सरकारको खोजिमा चलचित्रकर्मी सडकमा

ईन्द्र जिजीबिषा – काठमाडौ १० साउन
नेपाली चलचित्रकर्मीहरु काठमाडौको प्रदुषण र सडक सुधारको निम्ति सडकमा उत्रिएका छन् । राजधानीको माईतीघर चोकमा आज कलाकारहरु भेला भएर उपत्यकामा बढ्दो प्रदुषण र जिर्ण सडकको स्थितिबारे सरकारलाई ध्यानाकार्षण गराएका हुन् । कार्यक्रममा कृष्ण मल्ल,बसुन्धरा भुसाल, टिका पहाडी,करिश्मा मानन्धर,श्री कृष्ण पुडासैनी,आरपी पन्त,रमेश बुढाथोकी,योगेन्द्र श्रेष्ठ,प्रकाश अधिकारी,किरण केसी,शैलेजा आचार्य, उतम केसी लगायत सयौ कलाकारहरु उपस्थित भएका थिए ।

कार्यक्रममा, सम्पूर्ण चलचित्रकर्मी तथा आम नागरिकहरुको तर्फबाट बोल्दै चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले भने,काठमाडौं उपत्यकाको व्याप्त प्रदुषण अन्त्य र जीर्ण सडक सुधार गर्न गराउनका लागि नागरिक पहल स्वच्छ वातावरणमा बाँच्न पाउनु हरेक नागरिकको नैसर्गीक अधिकार हो । आफ्ना नागरिकहरुलाई स्वच्छ वातावरणमा जीवनयापन गर्ने वातावरण मिलाउनु सरकारको मुख्य जिम्मेवारी र कर्तव्य हो । त्यस्तै मानव वसोवास गरिने हरेक स्थानका आआफ्नै महत्व र पहिचान हुन्छन् । ती कुराहरुमा तत् स्थानका वासीहरु गर्व गर्दछन् । हामी नेपालीहरु जो जहाँ रहौं, हामीलाई हाम्रो माटोप्रति गर्व छ । तर हाम्रो गर्वलाई धुवाँ, धुलो र हिलोले धुमिल गर्दैछ, खासगरी राजधानी शहरको अव्यवस्थाले ।

मुलुकको राजधानी नेपालका नेपालीहरुको मात्र गन्तव्यस्थान हुनसक्दैन, जहाँ विश्वका यात्रीहरु आउने जाने गर्छन् । यहींबाट यहाँको सुन्दरता र स्वच्छताले हामी नेपालीको पहिचान र प्रतिष्ठालाई विश्वका कुनाकन्दरामा प्रसार हुने गर्दछ । तर, यस कसीमा जाँच्दा हाम्रो राजधानी शहर काठमाडौंको अवस्था चिन्ताग्रस्त छ र हालको अवस्थाले हाम्रो अन्य असल पहिचानलाई धुमिलरुपमा मात्र प्रसारण गर्न सक्दछ । किनकि हाम्रा सरकारहरुका अवैज्ञानिक भू–उपयोग, अव्यवस्थित वसोवास र अनियन्त्रित शहरिकरण योजनाहरुले दिनप्रतिदिन नेपालका शहरोन्मुख वस्ती लगायत काठमाडौ उपत्यकाको गरिमामा आँच पु¥याइरहेका छन् । सवारी साधनको चाप बढेसँगै धुलो धुँवाको मात्रा आकास्सिएको छ । सवारी साधनको प्रदुषण मापन गर्ने र नियन्त्रण गर्ने निकायहरु क्रियाशील छन् तर धेरै धुँवा फ्याक्ने सवारी साधनहरु सडकमा विना रोकतोक चलिरहेका छन् ।

यस्तो किन भईरहेको छ, हाम्रो प्रणालीले किन काम गरिरहेको छैनरु करीव करीव समस्याका कारणहरु पहिचान भइसकेका छन् । खानेपानी, विद्युत, दुरसंचार लगायतको संस्थाहरुले विना समन्वय पटकपटक सडक खन्ने काम गर्नाले बर्षौसम्म सडकमा खनिएका खाल्डा नपुरिने र वातावरण प्रदुषण उल्लेखनीय रुपमा बढेको छ । सरकारी तहमा समन्वय हुन नसक्नु र भएका नियम कानूनको प्रभावकारी कार्यान्वयन हुन नसक्नाले यस्तो स्थिति हुनगएको हो । यसले उपत्यकावासीको स्वास्थ्यमा गम्भीर असर पारेको छ, यस्तो भयत्रासका कारणले पर्यटकहरु उपत्यकामा रहन चाहँदैनन् । सडकको जीर्ण अवस्था र जामले समयमा तोकिएको स्थानमा कुनै पनि यातायातपरिवहन पुग्न सक्दैनन् । जसले आम नागरिकहरुको व्यक्तिगत स्वास्थ्य लगायत जीविकोपार्जनमा समेत धेरै नकारात्मक असर पारिरहेको छ ।

हरेक समस्याको समाधान हुन्छ । समाधानको जिम्मेवारी सरकारमा रहन्छ । हामी हाम्रो सरकार खोजीरहेका छौं र सोधिरहेका छौं – यस्तो व्यथितिको अन्त्य कहिले हुन्छ ? यस्तो अस्तव्यस्तता सम्वोधन गर्ने जिम्मेवारी कसको हो ? उनीहरुले आफ्नो दायित्व किन पुरा गर्न सकिरहेका छैनन् ? जिम्मेवारी पुरा नगर्नेलाई सजाँय के हुन्छ ? नागरिकहरु यी सवालहरुका उत्तर चाहिरहेकाछन् ।

तर, सरकार चुपचाप छ । सरकारले यी सवालहरुलाई सम्वोधन गर्ला भनेर धेरै पर्खियौं, धैर्य गर्यौं तर समस्या सम्वोधन हुन सकेन । अव त अति नै भयो । नागरिकले सरकार खोज्नुपर्ने अवस्था आयो । सरकार खोज्दै र जवाफदेहिता माग्दै हामी कलाकारहरु सडकमा आएका छौँ । हामी चाहन्छौ, हामीले तिरेको करको सदुपयोग होस् । काठमाडौ उपत्यकाको यो अस्तव्यस्ताको चाँडै अन्त्य होस् ।

स्मरण रहोस् कि राज्यका आफ्ना जिम्मेवारी पुरा नगर्ने राजनेता तथा राष्ट्रसेवकहरुले दण्डहिनतावाट मुक्ति पाउने छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *