समूहलाई ग्लोबल टेण्डरमार्फत ठेक्का दिएको हो। मूल्य अभिवृद्धि करसहित कूल करार मूल्य ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २८ रुपैयाँ रहेकामा एशियाली विकास बैंकको १८ प्रतिशत अनुदान तथा ४० दशमलव ५ प्रतिशत कर्जा रहेको छ । यसैगरी, अन्तर्रा्ष्ट्रिय विकासका लागि ओपेक कोषबाट प्राप्त ३० दशमलव ५ प्रतिशत कर्जा र नागरिक उड्डयन प्राधिकरणको ११ प्रतिशत लगानीबाट विमानस्थल निर्माण हुदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *