अदालतले दोषी ठहर गरेको अपराधी प्रहरीको संरक्षणमा भन्दै पीडितले गरे यस्तो याचना

काठमाडौं, १४ माघ – नेपाल तरुण दल धनुषा जिल्ला जनकपुर उप–महानगरपालिकाका नगर सभापति प्रकाश मिश्रले आफ्नो ज्यान खतरामा रहेको भन्दै सुरक्षाको प्रत्याभूति गराउन सरकारसँग माग गरेका छन् ।

आफूमाथि संघातिक आक्रमण गरी मरणासन्न हुने गरी कुटपिट गर्ने जीवनाथ चौधरीलाई अदालतले दोषी ठहर गरे पनि प्रहरी प्रशासनले संरक्षण दिएको मिश्रले आरोप लगाएका छन् ।

आईबार रिपोर्टर्स क्लब नेपालमा मिश्रले पत्रकार सम्मेलन गरेर जिल्ला अदालत धनुषाले पुस ७ गते ज्यान मार्ने अभियोगमा पक्राउ गर्न आदेश दिएको दोषी जीवनाथ चौधरी खुलेआम हिँड्ने र आफलाई अझै धम्की दिइरहने गर्दा पनि प्रहरी प्रशासन मौन बसेको उनको आरोप छ ।

गत मंसिर २ गते राती १० बजे जीवनाथ चौधरीको नेतृत्वले प्रकाश मिश्रमाथि सांघातिक आक्रमण गरेका थिए । पीडित मिश्रले भने, ‘मेरो जीवन अझैपनि खतरामा छ, प्रहरी प्रशासन अपराधीसँग घाटी जोडिरहेको छ, प्रहरी प्रशासनबाट सुरक्षा र न्याय नपाएपछि पत्रकार सम्मेलन गर्न बाध्य भएको हुँ ।’
उनले भने, ‘म मात्रै होईन मेरो घर परिवारलाई समेत आतंकित पार्ने, ज्यान मार्ने अपहरण गर्ने धम्की दिदै आएको छ, त्यस्तो व्यक्ति खुलम खुल्ला हिँडिरहेको छ, जसलाई अदालतले दोषी ठहर गरेको छ, पक्राउन गर्न आदेश दिएको छ, तर प्रहरी प्रशासन उनै दोषीसँग उठबस गरिहरको छ, यस्तो स्थितिमा मैले कुन निकायबाट न्याय पाउने ?’

पीडक भनिएका जीवनाथ चौधरीलाई विषेश अदालत काठमाडौंलेसमेत भष्टाचारी ठहर गरेर ४ महिना कैदसँगै ४ लाख रुपैया जरिवाना तोकेको बताउँदै पीडित मिश्रले भने, ‘उ एक भष्ट्रचारी हो, मैले भष्ट्रचारको बिरोध गरे, गुठिको जग्गा खरिद विक्र गर्न पाईदैन भनेँ, त्यसपछि झन मलाई ताकेर आक्रमण गर्ने, परिवारलाई मार्ने अपहरण गर्ने धम्कि दिन थाल्यो ।’

उनले अघि थपे, ‘मंसिर २ गते मेरो पेटमा छुरा हानेर घाईते बनायो, गुण्डाहरु लगाएर मार भन्यो, परेको आफु म बेहोर्छु भन्यो । केही मान्छे लगाएर मराणाशन्न हुने गरी कुटे । म बेहोस भईसकेपछि प्रहरीले मलाई नर्भिक अन्तराष्ट्रिय अस्पताल लग्यो । उपचार भयो ।
“धन्नै भाग्यले बाँचियो । उपचारका क्रममा १० लाख जति रुपैया खर्च भएको छ, मेरो एउटै माग दोषीउपर कानुन बमोजिम कारबाही हुनुपर्यो ।” मिश्रले भने ।
मिश्रले पत्रकार सम्मेलनमा प्रस्तुत गरेको प्रेस विज्ञप्तिको पूर्ण पाठ

प्रेस–विज्ञप्ति
मिति : २०७४ माघ, १४
आदरणीय पत्रकार मित्रहरु,

मिति २०७४ मंसिर २ गते प्रमुख योजनाकार जीवनाथ चौधरी भन्ने कूख्यात अपराधी तथा विशेष अदातलबाट भ्रष्ट ठहर भएका व्यक्तिले मेरो हत्या गर्ने उद्देश्यले म उपर संगठित रुपमा सांघातिक हमला गरी मलाई मरणाशन्न बनाए ।

निज चौधरीकै अरोहटमा मेरो पेटमा गहिरो घाउ हुने गरी ऋतिकराज अग्रवालले छुरा प्रहार गरे । निजका सहयोगिहरु आशतोष झा (शशीभुषण झा) नवोदित झा, पंकज महतो र बालकृष्ण अग्रवालहरु सामेल थिए । काठमाण्डौको नर्भिक अस्पतालमा मेरो झण्डै दुई हप्ता जति सघन उपचार भयो । म भाग्यले बल्ल बल्ल बाँचे । सोही क्रममा धनुषा जिल्ला अदालतमा मैले उनीहरुउपर मुद्दा हालेँ । माननीय न्यायाधिश बासुदेव पौडेलज्यूले निज जीवनाथ चौधरीलाई प्रमुख योजनाकार ठहर गर्दै निज आरोपीहरुलाई खोजीको सूचिमा राख्ने र पूर्पक्ष गर्नुपर्ने फैसला गर्नुभयो ।

आदरणीय पत्रकार मित्रहरु,
बिडम्बना के छ भने ति अपराधीहरु खुला साँढे जस्तै जनकपुरको बजारमा डुलिरहेका छन् । उनीहरु विभिन्न कार्यक्रम तथा मञ्चहरुमा सहभागिता पनि जनाइरहेका छन् । उनीहरु फेरी मलाई ज्यान मार्ने तथा छोराछोरीको अपहरण गर्ने धम्कीहरु विभिन्न माध्यमबाट दिइरहेका छन् । मुद्दा फिर्ता गर नभए सबैलाई सिध्याइदिन्छु भन्ने धम्कीले मेरो परिवारको चिन्ता बढेको छ ।

तर प्रहरी प्रशासन निर्लज्जतापूर्वक मौन बसेको छ । स्वयम् निज जीवनाथ चौधरीको भ्रष्टाचारको मुद्दामा तारेख लिन आउँदा माघ १० गते हाजिर हुँदा पनि प्रशासनले निज चौधरीलाई समात्ने र कारबाही गर्ने प्रयास गरेन । प्रहरी प्रशासन र निज जीवनाथ चौधरीको होटलमा सँगै बसेर रक्सी खान र चाकडि गर्न जाने गरेका छन् ।

न्यायपालिकाको निर्णयलाई अपहेलना गर्दै अपराधीलाई नै संरक्षण गर्ने प्रहरी प्रशासनको गतिछाडा र निर्लज्ज व्यवहारले जनकपुरका आम जनता आश्चर्यचकित भएका छन्, र डराएका पनि छन् ।

आदरणीय पत्रकार मित्रहरु,
आदालतको आदेशलाई नै खिल्ली उँडाउँदै अपराधीलाई नै जोगाउने र आर्थिक लेनदेन गर्ने जुन घिनलाग्दो कार्य भइरहेको छ, जसमा म जस्तो सर्वसाधारण मान्छेले न्याय खोज्न कहाँ जाने ?

अब मेरो अन्तिम साहारा तपाइहरु नै हो । मलाई न्याय चाहिएको छ । म सम्पूर्ण पत्रकार मित्रहरुलाई के आग्रह गर्न चाहन्छु भने ममाथि भएको अन्यायलाई सहानुभतिपूर्वक संप्रेषित गरी प्रहरी प्रशासनलाई बाध्य बनाई निज अपराधीहरु उपर कारबाही गर्नु गराउन विनम्र आग्रह गर्दछु ।

यसै प्रेस विज्ञप्तिमार्फत अदालतको ठहर तथा अन्य प्रमाणहरु पनि पेश गरेको छु ।

तपाईहरुको
प्रकाश मिश्र
जनकपुरधाम ८, धनुषा
मिति २०७४ माघ १४

Leave a Reply

Your email address will not be published. Required fields are marked *