१८ साउन , काठमाडौँ : गीतकार डब्बु क्षत्रीको रचना तथा संगीतकार दीपक शर्माको संगीतमा नयाँ लोकगीत ‘जिस्केर मस्केर’ को भिडियो बजारमा आएको छ । यो गीतको भिडियोलाई ओएसआर डिजिटलको युट्युव च्यानलबाट यतिबेला रिलिज गरिएको छ ।
यो गीतलाई गायक सविन सुवेदी र गायिका सरिता भारतीले गाएका हुन् । गीतको संगीत संयोजन पनि सविनले नै गरेका हुन् । यो गीत आर्टोम्युजिक रेकर्डिङ स्टुडियोमा रेकर्डिङ तथा मिक्सिङ गरिएको हो ।
सिन्धुलीको कमलाखोँचमा प्रचलित झ्यारे भाकालाई सँकलन गरेर यो गीत बनाएको यसका गीतकार डब्बु क्षत्रीले बताएका छन् ।
बिलक्षण क्रियसन प्रा.लि.ले निर्माण गरेको यो गीतको भिडियोमा अभिनेता प्रवण भुसाल र गायिका सरिता भारतीको अभिनय रहेको छ । गीतको भिडियोको छायाँकन ताप्लेजुङ, झापा, मोरङ, उदयपुर र सिन्धुलीमा गरिएको हो । यसरी हिमालदेखि तराईसम्म छायाँकन गरिएको यो गीतमा ताप्लेजुङको पाथीभरा देवि, कन्याम र झापाको चियाबगन, सिन्धुली र उदयपुरको चुरेको सुन्दरतालाई यो भिडियोमा कैद गरिएको छ । भिडियोमा सरिता र प्रवणको अभिनय राम्रो छ ।
यो गीतको भिडियोलाई चलचित्र निर्देशक माधवराज खरेलले निर्देशन गरेका हुन् । यो गीतको भिडियोमा तिलक रिजालको छायाँकन, विकाश राउतको ड्रोन, बीरेन्द्र भाट ‘विपिन’को सम्पादन तथा रँग सँयोजन रहेको छ । गीतले दर्शकबाट यतिबेला राम्रो प्रतिक्रिया पाएको छ ।