मंसीर २१ काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई यूरोपेली यूनियनका राजदूत रिन्चे टीरिन्कले भेट गरेका छन् ।मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री र टीरिन्कबीच नेपालको संविधान कार्यान्वयन र शान्ति प्रक्रिया लगायतका विषयमा छलफल भएको थियो । भेटमा प्रधानमन्त्रीले नेपालको शान्ति प्रक्रियाको सफलताका लागि यूरोपेली यूनियनले खेलेको भूमिका लागि धन्यवाद दिँदै भूकम्पपछिको पूनर्निर्माण एवं विकासका क्षेत्रमा गरेको सहयोगको प्रशंसा गरे ।
भेटमा राजदूत टीरिन्काले नेपालको शान्ति प्रक्रिया विश्वमै मौलिक भएको भन्दै यसबाट विश्व समुदायले सकारात्मक शिक्षा लिनसक्ने बताउँदै नेपालको संविधान कार्यान्वयन सफलतापूर्वक अगाडि बढ्नेमा यूरोपेली यूनियन विश्वस्त रहेको जानकारी दिए ।
यसैगरी,चीनियाँ चित्रकारको एक टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटी चीनियाँ राष्ट्रपति सीजिन पिङ र प्रधानमन्त्री प्रचण्डको फोटो हस्तान्तरण गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटी टोलीले प्रधानमन्त्री प्रचण्ड र चीनियाँ राष्ट्रपतिबीच ब्रिक्स सम्मेलनका क्रममा भारतको गोवामा भएको भेटको हस्तनिर्मित तस्वीर हस्तान्तरण गरेको हो । तस्वीर ग्रहण गर्दै प्रधानमन्त्री प्रचण्डले चीनियाँ कलाबाट आफू निकै प्रभावित भएको र यसले नेपाल–चीन सम्बन्धमा हार्दिकता थपेको बताए ।
भेटमा प्रधानमन्त्रीले ‘नेपाल र चीनबीचको जनस्तरमा विकसित सम्बन्धले दुई देशबीचकै सम्बन्धमा प्रगाढता ल्याउँछ । जनता-जनताबीचको सम्बन्ध विकसित गर्न तपाईहरुको कदम स्वागतयोग्य भनेकाछन् । भेटका अवसरमा चीनियाँ टोलीले बुद्धको जन्मस्थान लुम्बिनी लगायतको नेपालको ऐतिहासिकता समेटेर चलचित्र निर्माणको तयारी भइरहेको जानकारी प्रधानमन्त्रीलाई गराएका छन् ।