रामप्रसाद राई स्मृति प्रतिष्ठानले कविता महोत्सव गर्ने

काठमाडौँ, २० माघ – वि.सं. २००७ सालको जनक्रान्तिका मुक्तियोद्धा तथा जननायक रामप्रसाद राईको स्मृतिमा स्थापित रामप्रसाद राई स्मृति प्रतिष्ठानले राईको १०९औँ जन्मजयन्तीका अवसरमा खुल्ला राष्ट्रिय कविता महोत्सव आयोजना गर्ने भएको छ ।

प्रतिष्ठानका सचिव तथा कविता महोत्सव संयोजन समितिका संयोजक शशी लुमुम्बूका अनुसार कवितामार्फत् जननायक राईको व्यक्तित्व, योगदान र कीर्तिलाई उजागर गर्ने उद्देश्यले कविता महोत्सवको आयोजना गर्न लागिएको हो । कविता जननायक राईकै विषयमा आधारित हुनु पर्ने र बढीमा एक सय पचास शब्दका गद्य वा पद्य कविता बुझाउन सकिने संयोजक लुमुम्बूले जानकारी दिए ।

फागुन २६ गते काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजना गरिने कविता महोत्सवमा राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्य रहने प्रतिष्ठानकी अध्यक्ष तारादेवी राईले बताइन् । राष्ट्रपति प्रतिष्ठानका पूर्व अध्यक्ष समेत हुनुहुन्छ । राईका अनुसार महोत्सवमा सहभागी कवितामध्येबाट उत्कृष्ट पाँच कवितालाई पुरस्कृत गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *