असोज ३ काठमाडौं, काठमाडौ महानगरपालिकालाई १० करोडको शेयर बेचेर साझा यातायातले ३० वटा बस किनेको छ । जसमध्ये १५ भन्दा बढी काठमाडौं आइसकेका छन् भने बाँकी वीरगञ्जबाट भन्सार पास भएर आउने क्रममा छन् ।
उक्त , बसमा दुईवटा ढोका छन् र दुबै फराकिला छन् । बसको पछिल्लो भागको ढोकाबाट ह्वील चियर प्रयोगकर्ताहरु सजिलै बस चढ्न र ओर्लन सक्नेछन् । त्यसका लागि म्यानुअल लिफ्टको सुविधा उपलब्ध छ ।
बसमा दुईवटा ह्वील चेयर अटाउने स्पेश छ । र, बसभित्र ह्वीलचियर अड्याएर सिटबेल्ट बाँधेर बस्न सकिन्छ ।
यी नयाँ बस झण्डै ११ मिटर लामा छन् । काठमाडौंका सडकमा यात्राका लागि यी बस सुविधाजनक, आकर्षक हुने मानिएको छ । भारतीय कम्पनी अशोक ले-ल्याण्डका सर्भिस म्यानेजर अनुपकुमार स्वाइँले साझाका नयाँ बस भारतीय सडकमा गुड्ने ठूला बसभन्दा पनि आकर्षक र यात्रुमैत्री रहेको बताए ।