२१ भदौ, काठमाडौँ : महोत्तरी जिल्लाको बर्दिबास–६ स्थित प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा स्नातकको पाँचौं सेमेस्टरमा अध्ययनरत ८० विद्यार्थी करिब छ दिनदेखि ज्वरोले सताएको कलेजले जनाएको छ ।
आउँदो शुक्रबारदेखि परीक्षामा सहभागी हुने बिरामी विद्यार्थीलाई उच्च ज्वरो र टाउको दुख्ने समस्या देखिएको छ । त्यसपछि बर्दिवास अस्पतालका चिकित्सकको टोलीले कलेज पुगेर विद्यार्थीको स्वास्थ्य परीक्षण गरेको थियो । तीमध्ये तीन जनामा डेंगुको संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल अधिकृत डा किशोर अधिकारीले जानकारी दिए ।
प्रदूषित पानीको सेवनले विद्यार्थीलाई ज्वरो आउने गरेको पनि क्याम्पस प्रमुख हरि भुजेलले बताए । बिरामी विद्यार्थीको स्वास्थ्य परीक्षणका लागि बर्दिवास–६ अस्पतालसँग समन्वय गरिएको नगरपालिकाका वडाध्यक्ष पदम आलेमगरले बताए, बिरामीमध्ये केहीको स्थानीय स्वास्थ्य संस्थामा र केहीको बर्दिवास अस्पतालमा उपचार भइरहेको बताए । नगरपालिकाका मेयरले बिरामी विद्यार्थीको स्वास्थ्य अवस्थाबारे नियमित जानकारी लिइरहेका छन्,’ अलेमगरले भने ।