अटोग्राफ़मा सायरी लेख्दा लेख्दै साहित्यमा रुचि बढ्यो : जानु काम्बाङ्ग लिङ्ग्देन(सुकु)

januसाहित्य संगीत र कलालाई कुनै चिजले छेक्न सक्दैन । साहित्य संगीत र कलाको न भूगोल हुन्छ, न सिमा न परिधि । हिजोका दिनहरुमा केन्द्रिकृत साहित्य सृजना आज मोफसल हुदै, डायस्पोरा पुगेको छ । साहित्य सृजना केन्द्रमा मात्रै उत्कृष्ट हुन्छ भन्ने भ्रम आज कसैमा छैन । देश बाहिर पनि,ठुला ठुला साहित्यिक संघ संस्थाहरु खुलेका छन् । संग्रहनीय र उदाहरणिय साहित्यिक पुस्तकहरु प्रकाशित भएका छन् । देश बाहिर रहेर पनि, साहित्यिक सृजनामा सक्रिय रहेका विभिन्न ब्याक्तिहरु मध्य, एक हुन् जानु काम्बाङ्ग लिङ्ग्देन(सुकु) । शिविरमा ईश्वर नामक कविता संग्रह प्रकाशन गरिसक्नु भएको कवयत्री जानु काम्बाङ्ग लिङ्ग्देन (सुकु) ताप्लेजुङ्गको ईखाबु ६ तमोर खोलामा जन्मिएकी हुन् । ताप्लेजुङ्गको हराभरा मनोहर वातावरणमा जन्मिएर त्यहीं हुर्किएकी कवयत्री जानु काम्बाङ्ग, बसाई सराईकै क्रममा झापा पुगिन् । सानैहुदा देखि, साहित्य सृजनामा लागेकी जानु काम्बाङ्ग, साथीहरुको अटो भर्ने क्रम संगै, साहित्य क्षेत्रमा लागेकी हुन् । प्रकाश कोबितको उपन्यासहरु धेरै पढ्ने कवयत्रीले नाम चलेका साहित्यकारहरुको सृजनाहरु पढ्न प्रायगरी छुटाएकी छैनन् । केहि समय हंगकंग बसे पछाडी, अहिले वेलायतमा रहेर आफ्नो दैनिक कार्य गर्दै, नेपाली कला र साहित्यमा अनवरत लागीरहेकी कवयत्री जानु काम्बाङ्गले आज सम्म ५० भन्दा बढि गीतको शब्द रचना गरेर विभिन्न कलाकारहरुको स्वरमा रेकर्ड गराई सकेकी छिन् । उनको प्रकाशोन्मुख कृति कथा संग्रह चाडै बजारमा आउदै छ । समयको महत्व बुझेको देश वेलायतमा रहेर पनि नेपाली साहित्य क्षेत्रमा उल्लेखनिय योगदान दिइरहेकी जानु काम्बाङ्ग, छोटो समयको लागी केहि दिन अगाडि नेपाल आएकी थिइन् । यहि अवसरमा सूचना खबरको लागी ईन्द्र जिजीबिषाले गरेको कुराकानी ।

धेरै समय पछाडी नेपाल आउनु भयो युके बाट, खास के को लागि आउनु भएको हो ?
खासै काम त थिएन यसै पारिवारिक भेटघाटको लागि आएकी हुँ | तरै पनि फाट फुट कामहरु भने भैरहेका छन् मेरो एकल कथा संग्रहको काम हुँदैछ । त्यसैगरी अन्य कलेक्सन एल्बम तिर भाई बहिनीहरुले गित र गजलहरु गरिरहेका छन्। अर्को मैले भुल्नै नहुने कुरो, हाम्रो प्रतिभा परिवारले पनि प्रतिभा भाग १ एल्बम गर्दैछन् त्यो एल्बममा एक नौलो प्रयोग हामीले गर्ने जमर्को गरेका छौं | नौलो प्रयोग भन्नाले त्यहाँ २ गीतकार म र साहित्यकार तथा गीतकार राजा माबो भाईको संयुक्त दोहोरिलाई कतारमा रहेको प्रतिभाको अध्यक्ष भाई राज रोबट अजनबी ज्युले संगीत गर्नु भएको छ।

वेलायतमा रहेर पनि नेपाली कला साहित्य संगीतको लागि मरिमेट्नु हुन्छ नि, खास के छ यसको रहस्य ?
मैले भन्नै पर्दा,यसको रहस्य चाहीं मलाई दुई तिन वटा छ जस्तो लाग्छ । पहिलो आफ्नो देश भन्दा टाढा रहनुको पिडा, दोस्रो, आफ्ना आफन्त संग टाढिनुको पिडा तेस्रो, आफैले पैसा कमाएपछि खर्च गर्ने आँट पलाउछ |

तपाइँ यति राम्रो प्रतिभा यति राम्रो साहित्य सृजना गर्नु हुन्छ, गीत लेख्नु हुन्छ, यति हुदाहुदै पनि,नेपालमै केहि अवसर नपाएर हो कि किन वेलायत जानु भएको ?
त्यस्तो त हैन कारण विदेश बस्नु बेटर लाईफको लागि हो, सोझो भाषामा पैसा कमाउनु हो, र साहित्य लेख्नु भनेको रहर हो | हामी जस्ताले पेशा बनाउन सकिन्न जस्तो लाग्छ | किन भने अहिलेका नयाँ पिंढीहरु साहित्य मात्र नभएर हरेक क्षेत्रमा अगाडी छन् उहिल्यै जस्तो समय कहाँ रह्यो र अब ? साहित्यकारहरु सबैलाई मैले नियालेर हेर्दा, पुस्तकहरु पढ्दा सबै त्यही विषय लिएर PHD गरेका त्यहीं सम्बन्धि मेजर नेपालीमा धेरै-धेरै अध्ययन गरेका पाईन्छन् ।त्यसैले पनि हामी जस्ताले प्रतिस्पर्धा गरेर बाँच्ने हिम्मत कहाँ गर्न सकिन्छ र |

सुरुमा कसरि पुग्नु भयो वेलायत ?
सुरुमा हामी हंगकंग आइडिले गर्दा त्यहाँ पुग्यौं पहिला चाहीं श्रीमान् जानुभयो, त्यसपछि म गएँ । हंगकंगमा १३ बर्ष बसेपछि, २००६ सालमा हामी नानिहरुको पढ़ाईले गर्दा बेलायत गएका हौँ ।

लामो समय बिदेशमा रहनु भयो, त्यति नेपालमा रहदा खासै साहित्य संगीतमा घुलमिल रहनु भएको थिएन होला, बिदेशमा रहदा,व्यस्त भईन्छ, यसको वावजुद पनि साहित्यमा गहिरो लगाव छ नी तपाइँको, यो कसरी ?
मैले लेख्न चाहीं पहिले देखिनै लेख्थे । स्कुल पढ्दा स्कुलमा, त्यतिबेला अटो भर्ने चलन थियो । त्यो बेला,अटोमा सानो सानो साईरी लेख्ने गरिन्थ्यो । त्यसरी लेख्दा लेख्दै मेरो साहित्यमा रुचि बढ्यो । म सानै देखि कथा कबिता,उपन्यासहरु धेरै पढ्थे । म प्रकाश कोबितको उपन्यासहरु लगभग सबै पढेकी छु । अनि पछाडिका नाम चलेका साहित्यकारहरुको पनि धेरै पढेकी छु । र अनलाईन मार्फत पनि धेरै सुनेकी पढेकी छु । त्यहीं भएर पनि होला जस्तो लाग्छ,म साहित्य प्रति प्रभावित भएको ।

कुनै कृति प्रकाशन गर्नु भएको छ ?
अहिले सम्म प्रकाशित कृति चाही शिविरमा ईश्वर भन्ने कविता संग्रह हो । यो कृति गत साल प्रकाशित भएको थियो । अर्को गीति एल्बम अनुभव पनि मेरो प्रकाशित कृति हो । यो दुई कृतिलाई संगै बजारमा ल्याएकी हुँ । यो कबिता संग्रह १३६ पेजमा ५३ वटा कविताहरु छन् । भने एल्बममा ७ गितहरु रहेका छन् |

यो कविता संग्रहमा कुन प्रकारको साहित्यिक सृजनाहरु समेट्नु भएको छ ?
यहाँ धेरै प्रकारका कविताहरु छन् । नेपालमा भूकम्पले बिथोलिए पछाडि लेखिएका कविताहरु छन् । अनि गाउँ घरमा आमा-बाबा,बाजे-बजुको पहिलेको रहन-सहनको बारेमा पनि केहि लेखेकी छु । अनि अरु बिदेशमा रहदा बस्दाको तिता मिठा अनुभवहरु पनि समेटेर लेखेको छु |

वेलायतमा कुनै संघ संस्था संग आवद्ध हुनुहुन्छ ?
म विश्व नेपाली साहित्य महासंघको आजीवन सदस्य छु । अनि अर्को एउटा याक्थुङ्ग माङ्गेना चुम्लुङ्ग भन्ने लिम्बुनी चेलीहरुको संस्थामा सचिब छु त्यसैगरी अन्य थुप्रै सामाजिक संघ संस्थामा भ्याएसम्म काम गर्ने गर्छु |

अहिले सम्म तँपाईको शब्द रचनामा कतिवटा गीतहरु रेकर्डिङ्ग भएका छन् ?
आज सम्म कलेक्सन अल्बम तिर गायक गायिकाहरुले लगेका सबैगरी, लगभग ५५ देखि ६० को हाराहारीमा गीतहरु रेकर्डिङ्ग भईसकेका छन् । र मेरो आफ्नै लगानीमा चाहीं ७ वटा गीतहरु रेकर्ड भएका छन् । चाहन्थे म तिमीलाई पिडा दिलाउन, बदलामा तिम्ले जस्तै आँशु पिलाउन, बोलको गीत चाहीं आनन्द कार्की र संजिवनिको स्वरमा रेकर्ड भएको छ ।

नेपालमा नेपाली साहित्य कला र वेलायतमा नेपाली साहित्य कलाको वातावरणमा कति अन्तर छ ?
अन्तर त हुन्छ नी, नेपालमा जो सुकै संग पनि,सहकार्य गर्न पाईयो । साहित्यिक जमघट साथिसंगीहरुको माँझमा रहेर आफ्ना कमीकमजोरीहरु सुधार्ने मौका पाइन्छ । तर वेलायतमा एक्लै नै हो । हुन त वेलायतमा पनि यस्ता कार्यक्रम र साहित्यकार,कलाकारहरु नभएका त होइन । तर भौगोलिक दुरीको हिसाबले टाढा-टाढा भईन्छ । भनेको बेलामा भेटघाट गर्न सकिन्न । सबै जना आ-आफ्नै तरिकाले व्यास्त हुन्छन् । यहि नै फरक हो ।

वेलायत जस्तो ठाउँमा, जहाँ समयको एकदमै ख्याल गरिन्छ । यस्तो ठाउँमा रहेर पनि तपाइँ त साहित्य सृजना गरिरहनु भएकै छ नि । कसरी समयलाई म्यानेज गरिरहनु भएको छ ?
यो चाहीं, कसरी भन्ने खै ? त्यहाँ हामीले घण्टाको हिसाबले काम गरेको तलब पाउछौं । एक घण्टा मात्रै काम छोड्यौ भने पनि तलब काटिन्छ । त्यहि भएर फुल टाइम काम गर्ने । १२ घण्टा ड्युटी गरेर चिया पिउने २० मिनेट्को समय र खाना खाने ३० मिनटको समयमा ल्यापटप साथमा हुदैन, मोबाईलमा लेख्ने हो | जमाना अनुसार मोबाईलले धेरै सहयोग गरेको छ त्यसैले मोबाईललाई धन्यबाद भन्न मन लाग्छ |

अब तपाइँको नयाँ साहित्यिक पुस्तक, गीति एल्बमहरु के के आउदै छन् ?
मेरो आफ्नो कथाको किताब भईरहेको छ । गीतहरु चाहीं फाट्टफुट्ट भाईबहिनीहरुले रेकर्डिङ्ग गरिरहेका छन् । मेलिना,रेवत,अमृता, गायक तथा संगीतकार रुकमान लिम्बुले एउटा लिम्बु गित, गायक तथा संगीतकार तारा लक्सम, दिप घोतनी, कबिन गुरुङ, संगीतकार बिकास चौधरी, संगीतकार राज सुक्र लिम्बु, उतम जंग लावती, शिखर शन्तोष, राज कुमार बगर, तारा प्रकाश लिम्बु, लगायत संग काम भैरहेको छ | साजन राईको संगीतमा २ गित राज देवान भाईले पनि लिएर आउदै हुनुहुन्छ | त्यसैगरी बेलायतमै रहनु हुने गायिका गौरी साउदेनले पनि नयाँ गीत गर्दै हुनुहुन्छ अनि वहाँले नै गाउनु भएको एउटा मेरो लिम्बु गीतको भिडियो पनि गर्दै हुनुहुन्छ |त्यसैगरी हरि लम्सालको संगीतमा एउटा गजल मेल भोकलमा भिडियो सहित नब गायक कृष्ण राज मेन्याङ्गबोले गाउनु भएको छ, फेरी त्यै गजल फिमेल भोकलमा अमृता लिम्बुले गाउदै हुनुहुन्छ | यस्तै यस्तै कामहरु भैरहेका छन् |

अब अन्त्यमा, कसैलाई केहि भन्न चाहनु हुन्छ ?
स्रोता दर्शकलाई संधै साथ् दिनुहोला भन्न चाहन्छु । वहाँहरु बिना त हाम्रो सृजनाको कुनै अर्थ रहंदैन । वहाँहरुले पढि दिनु भएन, सुनिदिनु भएन भने, त्यो सृजनाहरुको कामै छैन, त्यसैले,आम स्रोता दर्शकहरुलाई त म भगवान जस्तै मान्छु । हृदय बाटै प्रणाम गर्छु | त्यसैगरी आफ्नो देशमा बसेर यो क्षेत्रमा लाग्नु भएका भाईबहिनीहरुलाई पनि अझै राम्रो गर्दै जानु भन्ने शुभकामना दिन चाहन्छु । अनि हजुरलाई पनि मुरी-मुरी धन्यबाद भन्दै बिदा चाहान्छु …सुभपल सम्पूर्णलाई |

Leave a Reply

Your email address will not be published. Required fields are marked *