एउटा कलाकारले सृजना मार्फत समाज संग जोडिनु संगै हरेक बिषयको विश्लेषण गर्दै प्रत्यक्ष रुपमा जोडिनु पनि आवश्यक्ता छ :गायक रुपकुमार राई

rup kumar२०३६ साल फागुन ५ गते बाबु टेकबहादुर राई र आमा ईन्द्र कुमारी राईको कोख बाट कान्छो छोरोको रुपमा टेम्मा ५ खोटाङ्गमा जन्मिएका हुन् गायक रुपकुमार राई ।भुतपुर्ब भारतीय गोर्खा सैनिकका कान्छा छोरा रुपकुमारको साईला दाजु पनि ब्रिटिस आर्मीमा कार्यरत हुनुहुन्छ । घरको कान्छो छोरो भएकैले सबैको माया र ममताले सानोमा पुलपुलिएको हुनुहुन्थ्यो रुपकुमार राई । गाउँमा रोपाई गर्दा होस् या कोदो रोप्दाहोस् । बिउ छर्दाहोस् या मकै गोड्दाहोस् , मेलामा जानै पर्छ । अर्मपर्म, खेताला घाँस दाउरा गर्ने पर्छ । तर गाउँमै जन्मिए पनि खासै दुख गर्नु पर्दैन थियो त्यो बेलामा रुपकुमार राईले । घर नजिकैको श्री शान्ति प्राबि(हाल माबि ) बरडाँडामा एक कक्षामा भर्ना भएर पाँच कक्षा सम्म त्यहीँ पढ्नु भयो । कक्षा पाँच सम्मको पढाई शान्ति प्राबि बाट पुरा गरेपछि श्री कृष्ण माबि टेम्मामा भर्ना हुनुभयो । त्यहीँ कृष्ण माबि टेम्मा बाट एसएलसी पास गर्नु भयो । रुपकुमार राईले एसएलसी पश्चात सदरमुकाम दिक्तेलमा उच्च शिक्षाको लागि क्याम्पस हुदाहुदै पनि संगीत प्रतिको मोहले गर्दा काठमाडौ तिर लाग्नु भयो ।

गाउँ घरमा हुने देउसी भैलो र सांस्कृतिक कार्यक्रममा गीत गाउन सधै अगाडि बढ्नु हुन्थ्यो । रुपकुमार राई गाउन मात्र हैन, गाउँमा हुने सांस्कृतिक कार्यक्रमको नायक नै हुनुहुन्थ्यो । उहाँ जति मिठो गीत गाउनु हुन्थ्यो त्यो भन्दा धेरै राम्रो नृत्य पनि गर्नु हुन्थ्यो । एक पटक गाउँमा सांस्कृतिक कार्यक्रमको लागि रिहल्सन गरिरहदा एकजना काकाले “लु यो रुपकुमारको स्वर राम्रो छ,अझ मिलाएर गाउदै अगाडि बढ, पछि तिमी राम्रो गायक बन्न सक्छौ” भनेको कुरा आजपनि रुपकुमार राई सम्झनु हुन्छ । गायक बन्नु र अहिले सम्मको सफलताको प्रेरणाको स्रोत मध्ये त्यो क्षणहरुलाई पनि महत्वपुर्ण रुपमा सम्झनु हुन्छ रुपकुमार राई ।

श्री कृष्ण माबि टेम्मा बाट एसएलसी पास गरे पश्चात पढाईको शिलसिला संगै सांगीतिक अवसरको खोजीमा काठमाडौ लाग्नु भयो। काठमाडौ पुगेर सबै भन्दा पहिला डोरेमी संगीत पाठशालामा गुरुदेव कामत संग संगीत सिक्न शुरु गर्नुभयो । डोरेमी संगीत पाठशालामा संगीत तेस्रो बर्षको अध्यायन पश्चात गुरु गुरुदेव कामतले गुरुकुल संगीत पाठशाला बागबजारमा खोले पश्चात त्यहीं गुरुकुल संगीत पाठशालामा छैटौ बर्ष सम्मको ईलाहाबाद सास्त्रीय संगीतको अध्यायन गर्नु भयो । संगीत भन्दा अरु कुनै पनि विषयलाई प्राथमिकतामा राख्न नचाहेकोले गर्दा आफ्नो पढाईलाई पनि खासै अगाडि बढाउन नसकेको बताउनु हुन्छ रुपकुमार राई । पाटन संयुक्त बहुमुखी क्याम्पस बाट ब्याचलर सम्मको अध्यायन गरेका गायक रुपकुमार राई, सांगीतिक दौडानको कारणले गर्दा नै पढाईलाई अगाडी बढाउन नसकेको महसुस गर्नुहुन्छ ।

पहिलो गीत “यादै मिठो भन्छन सबैले” तुलसी बस्नेतको शब्द रचना र बशन्त मुकारुङ्गको संगीतमा रेडियो नेपालको मल्टि ट्रयाक स्टुडियोमा २०५७ सालमा रेकर्ड गराउनु भयो रुपकुमार राईले । त्याँहा बाट शुरु भएको रुपकुमार राईको गायन यात्रा आज सम्म आईपुग्दा ६ वटा एकल एल्बम र ५०० वटा जति गीतमा आफ्नो स्वर रेकर्ड गराई सकेका छन् । रुपकुमार राईको पहिलो एल्बम “मनको देउराली” दोस्रो एल्बम “साक्षी” तेस्रो एल्बम “सामिप्य” चौथो एल्बम “राम साईली” पाचौ एल्बम “सार” हो भने छैटौ एल्बम “रुप” हो ।

लाहुरे पृष्ठभूमिमा जन्मी हुर्किए पनि सानै देखि रुपकुमार राई जहिल्यै गायक बन्ने सपनामै हुनुहुन्थ्यो । आफू लाहुरे नबने पनि बुबा भारतीय सेनामा रहँदा दूइ वटा युद्ध लड्नु भएको, दाजुले ईराक र अफगानिस्तानमा युद्ध लड्नु भएको, उहाहरुले ति रणभूमिहरुमा देखे भोगेका ति अनुभूतिहरु र कहानीहरु सुनाउनु भएकोले गर्दा आफू पनि लाहुरे नै भएको जस्तो महसुश पनि गर्नु हुन्छ रुपकुमार राई । बेलायतमा रहनु हुने दाजु भारत राई र बहराईनमा हुनु हुने दाजु रामकुमार राईले “हामी पनि पैसाको निम्ति नै दुख गर्दै छौं, पैसाकै पछि मात्र कति लाग्ने त ? तिम्रो ईच्छा त्यस्तो छ र क्षमता राख्छौ भने तिमी चाही गीत संगीतमा नै लाग, मेहनत् गर्नु राम्रो गर्नु” भन्नु भएपछि अझ पूर्णरुपमा आत्मविश्वास सहित हौशिएर संगीत क्षेत्रमा लागेको बताउनु हुन्छ रुपकुमार राई ।

काठमाडौमा ल्याएर अध्यायन संगै संगीत सिक्ने र पहिलो र दोस्रो एल्बम सम्म दाईहरुले नै लगानी गरीदिनु भएको बताउनु हुन्छ रुपकुमार राई । तर समयको क्रम संगै पछि आएर बहराईनमा रहनु हुने जेठा दाईको निधनले जिवनमा ठूलो चोट पुगेको र आफुलाई आत्मबल र मानसिक रुपमा निक्कै समय कम्जोर बनेको महशुस गर्नु भयो रुपकुमार राईले । बिचको समयमा रुपकुमार राईले स्कुलमा संगीत शिक्षकको जागिर र बागेश्वरी संगीत पाठशाला चलाउनु भएको थियो । २०६३ सालमा मोरंग लेटाङ्गकी पञ्चमाया राई संग वैवाहिक जिवनमा बाधिनु भएको रुपकुमार राईको हाल दूइ छोराहरु छन् । दिव्यज्योति पोली क्लिनिक संचालन गर्दै आउनु भएको गायक रुपकुमार राई हिल्टोन म्युजिक सेन्टर प्रालीको महा प्रबन्धक पनि हुनुहुन्छ । समाज सेवामा निक्कै चासो राख्ने रुपकुमार राई खोटाङ्ग महा समाजको उपाध्यक्ष समेत रहनु भएको छ । अहिलेको समय एउटा कलाकारले गीत संगीत वा सृजना मार्फत समाज संग जोडिने र योगदान पुर्‍याउने संगै हरेक बिषयहरुको विश्लेषण गर्नु र प्रत्यक्ष रुपमा जोडिनु पनि अहिलेको समयको आवस्यकता ठान्नु हुन्छ ।

नेपाली गीत संगीतको क्षेत्रमा पछिल्लो पुस्ताको सम्भावना बोकेको क्षमतावान गायकको रुपमा इन्डस्ट्रिज भित्र आफ्नो पहिचान बनाए पनि चर्चामा आउनलाई मरिहत्य नगर्ने गायक भनेर पनि चिनिनु हुन्छ रुपकुमार राई । किरात समुदायमा शम्भु राई, राजेश पायल राई पछाडिको चर्चित गायकको रुपमा पनि हेर्ने गरिएको छ गायक रुपकुमार राईलाई । अहिलेको सांगीतिक बजारको बारेमा मुख्य कुरा प्रबिधिको विकासलाई ब्यबस्थापन गर्नु कलाकारहरुको लागि ठूलो कुरा रहेको छ, जुन ब्याबस्थापनले स्रस्टा सर्जक कलाकारहरुको सृजना बाट आउने आर्थिक स्रोत ब्याबस्थित हुनु संगै स्वस्थ प्रतिस्पर्धा र सृजनाको स्तर उन्नति हुने बताउनुहुन्छ गायक रुपकुमार राई ।

हंगकंग, कुवेत, कतार, मलेशिया लगायत अन्य देशमा सांगीतिक कन्सर्टको लागि पुगी सकेका गायक रुपकुमार राईले नेपालको विभिन्न ठाउँमा सांगीतिक कार्यक्रमको लागि गईरहनु हुन्छ । पछिल्लो एल्बम “रुप”को सफलता संगै अहिले स्टेज प्रोग्राम र गीत रेकर्डिङ्गमा ब्यास्त हुनु भएका गायक रुपकुमार राईले अब आउने नयाँ एल्बमको गीत छनौटको काम पनि अगाडि बढाई रहनु भएको बताउनु हुन्छ ।

प्रस्तुति : ईन्द्र जिजीबिषा

Leave a Reply

Your email address will not be published. Required fields are marked *