संशोधन प्रस्ताव पारित गरेर एमालेलाई चुनावमा आउन झाको चूनौति

काठमाडौं, १५ बैशाख, कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले संसदको प्रक्रियामा रहेको संविधान संशोधन विद्येयक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सहमतिमा नै सर्वसम्मतीले आउने आईतबार पारित हुने ठोकुवा गरेका छन् ।IMG_0725

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री नायकले एमालेकै समर्थनमा उक्त संशोधन विद्येयक सर्वसम्मतीले पारित हुने दाबी गरेका हुन् । उनले भने,‘यो प्रस्ताव मुलुकको निकासको लागि हो, यसमा एमालेले आपत्ति जनाउनुपर्ने कुनै कारण नै छैन, त्यसैले हामीलाई पूरा विश्वास छ, यो प्रस्ताव एमालेकै सहमतिमा पास हुन्छ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा मन्त्री नायकले सदन अबरुद्ध नभएको अवस्थामा सबै दलहरु मिलेर अगाडि बडनुपर्ने बताउँदै भने,‘अहिले मधेसवादी दलहरु धेरै लचक भएका छन्, यो अवस्थामा प्रमुख प्रतिपक्षी दलले आपत्तिको रुपमा लिनुहुँदैन, संविधान सशोधन प्रस्तावमा एमालेले आपत्ती जनाउनुपर्ने कुनै पनि बिषय छैन ।’

उनले देशको समस्या समाधान गर्ने सबै दलको दायित्व भएकोले प्रमुख प्रतिपक्षी दल एमाले पनि राष्ट्रिय भुमिकामा आउनुपर्ने बताए ।यद्धपी उनले पछिल्लो समय एमालेले सकारात्मक भूमिका निर्वाह गरिरहेको स्पष्ट पारे । उनले भने,‘संशोधन प्रस्तावमा त्यस्तो राष्ट्रिय हित विपरित केही पनि छैन, उहाँहरुको पहिला आपत्ति सिमांकनमा थियो, अहिले हामीले सिमांकनलाई थाँती राखेका छौं, त्यसैले अब एमालेले पनि राष्ट्रिय सहमतिको वातावरण बनाउनुपर्छ, पछिल्लो समय एमालेले सकारात्मक भूमिका निर्वाह गरिरहेको मैले पाएको छु।’

मन्त्री नायकले दोस्रो चरणको निर्वाचनको मिति धेरै ग्याप भयो भन्ने कुरामा टिप्पणी गर्दै भने,‘निर्वाचनको मिति हामीले निर्वाचन आयोगसँग परामर्श गरेर नै तय गरेका छौं, अहिले पनि हामी १० दिनको ग्यापमा गर्ने कुरामा छलफल गर्न तयार छौं, तर आयोगले त अझै हामीलाई असार पहिलो हप्ता भनेको थियो, त्यसैले सबै कुराको मध्येनजर गर्दै सहमतिका साथ अ िबढ्नुको विकल्प छैन् ।’ राष्ट्रलाई पूरै एकतावद्ध बनाएर अघि बढाउनको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महत्वपूर्ण भूमिका निर्वाह गरेको समेत उनले दाबी गरे ।

त्यस्तै कार्यक्रममा प्रमुख दल नेपाली काँग्रेसका नेता महेन्द्र यादबले यही बैशाख १७ ते नै संशोधन प्रस्ताव पारित हुने दाबी गरे । उनले संविधान संशोधन गरेर देशलाइ निर्वाचन गर्न सहज वातावरण बनाउनुपर्नेतर्फ सबैले सोच्नुपर्ने बताए।
यादवले प्रमुख प्रतिपक्षी दल एमालेले संविधान संसोधन प्रस्ताव पारित गर्नबाट रोक्न नहुने बताउँदै भने,‘यदि रोकेको खण्डमा पनि बैशाख १७ गते दुई तिहाईले संविधान संसोधन पास हुन्छ, त्यसैले एमालेले पनि संसोधन प्रस्तावलाई सहयोग गर्नुपर्छ।’ उनले अहिलेको संसदको संख्याले पनि संशोधन प्रस्ताव दुई तिहाईले पारित हुने ठोकुवा गरे ।

उनले संविधान कार्यान्वयनको लागि पनि ०७४ माघ ७ गतेभित्रै तीन तहकै निर्वाचन गर्नुपर्ने भएकोले निर्वाचनको लागि मधेश केन्द्रित दलहरुलाई पनि सहमतिमा लिएर जानको लागि सरकारले अहिलेको संशोधन प्रस्ताव ल्याएको प्रष्ट पारे । यादवले एमालेले अहिले विरोधको नामममा विरोध गरेर दोहोरो चरित्र देखाएको समेत आरोप लगाए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केशब बडालले संसदको प्रक्रियामा रहेको संशोधन विद्येयक तुरुन्त फिर्ता लिनुपर्ने माँग गरेका छन् । उनले अहिलेको संशोधन प्रस्तावले जनताको अधिकारलाई कटौति गरेको र जनता जनतावीच फाटो ल्याउने दाबी गर्दै उक्त प्रस्तावलाई यथाशिघ्र फिर्ता लिनुपर्ने माँग गरेका हुन् ।

उनले आफ्नो पार्टीलाई तराईको हितमा छैन भनेर गलत रुपमा प्रचार गर्ने प्रायास  गरिएको बताउँदै भने,‘त्यस्तो कार्य तुरुन्त रोक्नुपर्छ, एमाले सबैको पार्टी हो, तराईको पनि हो, पहाडको पनि हो, हिमालको पनि हो, हाम्रो पार्टी सबै जातजातीहरुको पार्टी हो।’ उनले एमालेले मधेशी जनताको अधिकारको लागि संघर्ष गरेको समेत बताए । उनले सरकारले कानून बनाउने काम गरेको भन्दै यो आपत्तिजनक रहेको टिप्पणी गरे ।

बडालले भने,‘मन लाग्यो भने यो सरकारले धारा नै परितर्वन गरिदिन्छ, २७४ धारा खारेज गर्न खोजिरहेको छ, संसदले गर्ने काम सरकारले गरिरहेको छ, यो अलोकतान्त्रिक हो ।’ उनले उक्त संशोधन प्रस्ताव कुनै पनि हालतमा पास नहुने ठोकुवा गरे ।
त्यस्तै उनले सरकारलाई के समस्या परेर दुई चरणमा निर्वाचन गर्नुपर्ने अवस्था आएको हो ? भन्दै प्रश्न समेत तेर्साए । उनले भने,‘यो सरकारले बिचमा बजेट ल्याउने, क्षेत्र थप्ने जस्ता निर्वाचन आचारसंहिता बिपरित अराजनैतिक काम गरेको छ, जनताको अधिकारलाई क्षेतविच्छेद गर्ने र लोकतन्त्रलाई समाप्त पार्ने खेलमा एमाले सहभागी हँुदैन, त्यसैले यो संविधान संसोधन प्रस्ताव फिर्ता गर्नुपर्छ ।’ कार्यक्रममा नवगठित राजपा नेपालका शीर्ष नेता अनिलकुमार झाले संशोधन प्रस्तावलाई पारित गर्नुपर्ने बताएका छन् । उनले संसोधन प्रस्ताव पास नभए देश द्वन्द्वमा जाने चिन्ता व्यक्त गरे ।

संविधान संशोधन गरेर जनताको हकअधिकार स्थापित गर्नुपर्ने कुरामा सबै दलहरु जिम्मेवार बन्नुपर्ने बताउँदै उनले भने,‘मधेसवादी दलहरुलाइ साथमा लिएर जाने कि नजाने भन्ने कुरा हो, एमालेले के गर्न खोजेको हो ?’ जनताले इमानदार प्रतिपक्षी बन्नलाई एमालेलाई भोट हालेको भन्दै त्यसको दुरुपयोग एमालेले गर्न नहुने उनको भनाई थियो । उनले एमालेले आफूहरुलाई २५ वर्षदेखि ठगिरहेको आरोप लगाउँदै भने,‘अब एमालेले ठग्न सक्दैन्।’ उनले एमालेले अब ट्रिपल स्ट्याण्ड देखाउन नहुने बताए ।

त्यस्तै उनले आफूहरु १०३ बुँदा माँगबाट ३ बुँदे माँग झर्दापनि अहिलेसम्म पनि एमालेले सहयोग नगरेको भन्दै अहिलेको संशोधन प्रस्ताव पारित गराएर (हिम्मत भए) निर्वाचनमा आउन चूनौति दिए । क्लबमा काँग्रेस नेता महेन्द्र यादव र एमाले नेता केशब बडालवीच आरोप–प्रत्यारोप नै चलेको थियो । कार्यक्रम सकिएलगत्तै उनीहरुले एकले अर्कालाई आरोप लगाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *