काठमाडौँ, भदौ ३१/हिलिहाङ हाक्पारे पालम सयङ ‘समूह’ले ‘आनिइन हिलिहाङ’ नामक भिसिडी सङ्ग्रह ल्याएको छ । ऐतिहासिक हाङ हिलिहाङ दरबारको प्रवद्र्धन र सम्वद्र्धन गर्ने हेतुले भिसिडी ल्याएको हो ।
भिसिडीको काठमाडौंमा नेपाल प्रज्ञा प्रतिष्ठानमा पूर्वकुलपति तथा कवि बैरागी काइँलाको प्रमुख आतिथ्यमा कलाकार एवं चलचित्र ‘तारेभीर’का निर्देशक प्रेम सुब्बा, समूहका अध्यक्ष प्रदीप योङ्हाङलगायतले सार्वजनिक गरेका थिए ।‘आनिइन हिलिहाङ’ भिसिडी सार्वजनिक गर्दै कवि काइँलाले सङ्ग्रहित गीतहरुले लिम्बू भाषा, संस्कृति र कलाको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । भिसिडीमा पाँच वटा गीत तथा भिडियो छन् । ती सबै भिडियोको निर्देशन लोकेन साँवा लिम्बूले गरेका हुन् । भिसिडीमा आनिइन हिलिहाङ, हाक्पारे, पालम, तागानु हाङ्जाङ रे र तान्छोगेन बोलका गीत रहेका छन् ।
गीतमा यासेली योङहाङ र निर्देशक लोकेनकै शब्द रचना रहेको छ भने सङगीत अशोक लोहरुङ र ओमप्रकाश राईको रहेको छ । सिताकुमार सिङ्गक, राजेशपायल राई, मनु नेम्बाङ, जशोदा सुब्बा, ओम कुरुम्भङ, श्रेयसी चेम्जोङ र दिवश पयाङ्गुको स्वर रहेको उक्त गीतको भिडियोमा पार्वती राई, निशा पोमुलगायत हिलिहाङ हाक्पारे पालम सयङकै कलाकारहरुको अभिनय रहेको छ ।