काठमाडौं २५ साउन- प्रदेशको चुनावबारे निर्वाचन आयोगले कुनै औपचारिक निर्णय नगरे पनि प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आगामी माघ ७ भित्र प्रतिनिधिसभाको मात्रै चुनाव हुन सक्ने बताएका छन् ।
यो बारेमा सरकारलाई पनि जानकारी गराईसकिएको निर्वाचन आयुक्त अयोधि प्रसाद यादले बताएका छन् । संविधानले नै माघ ७ सम्म व्यवस्थापिका संसदको म्याद तोकेको छ । संविधान कार्यन्वयनका लागि यो अवधिभित्रै प्रदेशसभाको पनि चुनाव गर्नुपर्ने हुन्छ । तर, यो अवधिमा प्रदेशसभाको चुनाव गर्न नसकिने प्रमुख आयुक्त यादवले अभिव्यक्ति दिएका हुन् ।
अब संविधान कार्यान्वयनका लागि मंसिरमा प्रतिनिधिसभा चुनाव गराउने प्रस्ताव प्रमुख आयुक्त यादवको छ । तर, प्रतिनिधिसभाको चुनावका लागिसमेत सरकारले भदौ १ गतेभित्रै निर्वाचनको मिति तोक्नुपर्ने प्रमुख आयुक्त यादवकोे माग छ ।
प्रमुख निर्वाचन आयुक्त यादवले प्रदेश र प्रतिनिधिसभाको चुनाव एकैपटक गर्ने सरकारको प्रस्तावसमेत जटिल रहेको बताए । तर, यसबारेमा निर्वाचन आयोग, राजनीतिक दलहरु र सरकार तीनै पक्ष बसेर छलफल गर्न सकिने उनले बताए
यादवका अनुसार निर्वाचन आयोगले असारभित्रै प्रतिनिधिसभा र प्रदेशसभा सम्बन्धी कानुन संसदबाट आउनुपर्ने माग गरेको थियो । तर, अहिलेसम्म ती कानून आएको छैन ।