काठमाडौ १८ बैशाख, प्रधानन्यायाधीश सुशीला कार्कीले कार्यपालिकाको क्षेत्राधिकारमाथि हस्तक्षेप गरेको माओवादी केन्द्रले दाबी गरेको छ । यसैकारण उनीमाथि महाअभियोग लगाउनुपरेको ठहर गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको माओवादी केन्द्रको हेडक्वाटर बैठकले कार्यपालिकाको निर्णयमाथि अङ्कुश लगाउने कार्य कानुनी शासन र लोकतन्त्रविरुद्धको कदम भएको भन्दै महाअभियोगको विषयले स्वतन्त्र न्यायालयको गरिमा अझ बढाउने बताएको छ ।
महाअभियोगको विषयले स्थानीय तहको निर्वाचनमा कुनै पनि बाधा उत्पन्न नहुने र सरकार समयमा नै निर्वाचन सम्पन्न गराउन प्रतिबद्ध रहेको ठहरसमेत बैठकले गरेको छ ।
बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, निर्वाचनको तयारी तथा संविधान संशोधन एवम् समग्र राजनीतिक अवस्थाका बारेमा छलफल भएको र बैठक पुनः साँझ बस्ने गरी स्थगित छ ।