समाजसेवी तथा कृषी विद्वान मदन राईको नाम नसुन्ने त बिरलै होलान । खोटाङ जिल्लाको रतन्छामा साढे ६ दशक अगाडी जन्मिएका मदन राई आज पनि उतिकै जोश जाँगरको साथ समाजसेवा र आर्थिक कृषि क्रान्तिमा लागी रहनु भएको छ । उहाँ संग गरिएको कुराकानी
१- फेरी राजनितीमा फर्किनु भएको हो ?
राजनितीमा फर्किएको भन्दा पनि मैले राजनिती छाडेकै छैन । मैले पहिला पाटी छाडेको हुँ । राजनिती भनेको जनताको सेवा हो । म मेरो अधिकांस समय जनताकै सेवामा खर्ची रहेको हुन्छु । त्यसैले राजनिती वाट अलग रहने कुरा आउदैन । राजनीति त म खाले मान्छेले छाड्ने सवालै आउदैन ।राजनीति छाड्यो भने त देश डामाडोल भइ हाल्छ नि ।आधुनिक समाजमा राजनिती नगरी धनियाको पात पनि खान पाइन्दैन । म पहिला कांग्रेस थिएँ । काँग्रेसको नितिले देश बन्दैन भन्ने हिसाबले पाटी छाडेको हुँ । राजनिती छाडेको हैन ।
२- एक पटक त स्वतन्त्र बाट चुनाव पनि लड्नु भएको थियो नि , हैन ?
हो लडेको हुँ । झन्डै जितेको पनि थिएँ ।तर पछि राजा खेदाउनलाइ माओवादीलाइ भोट दिनु पर्यो ।संविधान बनाउनलाइ कम्युनिस्टलाइ भोट दिनु पर्यो । यसरी अरुलाइ सहयोग गरेर भए पनि देशको राजनिती प्रणालीलाई सघाउदै आएँको छु , र आज देशको स्थिति यति सम्म आइ पुगेको छ ।
३- अहिले डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टिमा लाग्नु भयो । खास के काराण यो पार्टिमा लाग्नु भएको हो ?
म चाही राजनिती क्रान्ति भन्दा आर्थिक क्रान्तिमा विश्वास गर्ने मान्छे हुँ । राजनिती क्रान्तीको पनि आवश्यकता त थियो । किन भने निरंकुश शासनमा आर्थिक क्रान्ति हुन गाह्रो छ । त्यही निरंकुशहरुकै सेवा गर्दा सकिन्छ ।त्यसैले म चाही त्यो पाटो तिर लागिन । आर्थिक क्रान्ति तिर लागी विकास गरेर मात्रै देश बन्छ भन्ने मलाइ थाहा थियो ।राजनीति र विकास एकै साथ गर्न सकिन्दैन । त्यसैले बाबुराम जि त्यो राजनिती क्रान्तिमा लाग्दा म चाही आर्थिक क्रान्तिमै थिएँ । त्यो राजनीति क्रान्ती चाही असोज ३ गतेको संविधान घोषणा संगै राजनिती क्रान्ती पनि सकियो भन्ने बाबुराम जिले महसुस गर्नु भएको रहेछ र मैले पनि त्यही महसुस गरेको थिएँ । अनि बाबुराम जि फुत्तै एक्लै निस्किनु भयो र मान्छेहरु खोज्दै हिड्नु भयो । किन भने पार्टिहरुमा राजनीति क्रान्ती गर्ने क्षमताको कोहि छैनन् । राजनिती गर्नलाइ ढुङ्गा मुढा गर्ने , बम गोला बारुद समाउने मान्छे चाहिन्छ । बुद्धि धेरै चाहिन्दैन त्यहा । तर विकास गर्नको निम्ती त सिप चाहिन्छ । बुद्धि चाहिन्छ । प्राक्टिकल्ली शिक्षा सिकेको मान्छे चाहियो । मेसिन चलाउन जान्ने मान्छे चाहियो । किताब पढेर मात्रै विकास हुदैन । तसर्थ हामी खाले मान्छेहरु । म मात्रै हैन , रामेश्वर खनाल जस्ता ज -जस्ले आर्थिक क्रान्तिमा सफलता हासिल गरेका छन तिनीहरुलाइ खोज्दै हिड्ने क्रममा म सम्म आइ पुग्नु भयो । हामिले धेरै पटक कुरा गरेका छौ । यसरी धेरै पटक कुरा गरि सके पछि मलाइ उहाँको कुरामा चित बुझ्यो । अनि अब हामिले समृद्धिको लागी लाग्नु पर्छ । नेपालमा समृद्धि नभइ स्वाधीनता , सम्पन्नता , शान्ति सुशासन , आनन्द केहि पनि हुदैन भनेर म चाही नया शक्ति पार्टिमा लागेको हुँ ।
४-नयाँ शक्ति पार्टीको अवधारणा के छ?
नयाँ शक्ति पार्टीको अवधारणा,एजेन्डा जे भनेनी ५ओटा `स´हो।राजनीतिमा माक्र्सवाद , लेनिनवाद,पुजीवाद,बिस्तारवाद यि सब वादहरु बर्बाद मात्र हुन।पहिलो स भनेको स्वाधीनता हो।मान्छे सब भन्दा पहिले स्वाधीनता हुनु पर्दछ।हामीले कसैको अधिनमा बस्नु नपरोस् ।देशको रुपमा हामी चीन र भारतको अधिनमा बस्नु नपरोस् ।त्यसैले मान्छेलाइ नम्बर १ स्वाधीनता हुनुपर्छ।अब स्वाधीनता कसरी प्राप्त हुन्छ भने , समाबेसी हुनु पर्यो । समानुपातिक हुनु पर्यो । देश बहु जाति बहु भाषी , बहु धार्मिक छ । यस्तो बाहुल्य भएको ठाँउमा समाबेसी भएन भने, एकता हुदैन । एकता भएन भने स्वाधीनता पनि आउदैन । फेरी स्वाधीनता र समाबेसीको मात्र कुरा गरेर हुदैन । समृद्धि पनि हुनु पर्यो । समृद्धि हुनलाइ अर्थ व्यवस्था राम्रो हुनु पर्यो । सबैलाइ खान लाउन मात्र पुगेर भएन , धनी हुनु पर्यो । त्यो सम्पन्न समृद्धिको लागि चाही युक्ति चाहियो । समृद्धिको लागी चाहिने मुख्य कुरा चाही सुशासन हो । शासन प्रणाली चलाउनको निम्ती एउटा संयन्त्र हुन्छ । संयन्त्र चाही अहिले जम्मै भ्रष्टाचारी छन । अनि कहा बाट हुन्छ ? कु-शासन छ । सु-शासन छैन । त्यसकारण हामिले चाही भ्रस्टाचार रहित सुशासन सदाचार सबैले पालन गर्नु पर्ने राजनीति कर्मिले त झनै पालन गर्नु पर्ने हुन्छ । यसैलाइ हामी समृद्ध समाज भन्छौ । सबैलाइ चाहिने समानता नै हो । मानिस समाजमा ठुलो सानो , जेठो कान्छो होला । तर भावना चाही समानता नै हुन्छ । यसर्थ जन्मादानै समान भएको मान्छेलाइ समानता चाहिन्छ । तर जनताले त्यो पुरानो माक्र्सवादले प्रतिपादन गरेको समाजबाद हैन अरु अरु देशले प्रतिपादन गरेको भन्दा हामिले चाही समाज नै समृद्ध बनेको समाजले सबैलाइ समान रुपमा जति पनि उत्पादन गरेको खुसी शान्ति र समृद्ध समाज , समान समाजको चाही परिकल्पना गरेको हो । यहि पाँच वटा स लाइ हामिले अगाडी सारेका छौ ।
५-राजनिती गर्न एउटा भिजन चाहिन्छ र बाबुराम भट्टराईमा पनि एउटा भिजन छ भन्छन् ।कुरा काट्नेहरु पनि त्यतिकै छन् ।तपाईले चाहि कस्तो भिजन देख्नु भएको छ?
मैले समाजमा को मान्छे भेटिन होला र?राजा वीरेन्द्र देखि लिएर गिरिजाप्रसाद कोइराला सबै संसार हेर्दा खेरि डाक्टर बाबुराम भट्टराईको दिमाग चाहिँ कागतालिले जन्मेको हो।त्यतिको ब्रेन भएको मान्छे सायद संसारमा एकदम थोरै छ।उमेर समुहमा बाबुराम द.एसिया कै नम्बर १ हुन् ।किनभने उ एकेडेमीक हिसाबले कहिले दोस्रो भएनन् ।सधैं प्रथम नै भै रहे।यो हिसाबले नै म उ बाट प्रभावित थिए र अहिले जुन प्रकारको बिचार विश्लेषण गर्छन त्यस बाट झनै प्रभावित भएको छु।केही कमीकमजोरीहरु पनि छ तर भिजन एकदम राम्रो छ।कुरा काट्नु त आफू अनुकुल नहुदा जो सुकैले पनि कुरा काट्छन नै।मेरो घरमा मेरी श्रीमतीको आफू अनुकुल भएन भने उनले मेरै कुरा काट्छिन । नेपालमा त झन् राजनीतिमा जम्मै ढीकुटी छ त्यो ढिकुटी लुट्न चोर,डाका,फटहाहरुको गुट छ।त्यो गुट्को टिमलाई मान्छेले फ्याट पत्ताएरा दिए भने त हामी बर्बाद हुन्छौं ।बाबुरामले त्यसलाई बोलयो,मलाई बोलाई चाहिँ बोलएन पख्लास !भन्ने त्यो मन दुखाएर चाहिँ कुरा काट्नेहरु छन् ।मेरै समकालीन साथिहरु मदन राई के थियो र?यो भन्दा बदी मैले पढेको छु भन्ने डाइरेक्ट,इन्डाइरेक्ट सुनेको छु।यो हिसाबले पनि कुरा काट्ने सबैको हुन्छन् नै।मान्छेको भित्री रुप हेर्ने हो भने पनि शरीरमा आधा भन्दा बढी त गुहु,पिसाब,फोहोर नै हुन्छ।समय नै हेर्ने हो भने पनि आधा रात आधा दिन हुन्छ ।कसैले गाली बेजेत गर्नु र उस्को रुप हेर्नुमा फरक छ।मेरो बिचारमा बाबुराम जतिको भिजन भएको व्यक्ति त नेपालमा बिरलै छन् ।उनमा केही स्वर्था होला तर स्वार्थ भन्दा बढी सेवा छ।उनले चाहेको भए करोडौं कमाउन सक्थे अर्थमन्त्री हुँदा,प्रधानमन्त्री हुँदा अर्बौं कमाउन सक्थे तर अहिले उनको हालत देख्दा त्यस्तो देखिएन।
६ – तपाइको बिचारमा संघीयता कस्तो , कुन प्रकारको हुनु पर्छ ? अहिले देखाइएको सीमाङ्कन चित बुझ्दो छ ?
शक्ती पृथकीकरणको सिदान्त अनुसार केन्द्र, प्रान्त, स्थानिय तह हो । त्यही अनुरुप अगाडी बढ्नु पर्छ । आफ्नो काम आफै गर्नु पर्छ । संघको मुल मर्म चाही आफ्नो काम आफै गरौ, आफ्नो स्रोत साधन आफै युज गरौ भन्ने हो । मलाइ चाही अहिलेको खाका हेर्दा एक नम्बरको बाहेक अरु कुनै पनि सिमाङ्कन पटक्कै मन परेको छैन ।नेपाल भनेको हिमाल, पहाड,तराइ मिलेर बनेको छ । यसर्थ, तराइको मान्छेलाइ हिमालको स्वामित्व चाहिन्छ । हिमालको मान्छेलाइ पहाडको स्वामित्व चाहिन्छ । नदि नाला , वन जंगल मिलाएर प्रदेश नम्बर १ जस्तै सिमाङ्कन गरिनु पर्थ्यो । हामिले चिन र भारत दुवै तर्फको बजार उपभोग गर्नु पर्छ ।म ब्याक्तिगत रुपमा संतुष्ट छुइन तर पार्टिगत रुपमा मैले मान्नै पर्छ ।
७ – प्रसंग अलिकती बदलौ । तपाइ राजनीतिज्ञ मात्रै हैन, कृषि विज्ञ पनि हुनु हुन्छ । नेपालको वर्तमान कृषि खेती र उत्पादनको स्थित कस्तो छ ?
एकदमै नाजुक छ । वास्तवमा म बाबुराम जिको सिद्धान्तलाइ सघाउन खोजेको मुख्री दुइ कारणले हो । उहाले मैले गरेको काम बारेमा सुन्नु भएको छ । त्यसैले नै मलाइ बोलाउनु भएको हो । नत्र म जस्तो मान्छे उहाँको वरिपरि लाखौ छन् । मेरो बिचारमा नेपाललाई विश्वको नम्बर एक अर्गानिक देश बनाउनु पर्छ भन्ने अभियानमा हिडेको र सफल पनि भइ रहेको छु । अबको १०देखी २० बर्ष सम्ममा पुरै अर्गानिक देश बन्ने छ । अर्को कुरा चाही किताब पढेर भात पाक्दैन , किताब पढेर गाडी गुड्दैन । किताब पढ्नु मात्र तर व्यावहारमा नल्याउनु चाही गलत शिक्षा रहेछ । मैले पनि त्यो गल्ती गरे । भावी सन्तानहरुले चाही प्रविधी मुखी, काम मुखी शिक्षा अध्यन गरोस भनेर खोटाङमा हामिले ठुलो स्कुल खोलेका छौ । किताब पढेर हैन, काम गरेर मात्र विकास गर्न सकिन्छ । देश विकासको प्रमुख आधार कृषी हो । कृषिलाई आधुनिकरण, अर्गानिक करण नगरी कृषिको विकास हुदैन ।किताब पढेका मान्छेहरुले भात पकाउन , घर बनाउन , खेती गर्न मान्दैनन् । खाली खानु र लगाउनु मात्र खोज्छन । यसले गर्दा पुरै संस्कार संस्कृति बिग्रेको छ । त्यो संस्कारलाइ बदल्नु पर्छ । बदल्नु सकिएन भने नेपालको विकास असम्भव छ ।
८- नेपालको भौगोलिक बिबिधता र हावापानी अनुसार कुन प्रकारको के के खेती गर्दा उपयुक्त हुन्छ ?
नेपाल एउटा सानो पृथ्वी हो । यहा गर्मी ठाँउ पनि छ र चिसो ठाँउ पनि छ । भौगोलिक बिबिधता भएको हाम्रो देशमा गर्मिमा हुने र चिसो ठन्डिमा हुने सबै खेती गर्न सकिन्छ । हाम्रो मुख्य खेती धान हो । यो तराइ र पहाडमा खेती गर्न सकिन्छ । आलु त हिमाल पहाड तराइ जताततै खेती गर्न सकिन्छ ।फलफूल र अन्नबालीको उत्पादन बढाएर आत्मनिर्भर बन्नु पर्छ । सागसब्जि त हिमाल देखी तराइ सम्म , डाँडा देखी गहिरा सम्म प्रशस्तै उत्पादन गर्नु सकिन्छ । हामी संग चार वटा मौसमहरु छन् ।प्रकृतिको वरदान पाएका छौ । मौसम अनुसार विभिन्न बालिहरु लगाउन सकिन्छ ।जताततै नदिनाला भएकोले सधै भरी खेती गर्न सकिन्छ । नदिनाला नभएको ठाँउमा मेसिन जोड्न सकिन्छ । पशु पंक्षीकै कुरा गर्ने हो भने त किरा, मौरी माछा हिमाल देखी तराइ सम्म जताततै गर्न सकिन्छ । हाम्रो ठाउँमा गर्दा के हुदैन र ? भिरालो जग्गामा रुख फलफूलको बिरुवा लगाउनु पर्छ । बढी आम्दानी दिने काठपातको बिरुवा लगाउनु पर्छ । सम्म ठाँउ वा खेतीयोग्य जमिनमा एक हजार बिघा जमिनमा एकै पटक ट्याक्टर लगाएर एकै साथ जोति , एकै समयमा बाली लगाउने ।यसो गर्दा सर्वसुलभ हुनेछ ।
९ – नेपाल कृषि प्रधान देश भएर पनि बाह्य देश संग परनिर्भर गर्नु परेको छ । हामी आफै आत्म निर्भर हुनलाइ के गर्नु पर्छ ?
पहिलो कुरा त जमिनको खण्डिकरणलाइ शक्तिकरण गर्नु पर्छ ।आधुनिक सिँचाइको ब्यबस्था हुनु पर्छ ।नहर पुग्ने ठाँउमा नहर र नहर नपुग्ने ठाँउमा पाइपको ब्यबस्था हुनु पर्यो । बाटोघाटोको ब्यबस्था हुनु पर्यो ।उन्नत जातको बिउ बिजन हुनु पर्यो । मल त भलकर ,सोतर, गोबर, पिसाब भए अरु केहि चाहिन्दैन ।यति ब्यबस्था भए हामी आफै निर्भर हुन सकिन्छ ।
१० – किसान आफैले लगानी गर्ने स्थिती छैन ।सरकारले खासै वास्ता गरेको पाइन्दैन ।१ लाख ऋण माग्न गयो भने ३ लाखको धितो देखाउनु पर्छ । यस बारेमा तपाइको धारणा के छ ?
यो सरकार र किसान बिच तालमेल नमिलेकोले हो । मुख्य कुरा त किसान संग आधुनिक व्यावसायिक खेती गर्ने अनुभव नै छैन । कयौ मान्छेले आधुनिक तरकारी खेती गर्न खोजे, तर सफल भएनन । किनकी यो आधुनिक प्रबिधि नेपालमा भित्री सकेको छैन । पैसाको त अभाव नै हैन ।अनुदान भने आफ्नो मान्छेलाइ मात्र खोजेर दिने चलन छ । राम्रो र योग्य मान्छेलाइ दिने चलन छैन । यसो गर्दा धेरै कुरा सम्हाल्नु पर्ने स्थिती छ । मुख्य कुरा यन्त्रीकरण हुनु पर्छ र यन्त्रहरुमा सरकारको अनुदान हुनु पर्छ । बजार ब्यबस्थापन , बाटोघाटोको ब्यबस्थापन सरकारले गर्नु पर्छ । भण्डारण , र भन्सारलाइ सहज बनाउनु पर्छ । देशमा सुशासन हुनु पर्छ ।
११ अब आउने दिनमा तपाइको अवधारणा र योजना के छ ?
५ वटा स को आधारमा त्यही पाटिलाइ अगाडी बढाउने हो । जनता संग हामी काम माग्छौ । भोट भनेकै काम हो । सडक पहिलो र सुरक्षा दोस्रो प्राथमिकता हो ।उत्तर दक्षिण ९ वटा र पुर्ब पश्चिम ५ वटा सडकको बिस्तार भयो भने खोला खोलामा बाटो पुग्छ ।खोलामा बाटो पुगे पछि बिजुली निकाल्न सजिलो हुन्छ । बिजुली भए पछि टेलिफोन निकाल्ने साहु पुगि हाल्छ । टेलिफोन भए पछि उद्योग खोल्ने साहुहरु पुगिहाल्छन । टेलिफोन, बिजुली र उद्योग भए पछि व्यापार ठाँउ ठाँउमा भइ हाल्छ । बाटो पुगे पछि पर्यटक पनि आइ हाल्छन ।हामी ५ करोड पर्यटक ल्याउन सक्छौ । त्यती भए पछि करोडौंको रोजगारी भइ हाल्छ । त्यसको लागी खानेकुरा चाहिन्छ । त्यसको लागी अर्गानिक खेती गर्नु पर्छ ।त्यही अर्गानिक खेती र शिक्षाको विकासको लागी म अगाडी बढेको छु ।हामिले फोकस गर्नु खोजेको कुरा चाही proverty, pollution र global warming हो । जलवायु परिबर्तन नियन्त्रणको लागी हामी लागी परेका छौ ।
प्रस्तुति:- ईन्द्र जिजीबिषा
कान्तिपुर टेलिभिजनले मदन राई सँग गरेको कुराकानी