कविता “छिमेकी र नाईबर”

कविता janu kambang
छिमेकी र नाईबर
उहिले उहिले म
घाल्डोमा बस्दथे
त्यहाँ मेरो एउटा छिमेकी थियो
ऊ, आफ्नो घर सफा राख्थ्यो
फोहोर मेरो बारीमा मिल्काउथ्यो
ऊ आफ्नो आँगन बढारेको
कसिंगर बाटोमा फ्याक्थ्यो

ऊ आफ्नो कम्पाउण्ड भित्र सफा सुग्घर राख्थ्यो
कम्पाउण्ड बाहिर ऊ
डङ्गुर फोहोर थुपार्थ्यो
घर आँगन सफा सुन्दर …….
चिट्टिक्को राख्थ्यो
सुत्दा मच्छर दानी टाङ्ग्थ्यो
हिड्दा माक्स लगाउथ्यो
ऊ काठमान्डू शहरको मान्छे
म गाउको मान्छे ………….
ऊ त्यहाँको बासिन्दा
म बसाईं आएको मान्छे
ऊ पुरानो खानदानी
म नयाँ आगन्तुक
बर्तमान छिमेकी !!

अब, अहिले फेरी म
बेलायतमा बस्छु
यहाँ, मेरो अर्को नाईबोर छ
ऊ ब्रेड खान्छ
तर भात जस्तै सेतो छ
म भात खान्छु
तर ब्रेड जस्तै
गहुगोरो छु

ऊ मुस्कुराउछ
म हास्छु
ऊ हेल्लो भन्छ
म हाई भन्छु
ऊ मलाई ह्याभ अ नाईस डे भन्छ
म सेम टु यु भन्छु

म जस्तो छु, त्यस्तै छु
मेरो पुरानो छिमेकी जस्तो
गहुँ गोरो, भाषा मिल्ने
मेरो नयाँ नाईबर संग
मेरो न रुप मिल्छ, न रंग
ऊ अंग्रेजि बोल्छ म बुझ्दिन
म नेपाली बोल्छु उसले बुझ्दैन
उसको देशमा बसेर
कठिनाईहरुको
भूमरीमा पिसिंदै पिसिंदै
म र मेरो जिन्दगी हुर्काई रहेछु

हरेक सनिबार ऊ
टेस्को र सेल्सबेरी जान्छ
म धोति दाजुको दोकान जान्छु
अनि लैला चामल
मज्नुको दाल र
दिल्ली बम्बैको साग सब्जी ल्याउछु

अनि, म प्रेसर कुकरमा सिटि बजाउदै
दाल उसिन्छु
खोर्सानी पड्काएर
तरकारी पकाउछु
ऊ हाछ्यु …..गर्दै खोक्दै
हाऊ लभ्ली कुकिङ्ग भन्छ
म झन् मक्ख परेर
थ्याङ्क यु भन्छु

ऊ आगनमा हरियो दुबो रोप्छ
म उखालेर फाल्छु
ऊ फूल रोप्छ
म रायोको साग रोप्छु
अझै मुस्कुराएर हाउ नाईस भन्छ
र भनि रहन्छ ………………

मेरो उहिल्यैको पुरानो छिमेकी जस्तो रिसाउदैन
पट्ट्कै ऊ
मेरो साग बारीमा
फोहोर पनि फाल्दैन
तर पनि आज यहाँ टाढा बसेर
उही फोहोर फाल्ने, माक्स लगाउने
मच्छर दानी टाङ्ग्ने मेरो पुरानो
छिमेकी नजिक भैरहेको छ मनमा
उसलाई सम्झिरहेको छु
सायद हामीलाई नजिक
बनाउने हाम्रो धर्म संस्कार अनि भाषा होला !!

 

जानू काम्बाङ्ग लिङ्ग्देन
ताप्लेजुङ्ग हाल बेलायत

Leave a Reply

Your email address will not be published. Required fields are marked *