फागुन ३० काठमाडौ, एयरपोर्टको ३३ किलो सुनकाण्डमा मुछिएर थुनामा रहेका एसएसपी श्याम खत्रीले श्रीमतीका नाममा सुन पसल दर्ता गरेको पाईएको छ । साथै उनले न्यु रोडको एक साडी पसलमा ब्याजमा पैसा लगाएको समेत प्रहरीले पत्ता लगाएको छ ।
यसअघि सीआइबीले भन्सार कर्मचारी र व्यपारीहरुको अस्वभाविक बैंक कारोवार संकलन गरिसकेको छ । तर, एसएसपी खत्री भने केही समयपछि पक्राउ परेकाले उनको बैंक विवरण भने आइसकेको छैन ।
खत्रीको बैंक कारोवारबारे राष्ट्रबैंक मार्फत विवरण मागिएको छ भने, उनको अन्य घर जग्गा तथा सम्पतिका बारेमा पनि मालपोत कार्यलयदेखि अन्य निकायसँग पनि विवरण माग भैसकेको छ ।
सुन तस्करीलाई साथ दिएको आरोपमा पक्राउ परेका खत्रीले तीन वर्ष अगाडि नै श्रीमतीका नाममा ‘अलंकार इन्टरप्राइज’ सुन पसलको लाइसेन्स लिएको देखिए पनि सञ्चालनमा नल्याइकन तीन वर्ष अघि नै रवीन्द्र केसीलाई विक्री गरिसकेको अनुसन्धानबाट खुलेको छ । तर त्यो आज कतै सञ्चालनमा रहेको भेटिएको छैन ।