बसुन्धरा चोक बाट धापासी हाईट तिर १० मिटर अगाडि बढेपछि देब्रे पट्टि नयाँ मार्गी संगीत एकेडेमीको वोर्ड देखियो ।म सरासर दुई तला माथि उक्लिए । नयाँ मार्गी संगीत एकेडेमीको कार्यकक्षमा पुग्दा, ढोका बाहिरै बाट मधुर हार्मोनियमको आवाज सुनियो । भित्र संगीतकार डक्टर किरात हार्मोनियम बजाई रहेका रहेछन् । चियाको घुट्को संगै हाम्रो कुराकानी सुरु भयो ।
खोटाङ्ग सिम्पानी ४ कसेरिमा २०३२ साल भदौ १७ गते जन्मिनु भएको हो बाबु जी अर्थ्यात डक्टर किरात । पहिला गाउँमा सबैले माया गरेर डक्टर किरातलाई बाबु जी भनेर बोलाउने गर्नु हुन्थ्यो रहेछ ।
तपाइँको डक्टर किरात चाहि नाम कसरी भयो ? भन्ने प्रश्नमा मुसुमुसु हाँस्दै कुरा खोतल्न शुरु गर्नु भयो । म घरको जेठो छोरो, मेरो एक भाई र एक बहिनी छन् । त्यतिबेला हाम्रो समुदायमा निजामति कर्मचारी हुने भन्दा लाहुरे बन्न जाने चलन धेरै थियो । मेरो बाजे-बजुले,मलाई धेरै पढाएर डाक्टर बनाउन चाहनु हुन्थ्यो भने, मेरो बाबु-आमाले मलाई लाहुरे बनाउन चाहन्थे । यसैले मेरो नाम नै डक्टर किरात राखी दिनु भएको रहेछ । तर म भने,बाबु-आमा र बाजे-बजुको ठिक ईच्छा बिपरित थिएँ । न म लाहुरे बन्न चाहन्थे, न म धेरै पढेर डक्टर नै बन्न चाहन्थे । मेरो चाहना भनेको सानै देखि सिनेमाको हिरो बन्ने थियो ।
अनि हिरो नबनी किन संगीतकार बन्नु भएको त ? भन्ने प्रश्नमा लामो श्वास तान्दै भन्नु भयो, कथा लामो छ ईन्द्र जी । म ५ बर्षको हुँदा,कृष्ण प्रावि बर्रे(हाल मावी) मा भर्ना भएर ५ कक्षा सम्म त्यहि पढें । कक्षा ६ देखि सिम्पानी माविमा पढ्दै एसएलसी त्यहीँ बाट गरे । घरपरिवारले धरान पढाउन चाहनु हुन्थ्यो । तर धरानमा पढ्दा मेरो चाहना पुरा नहुने देखेर जसरि भए पनि,मलाई काठमाडौ नै पढ्नु थियो । त्यसैले म काठमाडौ आएर आर आर क्याम्पसमा भर्ना भए । क्याम्पसमा भर्ना भए पनि, हिरो बन्ने मेरो मनको भुत भने हटेको थिएन । त्यसैले अभिनय सिकाउने ठाउँहरु खुबै खोजि हिडें । तर विविध कारणले हिरो बन्न सकिन र यता, लाहुरे बन्ने चाहाना कहिल्यै नभएकोले गर्दा पनि,गीत-संगीत क्षेत्रमा आएँ ।
हिरो बन्ने मनभरि चाहना हुदा हुदै पनि,गीत-संगीत प्रति झुकाव चाहिँ कसरी भयो त भन्ने भन्ने प्रश्नमा, हिरो बन्ने चाहाना एकातिर थियो भने गीत-संगीत तिरको झुकाब पनि उतिकै थियो । म सानो छदाँ,घरमा बाजेले श्लोक भन्ने गर्नु हुन्थ्यो । बाजेले श्लोकहरु पढ्दा त्यहाँ बाट आउने एकप्रकारको भाकाहरुले मलाई प्रभावित बनाएको थियो । त्यसबेला,प्रत्यक शुक्रबार स्कुलमा हुने सांस्कृतिक कार्यक्रममा म सधै भाग लिन्थे । त्यहीँ भएर, यो गीत-संगीत क्षेत्रमा लाग्न सजिलो भयो ।
फतेमान राजभण्डारी, प्रेमध्वज प्रधान,दिलमाया खाती,योगेश बैद्य देखि अहिला चलेका सबै गायक गायिकाहरु सबैलाई आफ्नो संगीतमा स्वर भर्न लगाई सकेका संगीतकार डक्टर किरातले आज सम्म ३०० वटा भन्दा धेरै गीतहरुमा संगीत गरि सक्नु भएको छ । “वशन्त ऋतु आयो” भन्ने बुद्ध श्री लामाले ५३/५४ साल तिर गाएको गीत नै डक्टर किरातले संगीत गरेको पहिलो संगीत हो ।
प्रयाग संगीत समिति ईलाहावाद बाट सन् २००३ मा बीम्युज अध्यायन पुरा गर्नु भएको छ डक्टर किरातले भने, गान्धर्व संगीत विद्यालय बाट एमम्युज बराबरको अध्यायन पुरा गर्नु भएको छ । नेपालका अन्य संगीतकारहरु भन्दा पृथक धार र शैली भएका संगीतकार डक्टर किरातका सांगीतिक लडाई पनि पृथक नै छ । उहाँ भन्नु हुन्छ, पूर्वीय शास्त्रीय संगीत चाहिँ हिन्दु करण र मुश्लिमी करण छ । यसैले मेरो लडाई भनेको,हाम्रो शास्त्रीय संगीतमा धार्मिकी करण बाट माथि उठाएर त्यसलाई भौतिकवादी जीवन र जगत संग जोड्नु पर्छ । अर्थ्यात जीवन र जगत संग जोड्ने प्रयत्न म गर्दै छु ।
सुन बालुवामा सुन छैन, माछिलाई उतिबेलै, सुनैको केश धोए, कोशीको गढतिर घुम्ती छ, थाकिमको भिर डर लाग्छ ,सुनेको त हल्लै न हो विश्वास हुन्छ देखेपछि,जस्ता दर्जनौ गीतहरुमा चर्चामा छन् । बिगत लामो समय देखि नयाँ मार्गी संगीत एकेडेमी संचालन गर्दै आउनु भएको छ संगीतकार डक्टर किरातले भने नयाँ मार्गी संगीत एकेडेमी संचालनमा डक्टर किरातलाई साथ् दिदै आउनु भएको छ प्रविन श्रेष्ठ र विजय बरालले । भोकल क्लास, किबोर्ड क्लास, गिटार क्लास,डान्स क्लासमा नयाँ मार्गी संगीत एकेडेमीले विद्यार्थीहरुलाई अध्यापन गराई रहेको छ । नयाँ मार्गी संगीत एकेडेमीमा उत्पादन भएका प्रोडक्सनहरुलाई त्यहीँ बाट बजार ब्याबस्थापन समेत गरि रहेको छ ।
आफूले अध्यायन गरेका र सृजित गरेका आफ्ना रचनाहरुलाई त्यहीँ बाट एप्लाई गरि रहेको बताउनु हुन्छ डक्टर किरात । यति कुरा गरि सक्दा नजिकै रहेको हार्मोनियममा उहाँका हातका औलाहरु निक्कै पटक चलि सकेको थियो । कुराको बिट मार्दै एउटा गीत सुनाउन अनुरोध गरे, त्यसपछि मेरै शब्द रचनामा रहेको सपना त सपनै हो, कैले पुरा हुन्छ र ? हिमाल जति अग्ले पनि जुन कैले छुन्छ र ? जुन कैले छुन्छ र ? यो संग संगै हार्मोनियन मधुर तवरले बाजी रहेको थियो । म भने बिदा मागेर त्याँहा बाट हिडे ।
प्रस्तुति :- ईन्द्र जिजीबिषा