मन्त्री तारामान गुरुङलाई विकासे नेताको रुपमा चिनिन्छ ।हरेक गाबिस र नगरपालिकाका सबै वडाहरुमा शिक्षा,श्वस्थ्य,सडक,विजुलि,खानेपानी, सञ्चार लगायतका सुविधाहरु पुर्याउन निरन्तर खटिरहने भएकाले उहाँलाई विकासे नेता भनिएको हो । विकासका लागी सबै राजनितिक दल तथा ति दलका नेताहरुलाई एकैठाउँ उभ्याउन सक्ने क्षमता उहाँमा रहेको छ ।
उहाँको जन्म बि.सं २०२० साल बैशाख २४ गते संखुवासभाको मकालु गाबिसमा भएको हो । हाल उहाँको दुई दाजु र दुई दिदिहरु हुनुहुन्छ । संखुवासभा जिल्ला तथा गुरुङहरुको पहिलो सफल सगरमाथा आरोही मोतिलाल गुरुङ उहाँको दाजु हुनुहुन्छ ।
विध्यालयस्तरदेखी राजनितीमा सकृय मन्त्री गुरुङ २०७० सालको दोस्रो संविधानसभाको निर्बाचनमा संखुवासभा जिल्ला क्षेत्र नं १ बाट नेपाली कांग्रेसको उमेद्वार भइ प्रत्यक्षतर्फबाट विजयी हुनुभएको हो ।
राजनितिक रुपमा प्रष्ट र पारदर्सी कुरा राख्नुहुने उहाँ २०४६ सालदेखी २०५२ सालसम्म २ पटक नेपाली कांग्रेस, जिल्ला कार्यसमिति, संखुवासभाको सदस्य हुनुभयो । २०५२ देखी २०५७ सालसम्म पार्टी सचिबको भुमिका निर्बाह गर्नुभयो । २०५७ सालदेखी २०७२ सालसम्म ४ पटक जिल्ला पार्टी सभापती बन्नुभयो ।
२०५८ सालामा काँग्रेसको भातृसंस्था नेपाल आदिबासी जनजाती संघको केन्द्रिय सदस्य बन्नुभएको उहाँ २०७० सालमा नवलपरासिमा भएको पार्टिको महासमिती सदस्यहरुको बैठकबाट सुझाब संकलन गर्न तत्कालिन केन्द्रिय उपसभापती रामचन्द्र पौडेलको संयोजकत्वको समितिको सदस्य बन्नेर आफ्नो जिम्मेवारी समेत पुरा गर्नु भएको छ ।
२०४९ को स्थानिय निर्बाचनमा जिबिस संखुवासभाको सदस्य निर्बाचित भइ विभिन्न समय कार्यबाहक सभापतिको जिम्मेवारी निर्बाह गरेको अनुभब मन्त्री गुरुङसंग रहेको छ भने हाल नेपाली कांग्रेस संसदिय दल कार्यसमितिको सदस्य पनि हुनुहुन्छ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा स्वास्थ्य राज्य मंत्री बन्नु भएका तारामान गुरुङ संग सूचना खबरको लागि ईन्द्र जिजीविषाले गरेको कुराकानी ।
स्वास्थ्य राज्य मंत्री जस्तो गरिमामय पदमा आउनु भएको छ । अब तपाइँको काँधमा धेरै जिम्मेवारी थपिएका छन् । तत्काल तपाइँ के-के गर्दै हुनुहुन्छ ?
अहिले त म भर्खरै राज्यमन्त्री पदमा आएको छु । मलाई मेरो पाटी नेतृत्वले उच्च मुल्यांकन गरेर यो जिम्मेवारी दिएको छ । यो मेरो माग र रहर हैन । संखुवा सभा जिल्ला लगायत पुरै देशको माग हो । अहिले चाहि भर्खरै पद सम्हालेकोले भेटघाटहरु भईरहेको छ । पहिला पनि भेटघाट त हुन्थ्यो नै तर पहिलाको र अहिलेको भेटघाटमा फरक छ । साथीहरु संग राय, सुझाव, सल्लाह लिने कामहरु भईरहेको छ । शपथ ग्रहण लिएर मन्त्रालय आएपछि,यहाँ भईरहेका काम काजका विषयहरुमा मन्त्रीज्यू,सचिव,डाइरेक्टरहरुले जानकारी गराउनु भयो । अनि, नेता,कार्यकर्ता,कर्मचारीहरु संग राय सुझाव,सल्लाह,जानकारी लिने कामहरु भईरहेको छ । अब शोमबार देखि कार्यालयको काम-काजलाई तिब्र रुपमा अगाडि बढाउने छु ।
स्वास्थ्य जस्तो अत्यन्तै संवेदनशील क्षेत्रमा पनि,नातावाद,कृपावाद,घुसखोरी र भ्रष्टाचार व्यापक छ भन्ने सुनिन्छ । यसलाई नियन्त्रण गर्न सक्नु हुन्छ त ?
प्रयास गर्ने हो । मैले अस्ति मन्त्रालयको स्वागत कार्यक्रममा सबै साथीहरुलाई यो विषयमा भनि सकेको छु । यहाँ नातावाद,कृपावाद,लोभ लाल्चिको कुरो चल्दैन भनेको छु र त्यसलाई म कार्यान्वयन पनि गराएरै छाड्छु ।
गरिब जनताले,सर्वशुलभ तरिकाले, सिटामोल खान नपाईरहेको अवस्थामा,राष्ट्रका विशिष्ट ब्याक्तीहरु युरोप अमेरीका उपचारको लागि जाने गर्छन् । कोहि सिटामोल खान नपाउने यहाँ, कोहि युरोप अमेरीका उपचारमा जाने, आखिर नेपाली-नेपाली बिचमा किन विभेद ?
तपाइँले उठाउनु भएको प्रश्नले मलाई छोयो । मेरो चित्त बुझ्यो । यसको काम कारवाहीमा म अगाडि बढ्ने छु । र त्यसलाई कार्यान्वयन पनि गर्नेछु ।
तपाइकै पाटीको नेत्री सुजाता कोईरालालाई सरकारले ५० लाख उपचार खर्च दिने निर्णयको जनताहरु बाट बिरोध भएको थियो नि । यसमा तपाइँको धाराणा चाहिं के छ त ?
यसलाई एककिसिमले हेर्दाखेरी,ईतिहासको काल खण्ड हेर्दाखेरी,स्कुल क्याम्पस पढ्दा,कापी कलम किन्न पनि समस्या थियो भन्ने आएको छ । त्यो हिसाबमा, उहाँ पनि नेतै हो । दुख गरेर याहाँ सम्म आउनु भएको भन्ने हो भने,ठिकै हो । तर,हाम्रो स्वास्थ्य मंत्री ज्युले हामीले कुनै पनि,नेताहरुलाई ५ लाख भन्दा बढि,खर्च सिफारीस नगर्ने भन्ने निर्णय गरीसक्नु भएको छ । मंत्री ज्युको निर्णयलाई मैले उछिन्नु मिल्दैन ।
विकट जिल्लाहरुमा डाक्टरहरु जादै जान्नन्, गए पनि धेरै टिक्दैनन् । यस्तो अवस्थामा तपाइँ के गर्न सक्नु हुन्छ त अब ?
यो कुरो चाहि यस्तो छ । मेरो आफ्नै जिल्लामा पनि,राम्रा डाक्टरहरु त जानै मान्दैनन् । अब डाक्टरहरुले पाउने सुविधाहरु बढाएर,पठाउनु पर्छ । जस्तै दुर्गम ठाउँमा काम गरेर ६ महिना बर्ष दिन क्रस गरेपछि,उहाँहरुको कति नम्बर थपिने ? २ बर्ष दुर्गम जिल्लामा काम गरेपछि,बढुवाको लागि कति नम्बर थप्ने ? भन्ने निर्णय गराएर नेपालको भुगोल अनुसार,रिमोट एरिया आफै जान चाहने वातावरण र नीति नियम बनाउने छौं ।
संखुवासभा जिल्लाबाट जो आशा र भरोसा लिएर त्यँहाका जनताहरुले,तपाइँलाई चुनावमा जिताएर पठाएका छन् । अब त्यँहाका जनताहरुका लागि, त्यँहाका विकासका लागि के-के कार्ययोजनाहरु ल्याउदै हुनुहुन्छ त ?
संखुवासभा जिल्ला अस्पताल १५ शैयाको मात्रै छ । त्यो १५ शैयाकोलाई बढाएर, ५० शैयाको बनाउने छु ।
कहिले सम्म यो ५० शैयाको बन्छ त ?
अब यो निर्णय गरेपछि,सुरु भईहाल्छ । अब अर्थ वजेटको व्यावस्था गर्ने, भवन निर्माण गर्ने, अनि चैनपुर अस्पताललाई पनि सदरमुकामकै हाराहरीको अस्पताल बनाउने । रिमोट एरिया तान्पुमा अस्पतालको व्यवस्था गर्ने । त्यँहाका भूगोलको विविधताले गर्दा,एउटा गाबिस बाट अर्को गाविसमा पुग्न, ३ दिन लाग्छ ।त्यँहा भिर-पाखा छ । जंगलमा बाघ भालु लाग्छ । त्यो सबै संग जोगिदै गएर जनताहरुलाई औषधी वितरण गर्नुपर्छ । अब अहिले वस्तीबाट स्वास्थ्य चौकी पुग्नलाई ३ दिन सम्म लाग्छ । त्यस्ता ठाउँहरुमा उप-स्वास्थ्य चौकीको उपशाखाको व्यवस्था गरेर, अहेब, नर्स, अनमी मध्य कुनै एउटा राखेर त्यो ठाउँमा औषधी पुराउने वातावरण बनाउछु र त्यो गरेरै छाड्छु ।
त्यति मात्रै गर्नु हुन्छ ? जनताले त अझ धेरै आशा गरेका होलान् नि त ?
अहिले कतिपय जनताले,सिटामोल भन्न सम्म नजानेको अवस्था छ । त्यहाँको झारपात माडेर औषधीको रुपमा प्रयोग गर्ने गर्छन् । म त्यहीं, त्यस्तै वातावरणमा हुर्केर अहिले याहाँ आईपुगेको हुँ । म कुनै सुविधा सम्पन्न ठाउँबाट हुर्केर आएको हैन । त्यसकारण त्यँहाको समस्या भनेको मेरो समस्या हो । अहिले म यहाँ हुदा यहाँको सुविधा पाउँला तर भोलि यहाँ छाडेपछि फर्केर जाने त त्यहीँ ठाउँ हो । त्यहीँ ठाउँमा गएर बादर खेद्नु पर्छ । त्यहीँ ठाउँमा गएर खोरिया फाडेर खेती गर्नु पर्छ । मलाई पनि त्यो ठाउँमा भोलिका दिनमा सिटामोल चाहिन्छ । त्यसैले सबैको पहुँचमा अस्पताल औषधीको व्यावस्था गर्दै छु ।
यही स्वस्थ्यको विषयमा डाक्टर गोबिन्द केसी त अनशन बसेको बसेकै गर्छन् त । तपाइँको बिचारमा यो जायज छ कि छैन ?
उहाँको माग जायज लाग्छ । अहिले दुईजना सचिवको नेतृत्वमा वार्ताटोली गठन भएको छ । हिजो नै त्यो टुङ्गिने भन्ने थियो । यसमा मंत्री ज्युले कोशिस गरीरहनु भएको छ । सायद आज भोलिनै यो टुङ्गिने छ । टुङ्ग्याउनु पनि पर्छ । मूलुकमा भएको विकृति र विसंगतीको विरुद्धमा आउनु भएको हुदा, सबै कुराहरु राम्रा भन्नु पनि मिल्दैन, र सबै नराम्रा भन्न पनी मिल्दैन । बिचमा गएर मिलाउनु र मिल्नु पर्छ ।
क्लसर्टरको आधारमा राज्यको सिमांकन गरीनुपर्छ भन्ने,आदिवासी जनजातीहरुको माग छ । यो विषयमा तपाइँको ब्याक्तीगत धाराणा चाहीं के छ ? पाटी भन्दा एक स्टेप माथि उठेर भन्नुहोस त ।
मेरो ब्याग्तीगत र पाटीको धाराणा एउटै हो ।
त्यो धाराणा चाहीं के हो त ?
भूगोलको एउटा आधार हुन्छ । हिमाल,पहाड,तराई त्यो भूगोलको एउटा आधार हो । त्यो भूगोल कस्तो हुन्छ भने,म चाहीं सबै जातजातीहरु भएको ठाउँबाट आएको हुँ । नेपालमा भएका सबै जातजातीहरु छन् मेरो जिल्लामा । त्यो भित्र पनि,गुरुङ्गहरु छरिएर बसेकाछन् । तामाङ्गहरु छरिएर बसेकाछन् । क्षेत्री-बाहुनहरू छरिएर बसेकाछन् । कुनै झ्याप झ्याप्ती वस्तीहरु छ । खम्वुहरुको कुनै एउटा टोल छ । चाम्लिंगहरु कुनै एउटा वस्तीमाछन् । याम्फु, कुलुङ्ग, दलितहरु पनि छरिएर बसेकाछन् । यसर्थ, कुल,कुटुम्ब, ईष्ट-मित्रहरु रहेको एरिया मिलाएर,बनाईयो भने विवादै हुदैन । म संसारकै पाँचौ अग्लो मकालु हिमालको काखमा हुर्केको मान्छे हुँ । मकालु हिमाल मेरै वडाको पांच नम्बरमा पर्छ भने म दुई नम्बरमा बस्छु । त्यँहाको जनताको नाताले मेरो चाहना के छ भने, मैले रोजरको ठाउँमा म बस्नु पाउनु पर्छ । मैले रोजेको ठाउँमा मैले जानु पाउनु पर्छ । भोलि यो मेरो पद खुस्केपछि,म जाने ठाउँ त्यहि नै हो । आदिवासी जनजातीहरुको माग, मधेसीहरुको माग म नराम्रो ठान्दिन ।
उसो भए, कलस्टरकै आधारमा राज्यको सिमांकन हुनु पर्छ त ?
मैले माथि नै भनिसकेको छु, दाजुभाई इष्ट-मित्र,कुटुम्बलाई मिलाएर राज्यको सिमांकन , स्थानिय तहमा गाउँ पालिका र नगरपालिका हुदा राम्रो हो । भोलि अंशबण्डा गर्दा, काका १ नम्बर प्रदेशमा भतिज २ नम्बर प्रदेशमा, त्यहीँ तल्लो गह्रा माथिल्लो गह्रामा पर्यो भने, राम्रो नदेखिएला । त्यसैले सिमांकनका कुराहरु ठुला-ठुला खोला नाला,हिमाललाई आधार मानेर,सिमांकन गरियो भने राम्रो हुन्छ ।
संविधान संसोधनको तयारी चलिरहेको छ ।नेकपा एमाले पाटी चाहीं सडक पनि तताउदै छन् । मधेसी मोर्चा पनि, आफ्नो माग जसरी पनि पुरा गराएरै छाड्ने पक्षमा छन् । अब कुन बिन्दुमा गएर, कहिले सहमती होला त ?
नेकपा एमाले चाही यो मिलेन, त्यो मिलेन भन्दै हल्ला गर्नु, आन्दोलन गर्नु तिर लाग्नु भएको छ । उहाँहरु अहिलेको स्थितिमा दोस्रो ठुलो जिम्मेवार पाटी हो । उहाँहरु कसरी त्यो होहल्ला तिर लाग्नु भयो ? प्रतिपक्ष भनेको बिरोध गर्नु मात्र हैन। हल्ला र आन्दोलनले समस्याको समाधान हुदैन । उहाँहरु नेतृत्वमा रहदा हामीले के गर्यौ ? उहाँहरुले समस्या समाधानको लागि के गर्नु भयो ? उस्तै त हो सबैको । यो संविधानमा के-के चाहि आयो ? के-के आउन बाँकी छ ? त्यो आउन बाँकी रहेकालाई चाहीं संविधानमा संसोधन गरेर ल्याउने हो । अहिले संविधान संसोधनको जे जति प्रस्ताबहरु आएका छन्, त्यो सबै संविधानमा व्यवस्था भए अनुसार नै हो । अहिले नेताहरु बसेर, सबै संग सहमतीको लागि प्रयास गरीरहेका छन् । सहमती भएपछी,संविधान संसोधन हुन्छ । संविधान संसोधन गरेर निर्वाचनमा जानु पर्छ । संविधान विवादमै रह्यो भने,संविधान कार्यन्वयन हुन सक्दैन । संविधान कार्यन्वयन भएन भने, मुलुक संकटमा पर्छ । अब पहिले स्थानिय निर्वाचनमा जानु पर्छ । पहिले केपी ओली प्रधानमन्त्री हुदा,५६५ गाउँ पालिकाको संरचना निकाल्नु भएको थियो । त्यो चाही हामीलाई वैज्ञानीक नभएको लागेर,हाम्रो पार्टी सभापती ज्युले,कुरा उठाउनु भयो,हिमालमा भूगोलको आधारमा,पहाडमा भुगोल र जनशंख्याको आधारमा,तराइमा जनशंख्याको आधारमा भन्ने विकल्प दियौ । र अर्को विकल्प के दियौ भने,२०४९ सालमा बनेको,ईलाका संरचना अनुसार जाने, त्यो पनि नहुदा,पुरानै,नगरपालिका र गाबिसमा निर्वाचन गराई दिने, त्यसपछि,त्यहींको जनप्रतिनिधिहरु मिलेर,संरचना बनाउछन् । त्यसैले यो संविधान संसोधन गर्नै पर्छ । संविधान संसोधन गरेर स्थानिय निर्वाचनमा जानु पर्छ ।