कार्तिक २२ काठमाडौं, प्रधानमन्त्री पूष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई काठमाडौंलाई लोडसेडिङ मुक्त बनाउने योजनाको मुर्त खाका ल्याउन निर्देशन दिएको छ।
सोमबार बिहान प्रधानमन्त्रीले काठमाडौं उपत्यकालाई तत्कालै लोडसेडिङ मुक्त गर्ने आफ्नो संकल्प भएकोमा जोड दिँदै अब उपत्यकामा सधैंका लागि बत्ती नजाने व्यवस्था गर्न र कुनै अप्ठ्यारो परे सरकारसँग सहयोग माग्न निर्देशन दिएको हो ।
काठमाडौं उपत्यकालाई तत्काल लोडसेडिङ मुक्त बनाउने मेरो संकल्प पुरा हुँदैछ, यसमा म खुसी छु । अबदेखि उपत्यकामा कहिल्यै बत्ती नजाने गरी आवश्यक व्यवस्था गर्नुस्, अप्ठ्यारा के छन् ? सरकारलाई भन्नुस्, सरकार सबै किसिमको सहयोग गर्न तयार छ भनेर नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्रधानमन्त्रीले भनेका छन् ।
भेटमा प्रधानमन्त्रीले ‘देशलाई लोडसेडिङमुक्त गर्ने कार्ययोजना तयार गर्न, विद्युत् चोरी, बक्यौता नतिर्ने जस्ता समस्यामा कठोर भएर लाग्न, ठूला आयोजना छिटै सम्पन्न हुने वातावरण निर्माण गर्न, नयाँ योजना सञ्चालनका लागि तयारी गर्न’ पनि निर्देशक घिसिङलाई निर्देशन दिएको छ ।
भेटमा निर्देशक घिसिङले प्रधानमन्त्रीको यसअघिकै निर्देशनपछि विद्युत् प्राधिकरण उपत्यकामा लोडसेडिङ हटाउन लागेको जानकारी दिँदै देशभरि लोडसेडिङ अन्त्य गर्ने कार्ययोजना ल्याउने बताएका छन् ।