संयुक्त विद्यार्थी संगठनले बैशाख १२ गते देशभरका जिल्ला शिक्षा कार्यालय घेराउ गर्ने

काठमाडौं, ११ बैशाख, संयुक्त विद्यार्थी संगठनले अभिभावकहरुको ढाड सेक्नेगरी कक्षा १ देखि १० सम्म मनोमानी तवरले शुल्क बढाएको विषयमा सरकारको ध्यानाकार्षण गराएपनि कुनै सुनुवाई नभएको भन्दै आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ ।

सोमबार अपरान्ह अनेरास्ववियु केन्द्रिय कार्यालयमा सम्पन्न संयुक्त विद्यार्थी संगठनको बैठकले गरेका निर्णयहरु रिपोर्टर्स क्लब नेपालमा सार्वजनिक गर्दै आफूहरुले यसअघि सरकारलाई गराएको ध्यानाकार्षणमा कुनै चासो नदिईएकोले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

संगठनले घोषणा गरेको आन्दोलनका कार्यक्रमहरुमा बैशाख १२ गते भोलि देशभरका जिल्ला शिक्षा कार्यालय घेराउ गर्ने, बैशाख १३ गते चर्को शुल्क लिने नीजी शैक्षिक संस्थाको लेखा र प्रशासन शाखा तालाबन्दी गर्ने, बैशाख १४ गते प्याव्सन र एनप्याव्सनका केन्द्र जिल्ला कार्यालय तालाबन्दी गर्ने रहेका छन् । त्यस्तै आन्दोलनका अवधिमा संयुक्त विद्यार्थी संगठनका तर्फबाट स्कूलहरुको शुल्क अनुगमन गर्ने पनि उनीहरुले जानकारी दिए ।

त्यस्तै १८ फागुनमा क्याम्पसमा  हुन नसकेका स्वबियु  निर्वाचन  जेष्ठ  मसान्तपछि गर्न त्रिबिलाई संयुक्त विद्यार्थी संगठनको तर्फबाट ध्यानाकर्षण गराउनेपनि उनीहरुले जनाए ।

त्यस्तै उनीहरुद्धारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ,‘स्नातकोत्तर तहमा लागु भएको सेमेष्टर प्रणाली आँफैमा स्वागतयोग्य भएतापनि, पर्याप्त तयारी बिना सञ्चालन भएकोले सम्पूर्ण विद्यार्थीहरुलाई नसमेटिएको गुनासोप्रति संयुक्त विद्यार्थी संगठनको गम्भिर ध्यानाकार्षण भएको छ, सेमेष्टर प्रणालीलाई अझ समृद्ध र सहज बनाउनका लागि थप अध्ययन गर्नुपर्ने देखिएकोले संयुत्तः विद्यार्थी संगठन त्रिभुवन विश्वविद्यालयलाई यस विषयप्रति ध्यानाकार्षण गराउन चाहन्छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *