आधुनिक मौरीपालनको सीप सिक्दै काभ्रेका कृषकहरू

काभ्रे, २३ पुस- ढुङ्र्कको खड्बलेका अगुवा कृषक कृष्णलाल श्रेष्ठको घरमा एकहुल मानिसहरू एकचित्त भएर भर्खरै घारबाट निकालिएको चाकामा रानी मौरी खोज्दै थिए । केही बेरमै एकजना व्यक्तिले चाकाको बिचमा रहेको एउटा मौरीलार्इ देखाउँदै भने ‘यही हो रानी मौरी ।’

त्यसपछि कोही मोबाइलले फोटो-भिडियो खिच्न थाले । कोही भने तन्कीतन्की कस्तो हुँदो रहेछ रानी मौरी भनेर हेर्दै थिए । बेथानचोक गाउँपालिकाको आयोजना र ग्रामिण प्रविधि केन्द्र नेपालको प्राविधिक सहयोगमा वातावरणमैत्री गाउँ विकास कार्यक्रमअन्तर्गत सञ्चालित पाँच दिने आधुनिक मौरिपालन तालिमका दौरान देखिएको दृष्य हो ।

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाको भवनमा
आयोजित आधुनिक मौरिपालन तालिमको सहजिकरण मौरि पालेर विश्व किर्तिमान समेत बनाइसकेका र लेखनाथमा आफ्नै मौरीपालन उद्योग समेत सञ्चालनमा ल्याएका सुर्यप्रसाद लामिछानेले गरेका थिए । तालिममा सहभागीहरूलार्इ सैद्धान्तिकका साथै स्थलगत अवलोकनमा लगि व्यावहारिक ज्ञान समेत दिइएको थियो । मौरीको परिचयबाट शुरू भएको तालिममा नेपाल र यहाँका भौगोलिक वातावरणमा रहेको मौरीको अवस्था, मौरीपालनका बेला आउने समस्याहरूको समाधानका उपाय, कृषकको इच्छाअनुसार मौरीलार्इ नियन्त्रण गरी धेरैभन्दा धेरै मह उत्पादन गर्ने तरिका, रोगकिराको व्यवस्थापन, महको बजारिकरण जस्ता विषयवस्तुहरू समेटिएका थिए ।

ढुङ्खर्कका स्थानीय कृषकहरूले परम्परागत रूपमा मुढामा, घरको भित्ता वा खोपामा मौरीपालन गर्दै आएका छन् । यसरी स्थानीय स्तरमा उपलव्ध साधन र स्रोतको प्रयोग गरी परम्परागत तरिकाबाट हुँदै आएको मौरीपालनलार्इ अझ कसरी व्यवस्थित तरिकाले गर्न सकिन्छ भन्ने कुरालार्इ ध्यानमा राखि यो तालिमको आयोजना गरिएको हो । तालिममा ४४ जनाको सहभागीता रहेको थियो ।

मौरीले परागशेचन गरी प्रकृति र वातावरणलार्इ सन्तुलित राख्न महत्वपूर्ण भूमिका खेल्दछ । पछिल्लो समयमा धेरै स्थानीय कृषकहरू व्यावसायिक तरकारी खेती तथा उत्पादनमा लागेका छन् । तरकारी उत्पादनका क्रममा विषादीको प्रयोग बढ्दो छ । मौरीपालन गर्नेको संख्या बढ्दै जाने हो भने विषादी प्रयोगसमेत घट्ने र यसले वातावरण सन्तुलनमा सहयोग पुर्याउने कुरा ग्रामिण प्रविधि केन्द्रका कार्यक्रम अधिकृत सुवास लामिछानेले बताए ।

‘घरमा मौरी पाल्दा घरको सुन्दरता बढ्ने भयो । मह खान पाइने भयो । अझ एकदुर्इवटा मौरीले टोकेमा औषधी समेत हुने रैछ । यो तालिमबाट आधुनिक तरिकाबाट कसरी धेरै मौरी पाल्न सकिन्छ भनेर सिक्न पाउँदा धेरै खुशी लागेको छ’, तालिममा सहभागीमध्येका एक चरिमाया तामाङले आफ्नो अनुभव सुनाइन् । ‘आफू जन्मेदेखि अहिलेसम्म मौरी खेलाउँदै आएको हुँ । बिचमा मौरीहरू लोप भएका थिए । जसको मुख्य कारण हामीले तरकारी बालीमा छर्ने बिषादी, उनीहरूको वासस्थानमा गरिएको फोहोर र उनीहरूलार्इ दिने खानेकुरामा भएको गडबडी रहेछ । यो तालिमबाट ती कुराहरू थाहा पाएँ । अब त्यसलार्इ व्यवहारमा उतारी अब आउने पुस्तालार्इ समेत ज्ञान बाड्न सक्ने भएको छु,’ तालिमका सहभागी भएका विष्णुप्रसाद तिमिल्सिनाले हौसिंदै सुनाए ।

ग्रामिण प्रविधि केन्द्र (सीआरटी) को पहलमा वातावरणमैत्री गाउँ विकास कार्यक्रम विगत डेढ वर्षदेखि नमूनाको रूपमा काभ्रे जिल्लाको च्याम्राङ्वेशी, ढुङ्खर्क, र चलाल गणेशस्थान गाउँमा सञ्चालन भइरहेको छ । संस्थाले यस क्षेत्रमा स्थानीय साधन, स्रोत, श्रम र सीपको प्रयोग गरी नविकरणीय उर्जा, कृषि, वन तथा वातावरण संरक्षण, सरसफार्इ एवं फोहोर व्यवस्थापन जस्ता वातावरणमैत्री विभिन्न गतिविधिहरूको प्रवर्धन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *