खोटाङ्ग २३ कात्तिक – मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आवश्यक पर्ने निर्वाचन सामग्री खोटाङ्गको लागि आज नेपाली सेनाको हेलिकोप्टरमार्फत ढुवानी गरिएको छ ।
हेलिकोप्टरमार्फत मतपत्र, मतपेटिका, मतदाता शिक्षा सामग्री, स्टामप्याड, मसी, छेकबारलगायत आवश्यक सामग्री ढुवानी गरिएको हो । एक लाख २५ हजार १८३ मतदाता रहेको खोटाङ्ग जिल्लामा निर्वाचन सामग्री ल्याइएसँगै निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दिनेश खत्रीले जानकारी दिएका छन् । जिल्लामा १७९ मतदान केन्द्र रहेको छ ।
जिल्लामा कायम गरिएको १३६ मतदानस्थलमध्ये २८ वटालाई सुरक्षाका दृष्टिकोणले अति संवेदनशील मानिएको छ । जिल्ला सुरक्षा समितिको बैठकमार्फत भौगोलिक अवस्था, सुरक्षा चुनौती, निर्वाचन केन्द्रमा हुनसक्ने झडप, पार्टीबीचको माहोल, सम्भावित आपराधिक क्रियाकलाप, विगतका चुनावमा भएका घटना लगायतका आधारमा मतदानस्थललाई अति संवेदनशील, संवेदनशील र सामान्यमा वर्गीकरण गरिएको बताईएको छ ।
एउटा प्रतिनिधि सभा र दुईवटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको खोटाङ्गमा, निर्वाचन अवधिभर एक हजार ८०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिएको छ ।