स्वरसम्राट नारायण गोपालको २७ औं स्मृति दिवस आज

काठमाडौं, १९ मंसिर- स्वरसम्राट नारायण गोपालको २७ औं स्मृति दिवस आज मंगलबार विभिन्न कार्यक्रम गरी मनाईंदैछ । वि सं १९९६ सालमा काठमाडौंको किलागलमा जन्मिएका नारायण गोपालको २०४७ साल मंसिर १९ गतेका दिन निधन भएको थियो । विक्रम सम्वत २०२० सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गायर स्वर परीक्षा पास गरेका नारायण गोपालले एक सय ३७ वटा नेपाली गीत गाएका छन् ।

नारायण गोपालले डेढ दर्जन जति नेपाली चलचित्रका लागि पनि गीत गाएका थिए । आज उनको सम्झनामा नारायण गोपाल संगीत कोषले उनकै निवास महाराजगञ्जको मिलिजुली टोलमा विशेष कार्यक्रम गर्दैछ ।

यसैबिच नारायण गोपाल संगीत कोषले हरेक वर्ष प्रदान गर्दै आएको स्वरसम्राट नारायण गोपाल स्मृति पुरस्कारबाट यस वर्ष वरिष्ठ संगीतकार एवं गायक सिके रसाइलीलाई सम्मान गरिँदैछ । नारायणगोपालको २७ औँ स्मृति दिवसका अवसरमा प्रदान गरिने यो सम्मानको राशी ५० हजार र सम्मानपत्र रहेको छ । विसं २०४९ सालदेखि दिन थालिएको पुरस्कारबाट पहिलो पटक लोक गायक झलकमान गन्धर्व सम्मानित भएका थिए ।

त्यसैगरी गीतकार रत्नशम्शेर थापा, नगेन्द्र थापा, कालीप्रसाद रिजाल, किरण खरेल, माधवप्रसाद घिमिरे, भैरवनाथ रिमाल कदम, कञ्चन पुडासैनी, दुर्गालाल श्रेष्ठ, चेतन कार्की, मनबहादुर मुखिया र यादव खरेललाई वरिष्ठ गीतकारका रुपमा सम्मानित गरिने नारायण गोपाल स्मृति कोषले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *