हिमपातका कारण विद्यालयको परीक्षा प्रभावित

रुकुम । रुकुमपूर्वको सिस्ने गाउँपालिका–१ मा हिमपातका कारण परीक्षा स्थगन गरिएको छ । सिस्ने–१ मा मङ्गलबारदेखि बुधबार रातिसम्म निरन्तर परेको हिमपातका कारण परीक्षा प्रभावित बन्न पुगेको हो ।

यही पुसको १२ गतेदेखि सुरु गरिएको अर्धवार्षिक परीक्षा हिमपातका कारण स्थगन गर्नुपरेको हिमालय माध्यामिक विद्यालय पाखापानीका शिक्षक भीमसेन खत्रीले जानकारी दिनुभयो ।

मङ्गलबारदेखि बुधबार रातिसम्म बाक्लो हिमपात भएपछि विद्यार्थी विद्यालय आउन नसकेका कारण परीक्षा स्थगन गरिएको विद्यालयले जनाएको छ ।

अहिले त्यहाँ जमिनमा दुई फिट हिउँ जमेको छ । अब अर्को सूचना जारी नहुँदासम्मको अवस्थामा परीक्षा स्थगन भएको शिक्षक खत्रीले बताउनुभयो ।

सिस्ने गाउँपालिकाले गाउँपालिकाभरि पुस ११ गतेदेखि अर्धवार्षिक परीक्षा गर्ने निर्णय गरेको थियो । गाउँपलिकाभरिमा अन्य विद्यालयमा ११ गतदेखि नै परीक्षा सुरु भए पनि पाखापानीमा भने १२ गतेदेखि मात्रै परीक्षा सुरु भएको सिस्ने गाउँपलिका शिक्षा शाखाका प्रमुख मङ्गलसिहं बुढाले बताउनुभयो ।

अहिले अत्यधिक चिसो र हिउँले गर्दा विद्यार्थी विद्यालयसम्म पुग्ने वातावरण नहुँदा सिस्ने–१ को परीक्षा स्थगन गर्नुपर्ने अवस्था आएको शिक्षा शाखा प्रमुख बुढाले बताउनुभयो ।

सिस्ने गाउँपालिकाभित्रका विद्यालयमा पुस २० गतेभित्र परीक्षा सकाएर एक सातालाई जाडो बिदा गर्ने गाउँपालिकाले जनाएको छ । अहिले हिमपातका कारण जिल्लाका अन्य विद्यालयमा पठनपाठन सञ्चालन गर्न समस्या भइरहेको छ ।

कतिपय विद्यालयमा विद्यार्थी पुग्न सकेका छैनन् भने कतिपय विद्यालयमा थोरै सङ्ख्यामा विद्यार्थी उपस्थित भए पनि पठनपाठन सञ्चालन गर्न नसकिरहेको विद्यालयहरूले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *